८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

तपाईं इन्टरनेट दुर्व्यसनमा त हुनुहुन्न ? छुट्कारा पाउनुहोस यसरी


नवराज कुँवर
  • ७ माघ २०७८ , शुक्रबार

  • तपाईं इन्टरनेट दुर्व्यसनमा त हुनुहुन्न ? छुट्कारा पाउनुहोस यसरी

    काठमाडाैं गोठाटारका १४ वर्षे विशाल रुपाखेती दुई वर्षभित्र अस्वाभाविक रूपमा मोटाए । ८ कक्षामा पढ्ने विशालको तौल ६५ किलो भयो । उनका आँखाहरू कमजोर भए । सहपाठीहरूले ‘मोटे’ ‘चस्मे’ भनेर जिस्क्याउन थालेपछि उनी स्कुल जानै छोडे ।

    उनका बुबा-आमा चेतराज र शान्ति चप्पल कारखानास्थित एक जुत्ता फ्याक्ट्रीमा काम गर्छन् । बिहान ८ बजे घरबाट निस्केर साँझ ७ बजे मात्र आउने भएकाले उनीहरूले आफ्नो छोरालाई पर्याप्त समय दिन सकेनन् । यद्यपि, गच्छेले भ्याएसम्म छोराले मागेका चीजवस्तु भने उनीहरूले पुर्‍याइदिएका थिए ।

    दुई वर्षअघि, एक दिन विशालले साइबर क्याफे जाने भनेर ३० रुपैयाँ मागे । कम्प्युटर सिक्ने होला भनेर शान्तिले विशाललाई पैसा दिइन् । दुई दिनलगत्तै विशालले फेरि साइबर जाने भन्दै पैसा मागे । उनले बिनाकुनै प्रश्न पैसा थमाइन् । यो क्रम जारी रह्यो । आफूहरू व्यस्त हुँदा छोरा कम्प्युटरमै भुलोस्, केही सिक्छ भनेर शान्तिले दैनिक पैसा दिँदै गइन् । विशाल दैनिक साइबर धाउन थाले । उनले माग्ने राशिसँगै साइबरमा बिताउने समय पनि बढ्दै गयो । ‘थोरै समय पायो कि साइबरतिर दौडिहाल्छस्, यो तरिका भएन भनेर मैले गाली गरेपछि उसले मोबाइल किनिदिनु न त भन्यो’, चेतराज सम्झिन्छन्, ‘अनि उसकै रोजाइमा २४ हजार हालेर एउटा फोन किनिदिएँ ।’ छोराकै आग्रहअनुसार उनीहरूले घरमा वाइफाइ जोडे ।

    स्मार्ट फोन र इन्टरनेट घरमै भएपछि छोरा बाहिर जान छोड्ला भन्ने विश्वास चेतराज र शान्तिको थियो । तर, मोबाइल हात परेको केही महिनाभित्रै विशालमा जे–जस्ता परिवर्तन देखिए, त्यो देखेर उनीहरू छक्क परे । घरबाट त के, विशाल कोठाबाट समेत निस्कन छाडे । मोबाइलमा भुलिरहने, भित्रबाट ढोकाको चुकुल लाएर कोठाभित्रै बसेको बस्यै गर्ने, बोलाउँदा झर्किने, खाने कुरासमेत कोठामै लगिदिनुपर्ने, रातिराति चर्को स्वरले चिच्याउनेजस्ता परिवर्तन उनमा देखिएको शान्ति सुनाउँछिन् । ‘यति सम्म कि, एकछिन बिजुली जाँदा वा वाइफाइ नचल्दा ५० पल्ट सोध्थ्यो- बत्ती कतिबेला आउँछ ? वाइफाइ के भयो, फोन गरेर सोध्नु न । हामीसित ऊ यस्तो बेला मात्र बोल्थ्यो । घरमा पाहुना आएका बेलासमेत कोठाबाट बाहिर निस्कदैनथ्यो’, शान्तिले भनिन् ।

    शारीरिक व्यायाम थिएन । कोठाभित्र बसेर खाँदै गेम खेलेरै उनको दिन बित्थ्यो । त्यसैले विशाल मोटाएका थिए । ‘एक दिन उसको बाबाले मोबाइल खोसिदिनुभयो । तर, बाउलाई नै तरकारी काट्ने चक्कुको झटारो हान्यो । बाबाले हात बाँधेर त्यो दिन उसलाई राख्नुभयो । तर सुध्रेन’, शान्तिले सुनाइन् ।

    लकडाउनका कारण स्कुल बन्द भयो । अनलाइन क्लास चालू रहे पनि उनी त्यो समय फ्रि फायर गेम खेलेर बिताउँथे । पढाइमा तेज विशाल अब कमजोर बन्दै गए । ‘होम वर्क गर्नेदेखि अनलाइन क्लासमा उपस्थित हुनेसम्मका आफ्ना महत्त्वपूर्ण कामसमेत बिर्सिन थाल्यो । यो देखेर हामी आत्तियौँ,’ शान्ति भन्छिन् ।

    उनका अनुसार विशाल मोबाइल र इन्टरनेटमा यति झुम्मिन थाले, बाउआमा छन् भन्ने कुरासमेत उनले हेक्का राख्न छाेडे । टेलिफिल्ममा हेरेको दुर्व्यसनी युवाजस्तै लाग्न थाल्यो शान्ति र चेतराजलाई आफ्नो छोरा ।

    दुई वर्षभित्र एसईई दिनुपर्ने छोराले स्कुल जान बन्द गरेपछि शान्ति र चेतराज बिस्मातमा परे । अब उनीहरूले छोराका लागि बस्ने ठाउँ नै परिवर्तन गरे । अनि तिलगंगामा फ्ल्याट लिएर नजिकैको स्कुलमा विशाललाई भर्ना गरिदिए । तर, त्यहाँ पनि विशाल स्कुल जान मानेनन् । उसैगरी मोबाइलमै व्यस्त हुन थाले । केही जोर नचलेपछि उनीहरू विशाललाई लिएर चाबहिलस्थित मार्क सेवा मनोपरामर्श केन्द्र पुगे । मनोपरामर्शदाता गोपाल ढकालका अनुसार करिब दुई महिनाको मनोपरामर्शपछि विशाल सामान्य अवस्थामा फर्केका छन् । छोराको शारीरिक अवस्थामा पनि सुधार देखिएको चेतराज बताउँछन् । विशाल यसपालि एसईई दिँदैछन् ।
    ०००

    मनोविद् करुणा कुँवरले तीन वर्षअघि आफू भएठाउँ आएका एक बिरामी नाबालकबारे सुनाइन् । काठमाडाैंंका ती बालकलाई अभिभावकले दुई वर्षको उमेरदेखि नै मोबाइलमा कथाहरू देखाउन थाले । आफ्नो नाबालक छोराले ध्यान दिएर कथा हेरेको देख्दा बुबाआमा दंग थिए ।

    तीन वर्षको हुँदा छोरा आफैँले मोबाइलमा कथाका भिडियोहरू प्ले गर्न थाल्यो । यो देखेर बुबाआमा आफ्नो छोरालाई ‘स्मार्ट’ भन्दै झनै मख्ख परे । तर, छोरा मोबाइलबिना रहनै नसक्ने, घर छोडेर बाहिर जानै नमान्ने भएपछि चाहिँ उनीहरू तर्सिए । छोरा ‘मोबाइल एडिक्टेड’ भएको भेउ पाएलगत्तै उनीहरू मनोपरामर्शका लागि गए । र, मनोविद् कुँवरको सुझावअनुसार आफ्नो छोरालाई मोबाइलबाट बिस्तारै अलग्याउँदै लगे । तैपनि उनीहरू थोरै ढिला भइहाले ।

    मनाेविद् कुँवरका अनुसार ती बालक अहिले पाँच वर्षका भए । उनको मोबाइल लत त छुट्यो । तर, झण्डै तीन वर्ष मोबाइलमा एकोहोरिएको असर उनको शरीरमा देखिन्छ । ’पाँच वर्षको उमेरमा उनलाई भेट्दा उनको तौल सामान्यभन्दा ज्यादा देखेँ’, कुँवरले भनिन् ।

    ०००

    पाल्पाका २२ वर्षे आयुष नेपाल काठमाडाैं मित्रपार्कस्थित पशुपति बहुमुखी क्याम्पसमा बीएडमा पढ्छन् । लकडाउनका बेला उनी घर गएनन् । गौरीघाटस्थित डेरामा उनले वाइफाइ जोडेका छन् । कोठामा थुनिएर बस्नुपरेको बेला उनले टिकटक अकाउन्ट खोले । र, त्यसैमा रमाउन थाले ।

    आफूले टिकटक नबनाए पनि भिडियोहरू हेरेर घण्टौँ बिताउन थालेको उनी सम्झिन्छन् । ‘टिकटकमा मन परेका भिडियोहरू साथीहरूलाई म्यासेन्जरमा पठाउँथेँ । साह्रै मन परेका भिडियो आफ्नो फेसबुकमा पोस्ट गरेर लाइक, कमेन्टहरू हेर्थें’, आयुष भन्छन्, ‘लाइक, कमेन्ट बढी आउँदा र रिप्लाइ गर्न पाउँदा खुसी लाग्थ्यो । तर, धेरै भ्युज आएन भने कस्तोकस्तो हुन्थ्यो ।’

    लकडाउन, निषेधाज्ञा सकिएसँगै क्याम्पस लाग्न थाल्यो । तर, उनी क्याम्पस गएनन् । ‘बिहान उठेर एकछिन हेर्छु भनेर टिकटक खोल्यो दिउँसो १२ बजेको थाहै हुँदैन थियो । त्यसपछि दिन गइहाल्यो भनेर फेरि मोबाइलमै फर्किन्थेँ । म मोबाइल चार्ज गर्दै पनि चलाउँथेँ’, उनले सम्झिए, ‘बाआमाको फोन उठाउन मन लाग्दैन थियो । साथीहरूको पनि फोन उठाइएन । कहिलेकाहीँ त चिया मात्र खाएर पनि दिन कटाइयो ।’ शरीरमा पोषण नपुग्दा आफू दुई महिनामै धेरै दुब्लाएको उनको अनुभव छ ।

    दुई महिनाभन्दा बढी समय क्याम्पस छुटाएपछि उनी झस्किए । अनि क्याम्पस जान थाले । तर, क्याम्पसमा समेत उनले टिकटक चलाउन छोडेनन् । फेसबुक पोस्टहरूका लाइक, कमेन्ट र रिप्लाइमा उसैगरी भुल्थे । पढाइमा ध्यान गएन । मनोविज्ञानका समेत विद्यार्थी भएकाले अबचाहिँ उनले आफू समस्यामा परेको महसुस गरे । भन्छन्, ‘गाउँबाट पढ्न भनेर आएको म के गरिरहेको छु भन्ने प्रश्न आफैँलाई गरेँ । तर, मोबाइल र इन्टरनेटको बानी हटाउन मलाई सजिलो भएन । इन्टरनेटको बानी हटाउन मैले इन्टरनेटकै सहारा लिएँ ।’

    गुगलमा इन्टरनेट कुलत र समाधानबारे उनले मनोचिकित्सकका टिप्सहरू पढे । यससम्बन्धी युट्युबमा प्रसारित सामग्रीहरू हेरे । करिब दुई महिनाको प्रयासपछि उनले इन्टरनेट र मोबाइलको कुलतलाई आफूबाट पर सारे । ‘मैले बेलैमा थाहा नपाएको हुन्थेँ भने मैले मानसिक उपचार गराउनुपर्ने रहेछ’, उनले हाँस्दै सुनाए, ‘अहिले पनि मोबाइल त चलाउँछु तर दिनको दुईदेखि तीन घण्टा, त्यो पनि कहाँ के-के भयो हेर्नलाई ।’

    माथिका तीन जना मात्र होइन, उनीहरूजस्ता कैयौँ युवा, बालबालिका वा भनौँ प्रयोगकर्ता थाहै नपाई इन्टरनेट, मोबाइलको कुलतमा रहेको विभिन्न अध्ययन प्रतिवेदनले देखाउँछन् । र, यो कुलतले उनीहरूको भविष्य नै संकटमा पारिरहेको मनोविद् कुँवर बताउँछिन् ।

    ०००

    इन्टरनेटको बाटोबाट तपाईंं संसारको जुनसुकै कुनाको यात्रा गर्न सक्नुहुन्छ । इन्टरनेटको पसलबाट तपाईंं एक क्लिकमा साना-ठूला थुप्रै चिजहरू किन्न सक्नुहुन्छ । इन्टरनेटको ज्ञान भण्डारमा तपाईंलाई हरेक विषयका जानकारीहरू मिल्नेछन् । इन्टरनेटलाई तपाईंंले मनोरञ्जनको साथी बनाउन सक्नुहुन्छ । तपाईंंको आदेश पालना गर्न इन्टरनेट चौबिसै घण्टा तम्तयार छ । हुकुम दिनुहोस्, यसले संसारका हरचिजलाई तपाईंंको मुट्ठीमा ल्याइदिन्छ ।

    तर, बुझ्नुपर्ने कुरा- आजको युगमा कसैले, कसैलाई सित्तैमा यति धेरै सुविधा किन दिन्छ होला र ! इन्टरनेटले पनि दिँदैन ।

    बदलामा यो तपाईंंको दिमागको हिस्सा बन्न खोज्ने छ । तपाईंंले माने पनि नमाने पनि, यसलाई आदेश दिँदादिँदै, यसबाट फाइदा लिँदालिँदै यसले दिमाग कब्जा गरेको तपाईंंले भेउ पाउनुहुन्न ।

    अनलाइनका कुराहरू हाम्रो समय, ध्यान र तथ्याङ्कको अत्यधिक प्रयोग गर्नेगरी बनाइएका हुन्छन् । जस्तो कि टिकटकमा तपाईंं हाँसोउठ्दा भिडियोहरू हेर्नुहुन्छ भने तपाईंंको फिडमा टिकटकले त्यस्तै सामग्री बढी देखाइदिन्छ । फेसबुक, युट्युबजस्ता सोसल मिडियाको रणनीति पनि यही नै हो । आफूलाई मन पर्ने सामग्री आएपछि नहेरी त्यसलाई ’स्क्रलडाउन’ बिरलै प्रयोगकर्ताले गर्छन् ।

    जब तपाईंंलाई इन्टरनेटबिना खल्लो लाग्न थाल्छ । इन्टरनेट मिल्दा संसार पाएजस्तो लाग्छ । नमिल्दा अधुरो, अपुरो महसुस हुन्छ । सबैथोक भुलेर तपाईंं इन्टरनेटमा भुलिन थाल्नुुहुन्छ । तपाईंंको शारीरिक, मानसिक र सामाजिक अवस्थितिमा असर देखिन्छ । व्यवहारमा परिवर्तन आउँछ । मनोचिकित्सकहरूका अनुसार यो तहमा पुग्नुलाई इन्टरनेट एडिक्सन अर्थात् इन्टरनेटको कुलत भन्न थालिएको छ ।

    अमेरिकी नेसनल लाइब्रेरी अफ मेडिसिनले कम्प्युटर गेमप्रतिको अत्यधिक रुचिलाई इन्टरनेट कुलत मानेको छ । अन्य केही अध्ययन, अनुसन्धानले त इन्टरनेट कुलतलाई लागु औषधको कुलतसँग तुलना गरी निचोडहरू पस्केका छन् ।

    इन्टरनेट प्रयोग धेरै मानिसका लागि आवश्यकता र बाध्यता दुवै हो । अनि यो आवश्यकता र बाध्यताको सीमा नाघेर यसमा भुलिनुचाहिँ कुलतको रेखातिर प्रवेश गर्नु हो । इन्टरनेटकै माध्यबाट नियमित काम गर्नेबाहेक सातामा ३६ घण्टाभन्दा बढी समय अनावश्यक रूपमा इन्टरनेटमा बिताउनु र यस्तो समय बढाउँदै लैजानुलाई कुलत मानिएको छ । र, यो कुलतले मानिसको जीवनमा अपत्यारिलो हानि पुर्‍याउनसक्ने मनोविद् डा. गंगा पाठककाे चेतावनी छ ।

    मनोविद् करुणा कुँवरका अनुसार मानसिक स्वास्थ्यबारे अनुसन्धान गर्ने निकायले डिजिटल कुलतलाई मानसिक रोग मानेको छ । कोरियाली चिकित्सकहरूले खास अध्ययन र परीक्षणपछि इन्टरनेट कुलतलाई लागु पदार्थ दुर्व्यसनसँग तुलना गरेका छन् ।

    कोभिड महामारीका बेला फेरि सबै काम भर्चुअल माध्यमबाट गर्नुपर्ने स्थिति आएकाले इन्टरनेटको कुलतमा पर्ने जोखिमबाट जोगिन मानसिक राेग विशेषज्ञ डा. अजय रिसाल सुझाउँछन् । यसका लागि इन्टरनेटमा अनावश्यक समय खेर नफाल्न उनकाे राय छ ।

    कोभिड महामारीका बेला प्रविधि र खासगरी इन्टरनेटले संसारलाई चलायमान राख्न ठूलो भूमिका खेलेको छ । सँगै थुप्रै मानिस यसबाट गम्भीर रूपले प्रभावितसमेत भएकाे मनोचिकित्सकहरू बताउँछन् । तर, सबै विज्ञ यसलाई मदिरा वा लागुपदार्थको दुर्व्यसनजस्तो चिन्ताजनकचाहिँ मान्दैनन् । यद्यपि भुक्तभोगीका लागि यो घातक हुने कुरामा चाहिँ उनीहरू पनि सहमत छन् ।

    ०००

    बालअधिकारको क्षेत्रमा सक्रिय अन्तर्राष्ट्रिय संस्था ईक्याप्ट लक्जेम्बर्गले सन् २०१९ मा ‘इन्टरनेट सेफ्टी एण्ड रिस्क अफ न्यु टेक्नोलोजिज टु चिल्ड्रेन इन नेपाल’ नामक प्रतिवेदन ल्यायो । १५ जिल्लाका १२ हजार ९ सय ४४ बालबालिका, सरकारी र निजी स्कुलका शिक्षक र अभिभावकमाझ गरिएको सर्वेक्षणमा सहभागीमध्ये ६१ प्रतिशत विद्यार्थीले आफूले फेसबुक नियमित चलाउने गरेको बताएका थिए । २०.५ प्रतिशत छात्रछात्राले आफूसँग एकभन्दा बढी फेसबुक अकाउन्ट रहेको जवाफ दिए भने ६.३ प्रतिशतले अर्कै नाम र फोटो राखेर फेसबुक चलाउने गरेको बताए ।

    प्रतिवेदनअनुसार सर्वेक्षणमा भाग लिएकामध्ये ७१.८ प्रतिशत छात्र र २८.२ प्रतिशत छात्राले दैनिक ६ घण्टा इन्टरनेट चलाउँथे । यस्तो प्रतिवेदन सार्वजनिक भएको केही महिनामै कोरोना नियन्त्रणका लागि देशव्यापी लकडाउन गरियो । सबै विद्यार्थी घरमै थुनिए । भौतिक उपस्थितिको साटो उनीहरू भर्चुअल माध्यमबाट पढ्न थाले । घरघरमा ल्यापटप वा हातहातमा मोबाइल अनिवार्य नै भयो । यो परिस्थितिले उनीहरूलाई मोबाइल, कम्प्युटर र इन्टरनेटसँग झन् धेरै नजिक्याएको खुमलटारस्थित युलेन्स स्कुलका प्रिन्सिपल मेदिन लामिछाने बताउँछन् ।

    ०००

    बेलायतको स्वानसी युनिभर्सिटीका शोधकर्ताहरूले गरेको अर्को एक अध्ययनअनुसार इन्टरनेट कुलतले स्कुले बालबालिकादेखि उच्च शिक्षाका विद्यार्थीसम्मलाई हानि गरिरहेको छ । डिजिटल प्रविधिको प्रयोग सीमाभन्दा ज्यादा गर्दा विद्यार्थीमा आफ्नो पढाइप्रति रुचि कम हुने समस्या देखिएको प्रतिवेदनमा बताइएको छ । जनरल अफ कम्प्युटर असिस्टेड लर्निङमा भएको सोधमा स्वास्थ्यसम्बन्धी डिग्री कोर्स अध्ययनरत २ सय ८५ विद्यार्थी सहभागी थिए । ती विद्यार्थीको इन्टरनेट प्रयोग, उनीहरूको चिन्ता, एक्लोपन, पढाइ र प्रेरणाको आँकलन शोधमा गरिएको थियो । अध्ययनको निचोड छ, इन्टरनेट लत र पढाइका लागि प्रेरणाबीच एक नकारात्मक सम्बन्ध छ । शोधकर्ताहरूका अनुसार इन्टरनेटको लत लागेपछि विद्यार्थीले पढ्नमा ध्यान लगाउन सक्दैन । अनि परीक्षाका बेला बढी बेचैन हुन्छ । इन्टरनेट लतमा परेका केही विद्यार्थीले आफूले एक्लोपन महसुस गरेको पनि बताएका थिए । यसो हुँदा पढाइमा मन जाने सम्भावना न्यून हुन्छ ।

    शोधका सहलेखक फिल रिड प्रतिवेदनमा लेख्छन्, ‘हाम्रो अध्ययनअनुसार इन्टरनेटको लत भएको विद्यार्थी पढ्नमा मन गर्दैन । यही कारण परीक्षामा राम्रो अंक आउँदैन । अनि ऊ बेचैन हुन्छ । चिन्तित हुन्छ ।’ सर्वेक्षणमा सहभागी विद्यार्थीमध्ये खासगरी सोसल नेटवर्किङका लागि ४० प्रतिशत र जानकारी प्राप्त गर्न ३० प्रतिशतले इन्टरनेटको प्रयोग गर्ने गरेको बताएका थिए ।

    प्रतिवेदनमा मिलान युनिभर्सिटीदेखि अर्का सहलेखक रोबर्टो ट्रुजोली भन्छन्, ‘इन्टरनेटको लतले धेरै खालका क्षमता जस्तो कि, प्रेरणा, योजनादेखि पुरस्कारका लागि संवेदनशीलतासम्मलाई समाप्त गरिदिन्छ । यसरी विद्यार्थीको क्षमता कम हुन्छ । अनि पढाइमा कमजोर हुन्छ ।’

    विद्यार्थी मात्र होइन

    इन्टरनेट कुलतको जोखिम विद्यार्थीमा मात्र होइन, अभिभावक वा पाको उमेरका मानिसलाई पनि हुने मानसिक रोग विशेषज्ञ डा. अजय रिसाल बताउँछन् । उनी भन्छन्, ‘कोभिड महामारीका कारण फेरि सबै काम भर्चुअल्ली गर्नुपर्ने स्थिति आएको छ । यस्तो बेला झन् सचेत हुनुपर्छ । आवश्यकताभन्दा ज्यादा इन्टरनेटमा भुलिँदा त्यसले पछि मानसिक समस्या निम्त्याउन सक्छ ।’

    उनका अनुसार इन्टरनेटमै गर्नुपर्ने कामबाहेक कोही आवश्यकताभन्दा ज्यादा इन्टरनेटमा भुलिन्छ भने त्यो समस्या हो । ‘एकदुई पल्ट कसैले चुराेट तान्छ भने त्यसैलाई कुलत मान्न सकिँदैन । तर, ऊ त्याे नखाई रहनै नसक्ने स्थितिमा पुग्छ भने त्योचाहिँ कुलत हो । इन्टरनेट कुलत पनि यस्तै हो । कसैलाई इन्टरनेट नचलाउँदा बेचैन हुन्छ, चिडचिडाहट हुन्छ । एक्लोपन महसुस हुन्छ भने ऊ कुलतको स्थितिमा पुगेको मान्न सकिन्छ’, धुलिखेल अस्पतालका डा. रिसाल भन्छन् ।

    इन्टरनेट कुलतमा पर्नु हाम्रो मानसिक र शारीरिक दुवै समस्या हो । तर, मानसिक रोग विशेषज्ञ डा. अनुप पोखरेलका अनुसार मानिसहरू शरीरमा चोट लाग्दा लगत्तै उपचार गर्न जान्छन् तर मानसिक स्वास्थ्यलाई असर पार्ने आफ्ना गतिविधिहरूप्रति उति चासो राख्दैनन् । डा. पोखरेल आफ्नो पुस्तक ‘मानसिक अस्वस्थता’मा लेख्छन्, ‘खासगरी समाजमा अझै पनि मानसिक स्वास्थ्यको बारेमा खुलेर कुरा गर्ने चलन नभएकाले कतिपय मानिसहरूलाई कुलतले धेरै असर पुर्‍याइसक्दा पनि अस्पताल जाँदैनन् । शारीरिक स्वास्थ्यबारे चर्चा गर्छन्, मानसिक स्वास्थ्यबारे गर्दैनन् ।’

    यस्ता हुन्छन् लक्षण

    मनोविद् करुणा कुँवरका अनुसार इन्टरनेट कुलतले सबैभन्दा पहिला तपाईंंको टाइमटेबललाई आक्रमण गर्छ । तपाईंं कति समय इन्टरनेटमा फसिरहनुभएको छ भन्ने कुरा तपाईंंलाई थाहै हुँदैन । तपाईंं चिजहरूको प्राथमिकता तय गर्न बिर्सन थाल्नुहुन्छ । तपाईंंको सेड्युल गडबड हुन्छ । अफिसको काम प्रभावित हुन्छ । तपाईंंको निजी जीवनमा समेत इन्टरनेट कुलतले नकारात्मक असर पार्न सक्छ । कम्प्युटर वा स्मार्टफोन प्रयोग गरेको समय तपाईंंको मूड फ्रेस हुन्छ । तपाईंंलाई इन्टरनेटमा बिताइरहेको समय सबै चिन्ता र जिम्मेवारीबाट मुक्त भएको भान हुन्छ । अनि पहिलाको तुलनामा बढी झुठ बोल्न थाल्नुहुन्छ । इन्टरनेट चलाउँदा समय बर्बाद भएकाले तपाईंं अर्को जिम्मेवारी पूरा गर्न सक्नुहुन्न । कसैले सोधिहाल्यो भने बाहानाबाजी गर्नुहुन्छ वा ढाँट्नुहुन्छ ।

    इन्टरनेटमा बस्दा तपाईंंलाई लाग्छ, संसार तपाईंंको औंलाको एक क्लिकमुनि छ । तर, तपाईंं जसै वास्तविक जिन्दगीमा फर्किनुहुन्छ, एक्लो पाउनुहुन्छ । तपाईंंलाई डर लाग्छ । एक्लो महसुस हुन्छ । कहिलेकाहीँ आफैँसँग चिडिनुहुन्छ । कोसँग रिसाइरहेको छु भन्ने कुरा खासमा तपाईंंलाई थाहै हुँदैन । तपाईंंको व्यवहार उग्र हुन थाल्छ ।

    तपाईंंको एकाग्रता कम हुन्छ । तपाईंं चिजहरूबाट छिट्टै दिक्क मान्न थाल्नुहुन्छ । तपाईंंको दिमागमा एक आभासी संसार (भर्चुअल वर्ल्ड) तयार हुन्छ । यही कारण शरीरको बायोलोजिकल चक्र गडबड हुन जान्छ । इन्टरनेटको लत लागेका मानिस राति राम्रोसित निदाउन सक्दैनन् ।

    मानसिक रोग विशेषज्ञा डा. रिसालका अनुसार तनावले मान्छेलाई कुलत र छल्ने प्रवृत्तितिर लैजान्छ । भन्छन्, ‘महामारीका बेला मानिसहरू त्यसै तनावपूर्ण अवस्थामा छन् । यसबाट उम्कन सजिलो र छिटो बाटो अनलाइन गेम अनि सामाजिक सञ्जालजस्ता डिजिटल माध्यम नै हुन्, जहाँ मनोरञ्जन गर्न सकिन्छ ।’

    २५ अक्टाेबर २०२१ मा प्रकाशित बीबीसीकाे एक रिपोर्टमा हूक्ड अन गेम्सः द ल्यूर एन्ड कस्ट अफ भिडिओ गेम्स एन्ड इन्टरनेट एडिक्सनका लेखक डा. डोअनले इन्टरनेटलाई दुई फरक कुरा मानेर हेर्नुपर्ने बताएका छन् । ‘म डिजिटल माध्यमलाई दुई प्रकारमा छुट्ट्याउँछु, डिजिटल चिनी र डिजिटल तरकारी । अनलाइन थेरपीजस्ता कुराहरू भएको डिजिटल तरकारी मानिसहरूको तनाव व्यवस्थापन गर्न र कुलतबाट मुक्ति पाउन प्रयोग गर्न सकिन्छ’, उनको भनाइ छ, ‘अनि गेम, अश्लील सामग्री र कार्यबाहिर सामाजिक सञ्जालको अत्यधिक प्रयोग डिजिटल चिनी हो, जसले दुर्व्यसन बढाउँछ ।’

    हामीले इन्टरनेटमा बिताउने समय बढ्दै जाँदा कम्प्युटर गेम र इन्टरनेट दुर्व्यसनको समस्या बढ्ने मनोचिकित्सकहरूको तर्क छ ।

    दिमागमै असर

    नेपालमा इन्टरनेट कुलतबारे कुनै अध्ययन, अनुसन्धान भएको छैन । न त इन्टरनेट कुलत भन्ने ‘टर्मिनाेलाेजी’लाई मानिएको नै छ । तर, विभिन्न देशले यससम्बन्धी अध्ययन, अनुसन्धान र तयारीसम्म गर्न भ्याइसकेका छन् ।

    दक्षिण कोरियामा इन्टरनेट लतलाई एक सार्वजनिक स्वास्थ्य समस्या मानिएको छ । इन्टरनेट लतकै कारण त्यहाँ हत्या, हिंसाका घटना हुने गरेको विगत छ । दक्षिण कोरियाली युनिभर्सिटीका रेडियोलोजी प्रोफेसर ह्युङ सुक सियोको टिमले एक अध्ययन तथा परीक्षणपछि दाबी गरेको छ, ’इन्टरनेट र स्मार्टफोनको लतले मान्छेको दिमागको केमिस्ट्रिलाई नै असर गरिरहेको छ । शोधकर्ताले १५ वर्ष उमेरका १९ किशोरमा गरेको अध्ययनबाट यो कुरा पुष्टि भएको हो । ती सबै किशोर इन्टरनेटको लतसँग जुधिरहेका थिए । डाक्टरले किशोरहरूलाई सोधेका थिए- इन्टरनेट वा स्मार्टफोनको प्रयोग तिमीहरू कसरी गर्छौ ?

    ती किशोरले गर्ने दिनभरिको काम, उनीहरूको कार्यक्षमता, सुत्ने समय, भावनाबारे पनि सोधियो । अर्कातिर, इन्टरनेट कुलतको लक्षण नभएका सोही उमेरसमूहका अन्य १९ किशोरलाई त्यही प्रश्न गरियो । जाँचबाट थाहा भयो, इन्टरनेट र स्मार्टफोनको लतसँग जुधिरहेका किशोरहरूमा निन्द्रा नलाग्ने, रिसाउने समस्या थियो । साथै डिप्रेसन र चिन्ताजस्ता गम्भीर समस्या पनि थिए ।

    डाक्टरहरूले परीक्षणमा सामेल सबै किशोरको दिमागको म्याग्नेटिक रेसोनेस स्पेक्ट्रोस्कोपी (एमआरएस)को प्रयोग गरी थ्रीडी इमेज लिएका थिए । यसले म्याग्नेटिक रेसोनेस इमेजिङ (एमआरआई) जसरी नै काम गर्छ । एमआरआई इमेजिङजस्तै, एमआरएसले पनि फेब्रिक र कोशिकाहरूको रसायनिक सामग्रीलाई देखाउन सक्छ । उक्त परीक्षणपछि थाहा भएको थियो, ‘इन्टरनेट एडिक्सन डिसअर्डरको असर दिमागमा ठीक उसैगरी पर्छ, जसरी ड्रग्स वा नशालु पदार्थ लिँदा पर्छ ।

    शारीरमा असर

    इन्टरनेट कुलत केवल मानसिक समस्यासँग सम्बन्धित छैन । यसले तपाईंंको शारीरिक र सामाजिक स्थितिलाई पनि असर गर्छ । हामीले माथि चर्चा गरेका विशाल अत्यधिक मोटाए, आयुष दुब्लाए । यसैगरी शरीरसँग सम्बन्धित अन्य समस्याहरू निम्तिन सक्छ ।

    डाक्टरहरूका अनुसार मान्छेको गर्धनमा मेरुदण्डका सात वटा हाड हुन्छन् । हलचल नगरी निहुरेर मोबाइल चलाउँदा वा एउटै ठाउँमा लामो समय बसेर कम्प्युटरमा काम गर्दा मेरुदण्डको तिनै हड्डीहरूमा दबाब पर्छ । मेरुदण्डले मस्तिष्कलाई स्नायु प्रणालीसँग जोड्ने भएकाले त्यसमा दबाब पर्दा सिंगो शरीरमा समस्या देखिन सक्छ ।

    वरिष्ठ हाडजोर्नी राेग विशेषज्ञ प्रा.डा. गोविन्द केसी इन्टरनेट वा कम्प्युटर प्रयोग मानिसहरूको आवश्यकता र बाध्यता भए पनि प्रयोगकर्ताले यसको सीमा निर्धारण गर्नुपर्ने बताउँछन् । एकैठाउँमा, हलचल नगरी लामो समय बसिरहँदा हड्डीसम्बन्धी समस्याहरू पैदा हुने उनको भनाइ छ । ‘मोबाइल, कम्प्युटरमा लामो समय बिताउनेहरूको अक्सर समस्या भनेको मांसपेशी, गर्धन दुख्नेलगायत हुन्छन् । व्यायाम नगर्दा मांसपेशीहरू सुक्दै जान्छन् । हड्डीहरू पातलो हुन्छन् । जोर्नीहरू चल्न पाउँदैनन् । स्नायु राम्रो स्थितिमा रहन पाउँदैन । कालान्तरमा मेरुदण्डको हड्डी खिएर स्नायुमै असर पर्न सक्छ’, डाक्टर केसी भन्छन् । यसरी शारीरिक समस्यासँगै मानिसमा मानसिक समस्यासमेत थपिने उनको भनाइ छ । त्यसैले आवश्यकता र सीमाभन्दा बढी समय इन्टरनेटमा नबिताउन प्रयोगकर्तालाई उनी सुझाउँछन् ।

    आँखामा असर

    तिलगंगा आँखा प्रतिष्ठानका नेत्र राेग विशेषज्ञ डा. बेन लिम्बू लामो समय इन्टरनेटमा वा मोबाइल, कम्प्युटरमा बस्दा आँखालाई दबाब पर्ने बताउँछन् । उनका अनुसार आमरूपमा आँखा सुख्खा हुने र धमिलाे हुने इन्टरनेट कुलतबाट सिर्जित समस्या हुन् । ‘आँखा पोल्नु, चिलाउनु जस्ता समस्या पनि देखिन्छन् । पूरापूर ध्यान इन्टरनेटमा हुने हुँदा टाउको दुखाइको समस्या आइपर्न सक्छ’, उनले भने ।

    डा. लिम्बू स्मार्टफोनको स्क्रिनबाट निस्कने प्रकाशमा ब्लु लाइट (निलाे प्रकाश) सबैभन्दा बढी हुने बताउँछन् । ‘धेरै बेरसम्म स्क्रिनलाई नजिकबाट हेर्दा आँखामा दबाब पर्छ । अनि आँखामा असहजता महसुस हुन्छ । लामो समयसम्म यसो गरिरहँदा आँखाकाे पर्दामा हानि पुग्न सक्छ ।’ इन्टरनेटमा लामो समय काम गर्नुपर्ने बाध्यता र आवश्यकता भएकाहरूलाई पनि उनी ब्लु लाइट प्रोटेक्सन चस्मा लगाउन सुझाउँछन् ।

    तौल घटबढ

    पोषणविद् डा. अरुणा उप्रतीले काठमाडाैं पूर्वका २० वर्षे एक युवकलाई भेटिन्, जसको हाइट १ सय ८० सेन्टिमिटर छ अनि तौल १ सय २० किलो छ । सानैदेखि इन्टरनेट र टिभीमा बढीभन्दा बढी समय भुल्नु र जंक फुडहरूमा बानी पर्नुले उनको तौल अत्यधिक बढेको डा. उप्रती बताउँछिन् । ‘यो उमेरमा आफ्नो तौल अस्वाभाविक भएपछि ती किशोर मानसिक समस्यातिर उन्मुख छन्’, उनले भनिन् ।

    उनी तिनै किशाेरलाई प्रतिनिधि पात्रका रूपमा देखाउँदै लामो समय इन्टरनेटमा बस्ने बानीले मान्छेको ताैल घटबढ हुन सक्ने बताउँछिन् । बढी समयसम्म इन्टरनेटमा बस्दा व्यायाम वा अरु कुनै बाहिरी गतिविधि गरिँदैन । बालबालिकाकाे हकमा उनीहरू जंक फुड लिँदै साेसल साइट वा अनलाइन गेममा भुल्छन् । यसो हुँदा तौल बढ्छ । वजन घट्नुको कारणचाहिँ समयमा खाना नखानु, पोषण नपुग्नु हो’, उनले भनिन् ।

    अतः इन्टरनेट कुलतले मानिसमा शारीरिक समस्याहरू थपिन्छ । अनि शारीरिक समस्याले फेरि मानसिक समस्यातिर लैजान्छ ।

    अरू जागे, हामी निन्द्रामै

    विज्ञहरूका अनुसार अहिले कोरोना महामारीजस्तै इन्टरनेट एडिक्सन ‘महामारीका रूपमा’ धेरै अघिदेखि विश्वभर फैलिरहेको छ । लकडाउनका बेला याे झन् गहिराे बनिरहेकाे छ । यद्यपि, यसको कुनै विश्वसनीय तथ्याङ्कचाहिँ छैन । यसबारे अनुमान देश र अध्ययनअनुसार भिन्नभिन्न छन् ।

    जे होस्, इन्टरनेट लतको समस्याचाहिँ संसारका धेरै देशमा रहेको अध्ययन आँकडाले देखाउँछन् । खासगरी विकसित देशमा यस्तो समस्या अझ बढी रहेको मनोविद्हरूको दाबी छ । किनकि, धनी देशका मानिसहरूमा ग्याजेटको पहुँच ज्यादा हुन्छ । तर, त्यस्ता देशमा इन्टरनेट लत छुटाउन सुधार केन्द्रहरू छन् । अर्थात् उनीहरू समाधानका लागि जागरुक भइसकेका मनाेविद् पाठककाे भनाइ छ ।

    विश्वको डिजिटल इकोनोमीबारे तथ्याङ्क राख्ने अनलाइन पोर्टल स्टास्टिकाका अनुसार एक अर्ब ४१ करोड बढी जनसंख्या रहेको चीनमा ९८ करोडभन्दा बढी मानिस इन्टरनेटको पहुँचमा छन् । यसमा पाँच करोडभन्दा बढी बालबालिका, किशोरकिशोरी छन् । चीनले इन्टरनेट लतबाट मान्छेहरूलाई मुक्ति दिन सन् २००६ देखि इन्टरनेट एडिक्सन ट्रिटमेन्ट सेन्टर स्थापना गरेको छ ।

    राजधानी बेइजिङभन्दा दक्षिणस्थित डेक्सिङमा रहेको यो केन्द्रमा हजारौँले उपचार गराइसकेका छन् । अमेरिका, बेलायतजस्ता देशले पनि इन्टरनेट एडिक्सनको उपचार गर्न विभिन्न अभियान र स्किमहरू ल्याइरहेको मनोविद् डा. पाठक बताउँछिन् । उनका अनुसार नेपालजस्ता विकासोन्मुख देशका नीति निर्माता इन्टरनेट दुर्व्यसन र यसका सम्भावित हानिबारे अनभिज्ञप्राय छन् ।

    छुट्कारा पाउने कसरी ?

    मनोविद्हरूका अनुसार कुनै समस्याबाट छुट्कारा पाउन चाहनेले सबैभन्दा पहिला त्यसलाई समस्याका रूपमा स्विकार गर्नुपर्छ । जबसम्म बिरामीले यो कुरा स्वीकार्दैन, तबसम्म बाहिर निस्कन गाह्रो हुन्छ । काेही मान्छे एक चुट्कीमा इन्टरनेटको लतबाट बाहिर निस्कनचाहिँ सक्दैन । मनोविद् कुँवर इन्टरनेट कुलतमा पुगेको छु भन्ने भान भएकाहरूलाई बिस्तारै बिस्तारै इन्टरनेटमा बिताउने समय कम गर्दै लैजान सुझाउँछिन् । ‘हप्तामा ३६ घण्टाभन्दा बढी समय अनावश्यक इन्टरनेटमा बिताउनु लतको श्रेणीमा आउँछ । तपाईंंले यसलाई १६ घण्टाभन्दा मुनि ल्याउनुपर्ने छ’, कुँवर भन्छिन् ।

    उनका अनुसार अनावश्यक इन्टरनेट चलाउँदा राम्रो महसुस हुन्छ भने यस्तै महसुस गर्न अरु कुनै बाहिरी गतिविधि गर्न सकिन्छ । उनी भन्छिन्, ‘मानिसहरूसँग भेटघाट गर्न सकिन्छ । भौतिक खेलहरू खेल्ने, परिवारसँग बढी समय बिताउने, घुम्न जाने, पुस्तकहरू पढ्ने, डायरी लेख्नेजस्ता गतिविधि गर्दा इन्टरनेट एडिक्सनबाट निस्कन मद्दत मिल्छ । यसो गर्दा पनि नभए मनोचिकित्सको सहायता लिनुपर्छ ।’

    सकेसम्म आफूलाई कुलतले धेरै असर नपुर्‍याउँदै उपचार वा परामर्श खोज्न मनाेविद् डा. पाठक र कुँवरकाे सुझाव छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend