१२ साउन २०८३ , मंगलबार

१२ साउन २०८३ , मंगलबार
  • १२ साउन २०८३ , मंगलबार
  • July 28 2026

जिल्ला अदालत: गोलाप्रथा तोकेको चार दिनमै समस्या


जनमञ्च संवाददाता
  • ६ माघ २०७८ , बिहिबार

  • जिल्ला अदालत: गोलाप्रथा तोकेको चार दिनमै समस्या
    जिल्ला अदालत बागलुङ: तस्वीर/जनमञ्च

    ‘एकल इजसालमा आउने जुन सुकै मुद्दालाई एउटै न्यायाधिसले हेर्ने भएकोले गोलापोला कामै छैन । प्रविधिलाई भने हामीले सम्मान गरेका छौं, तर केही समस्यामा परेका मानिसले झन्झट व्यहोर्नुपर्ने भयो ।’

    बागलुङ, ६ माघ – गोलाप्रथाबाट पेशी तोक्न थालेको चार दिनमै अदालतमा समस्या बल्झन थालेको छ । जिल्ला अदालतले बुधबार कानुन व्यवसायीसँग अन्तरक्रिया गरेर समस्याबारे जानकारी गराएको छ ।

    सर्बोच्च अदालतमा गोलाप्रथाबाट पेशी तोक्न थालिएपछि जिल्ला र उच्च अदालतमा पनि माघ २ गतेबाट पेशी तोकिएको थियो । उच्च अदालतमा अहिलेसम्म समस्या नआएपनि जिल्ला अदालतमा समस्या आएको हो ।

    जिल्ला अदालतमा एकजना मात्रै न्यायाधीश हुने र सबै पेशी एकल इजलासमा नै हुने गर्छ । तर सर्वोच्च अदालतको पेशी सूचीमा चढाउनु पर्ने कानूनी र प्राविधिक बाध्यताले हरेक दिन १० बजेअघि नै मुद्दाहरु सूचिकृत गर्नुपर्ने भएको छ ।

    यसरी सूचिकृत हुँदा कतिपय हतारमा हेर्नुपर्ने वा आजको आजै पुरा गरिदिनुपर्ने मुद्दा झन्झटिलो भएका हुन् । यसअघि एकै दिनमा सकिने मुद्दा पनि प्राविधिक समस्याले तीन दिन लाग्ने भएको जिल्ला न्यायाधिस बासुदेव न्यौपानेले बताए । ‘हामीले चाहेर ढीला गर्न खोजेको होइन, तर पद्धती र कानूनले बाधिँदा यो ढीलाई भएको हो’ न्यौपानेले भने ।

    उच्च अदालतमा भने गोला प्रथाबाट पेशी तोक्ने निर्णयले खासै समस्या नभएको रजिष्ट्रार नेत्रप्रसाद भुषालले बताए । यसअघि मुख्य न्यायाधिसले कुन मुद्दा कुन बेन्चमा पार्ने भन्ने निर्णय गर्थे । जिल्लाको हकमा एकल इजलास भएमा खासै समस्या थिएन । धेरै न्यायाधिस भएको जिल्लामा भने १ नम्बरका न्यायाधिसले पेशी तोक्ने चलन थियो ।

    ‘एकल इजसालमा आउने जुन सुकै मुद्दालाई एउटै न्यायाधिसले हेर्ने भएकोले गोलापोला कामै छैन’ कानून व्यवसायी रमेशबहादुर खड्काले भने, ‘प्रविधिलाई भने हामीले सम्मान गरेका छौं, तर केही समस्यामा परेका मानिसले झण्झट व्यहोर्नुपर्ने भयो ।’ न्युनतम रकम धरौटी राख्नुपर्ने व्यक्तिको हकमा अन्तिममा बेच्च पर्ने र भुक्तानी दिन नसक्दा एकदुई दिनका लागि भएपनि जेल जानुपर्ने बाध्यता भने भएको अर्का कानून व्यवसायी राजु गौतमले बताए ।

    उच्च अदालतले पनि बार एसोसिएसन सँगको बैठक र छलफलपछि गोला प्रथाबाटै पेशी तोकेको छ । ‘सर्बोच्चले प्राक्टिस गरिसकेको छ, हामीले पनि केही अभ्यास गरेका छौं’ भुषालले भने, ‘यो प्रकृयाले मुद्दाको सुनुवाइमा निश्पक्षता बढाउने छ ।’ उनले कुनै वकिल र न्यायाधिसले चाहेर कुने मुद्धा आफ्नोमा पार्ने अबस्था अन्त्य भएको बताए ।

    उच्च अदालतमा बिशेषगरी रिट निवेदन, सार्वजनिक सरोकारका मुद्दा तथा केही बिशेष प्रकृतिका मुद्दामा कुन न्यायाधिसको इजलासमा पर्छ भन्ने बढी चासो हुने गथ्र्यो । यो प्रकृयाले न्यायपालिकाको निश्पक्षता र विश्वसनीयतामा थप मद्दत पुग्ने समेत उनले बताए ।

    उच्च अदालत बार एसोसिएसनकै सहमतिमा यो निर्णय भएपनि कतिपय अधिवक्ताले भने फरक राखेका छन् । यस्तो प्रकृयाले मुद्दाको समय झनै लम्बिन सक्ने टिप्पणी उनीहरुले गरे । ‘कतिपय मुद्दाको बिशेषताकै आधारमा बेन्च तोकिनुपर्छ, त्यो अबस्था अब रहेन’ उच्च अदालत बार एसोसिएसनका पूर्व अध्यक्ष भूमिश्वर गौतमले भने, ‘राजश्व छलीको मुद्दा र फौजदारी प्रकृतिको मुद्दा हेर्ने दक्षता भएका न्यायाधिस फरक फरक हुन सक्छन्, तर गोलाप्रथाले एकै ठाउँमा पर्न सक्छ, ‘त्यसपछिको परिणाम हामीले पचाउन सक्ने की नसक्ने ?’

    अर्का पूर्व अध्यक्ष राम शर्माले स्वभाविक रुपमा निश्पक्ष देखिएपनि मुद्दामा बेन्च नबसेर समय लम्बिने खतरा पनि उत्तिकै रहेको बताए । ‘कुनै झगडियाको मुद्दा हेर्नै नमिल्ने न्यायाधिस पनि हुन सक्छन्, त्यो दिन आएका पक्षहरु बेन्च नबसेर फर्कनुपर्न सक्छ’ उनले भने, ‘समग्रतामा कसको बेन्चमा पर्छ भनेर तत्कालै थाहा हुने भएकोले सेटिङको काम भने गर्न सक्दैनन् ।’ न्यायालयको भ्रष्टाचर अन्त्यका लागि पनि गोलाप्रथा उपयोगी भएको उनले बताए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend