म्याग्दी, ६ माघ – कर्मचारीमा कोरोना देखिएपछि म्याग्दीको रघुगंगा गाउँपालिकाको कार्यालयले अत्यावश्यक सेवाबाहेक सबै सेवा बन्द गरेको छ । गाउँपालिकाका कार्यरत कर्मचारी र जनप्रतिनिधि गरी ७ जनामा कोरोना संक्रमण पुष्टि भएपछि सेवा बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताए ।
‘कोरोनासँगसम्बन्धित बाहेकका सबै सेवा बन्द गरिएको छ । अब थप परीक्षणपछि मात्रै नियमित सेवा सञ्चालन हुन्छ,’ सुवेदीले भने । उनका अनुसार कोरोना जोखिम बढदै गएका बेला सेवाग्राही लगायत अन्य कर्मचारी जोखिममा पर्ने देखिएपछि सूचना प्रकाशन गरी आगामी माघ १२ गतेसम्मका लागि सेवा बन्द गरेको हो ।
बुधबारदेखि माघ १२ गतेसम्मका लागि पालिकाले दिने सबै किसिमका सेवा बन्द गरिएकाले कोरोना सहित स्वास्थ्यको सेवालाई भने आवश्यकता अनुसार प्रदान गरिने छ । संक्रमित कर्मचारीको अवस्था सामान्य छ ।
यसैबीच बुधबारदेखि पालिकाका सबै विद्यालयसमेत माघ १५ गतेसम्मलाई बन्द गरिएको छ । गाउँपालिका भित्र रहेका जलविद्युत सहितका आयोजनाहरुकै कारण बाहिरी जिल्लाबाट समेत आवतजावत हुदाँ जोखिम धेरै छ । गाउँघरमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका बिरामी बढन थालेकाले लक्षण देखिएका सबैले कोरोना परीक्षण गराउन र खोप अभियानमा समेत सहभागि हुन र अनिवार्य मास्क लगाउन तथा स्वास्थ्य मापदण्ड पालना गर्न अनुरोध गरिएको छ ।

यता, बेनी नगरपालिकामा कोरोनाभाइरसको संक्रमण बढ्न थालेपछि १५ माघसम्म विद्यालय बन्द गरिने भएको छ । बुधबार बसेको बैठकले कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गरी बिहीबारदेखि विद्यालय बन्द गर्ने निर्णय भएको हो ।
नगरभित्रकै विद्यालयमा कोरोना संक्रमण फैलिएपछि चेनब्रेक गर्न पठनपाठन बन्द गर्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले बताए । ‘कोरोना संक्रमण रोक्नका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । अभिभावकलाई बालबालिकालाई घरबाहिर जान नदिन समेत अपिल गछौं,’ ढकालले भने ।