९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

कास्कीका अधिकांश सरकारी कार्यालयका सेवा स्थगित


जनमञ्च संवाददाता
  • ११ माघ २०७८ , मंगलबार

  • कास्कीका अधिकांश सरकारी कार्यालयका सेवा स्थगित

    पोखरा, ११ माघ – कोरोना भाइरस सङ्क्रमणको तेस्रो लहरमा सङ्क्रमित बढ्दै जाँदा जिल्लामा सार्वजनिक सेवा प्रदायक कार्यालयको सेवा कटौती भएको छ ।​ सेवाग्राहीका भीड बढी हुने जिल्लाका अधिकांश कार्यालयले कार्यरत कर्मचारी सङ्क्रमित भएपछि सेवा स्थगन गरेका छन् । केही कार्यालयको सेवा पूर्ण बन्द गरिएको छ भने केहीले आंशिक सञ्चालन गरेका छन् । स्थानीय सरकारले पनि अत्यावश्यकबाहेकका जनसम्पर्क सम्बन्धित सेवा स्थगन गरेका छन् । जिल्ला प्रशासन कार्यालय, मालपोत, नापी, यातायात व्यवस्था कार्यालयलगायत दैनिक सेवाग्राहीको भीड बढी हुने कार्यालयको सेवा रोकिएको ती कार्यालयहरूले जनाएका छन् ।

    प्रशासनले सङ्क्रमण रोकथामका लागि २५ जनाभन्दा बढी भेला हुन नपाउने आदेश जारी गरे पनि सार्वजनिक सेवा प्रदायक कार्यालयमा सो आदेशको पालना भएको देखिएको छैन । जसबाट सङ्क्रमण बढेको बताइन्छ । जिल्ला प्रशासन कार्यालय कास्कीको सेवा आज माघ ११ गतेदेखि अनिश्चितकालका लागि स्थगन गरिएको छ । प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यका अनुसार शान्ति सुरक्षा, मुद्दा व्यवस्थापन, विपद् व्यवस्थापन र अत्यावश्यक सेवाबाहेकका अन्य सबै नियमित सेवा अर्को सूचना जारी नहुँदासम्मका लागि बन्द गरिएको छ ।

    उनले भने, “प्रशासन कार्यालयका केही कर्मचारी सङ्क्रमित भएर आइशोलेशनमा रहेको र अन्य केही कर्मचारीमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखापरेको छ । जसबाट सङ्क्रमण जोखिम बढ्न सक्ने भएकाले अत्यावश्यकबाहेकका प्रशासनका नियमित सबै सेवा अर्को सूचना जारी नहुँदासम्मका लागि स्थगन गरेका छौँ ।”

    यसैगरी मालपोत कार्यालयको सेवा पनि आजदेखि माघ १७ गतेसम्मका लागि स्थगन गरिएको छ । कार्यालयका अनुसार नियमित कार्यसम्पादनको क्रममा कार्यालयका विभिन्न फाँटमा कार्यरत कर्मचारी कोरोना सङ्क्रमित भएको र थप केहीमा लक्षण देखिएकाले कार्यालयको सम्पूर्ण सेवा बन्द गरिएको छ ।

    नापी कार्यालयको सबै सेवा पनि आजदेखि आगामी माघ १७ गतेसम्म बन्द गरिएको छ । कार्यालयका सूचना अधिकारी प्रदीपकुमार श्रेष्ठले कार्यालयका कर्मचारी सङ्क्रमित भएको तथा मालपोत कार्यालयको सेवा पनि स्थगन भएको अवस्थामा दुवै कार्यालयबाट प्रदान गरिने सेवा अन्तरसम्बन्धित भएकाले नापीको सेवा बन्द गरिएको जानकारी दिए ।

    यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र कार्यालयको सेवा पनि प्रभावित भएको छ । कार्यालयका तीन कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको र अन्यमा लक्षण देखिएको भन्दै अर्को सूचना जारी नहुँदासम्म सीमित सेवाबाहेक अन्य बन्द गरिएको बताइन्छ । यातायात कार्यालय सबैभन्दा बढी सेवाग्राहीको भीड हुने कार्यालयमा पर्दछ । कार्यालयले सवारी चालक अनुमतिपत्रको नवीकरण माघ १३ गतेदेखि सुरु हुने तथा प्रयोगात्मक परीक्षा (ट्रायल) उत्तीर्णहरूको राजस्व लिनेबाहेकका अन्य सेवा बन्द गरिएको जनाएको छ ।

    कास्कीका स्थानीय सरकारले पनि अत्यावश्यकबाहेकका सेवा बन्द गरेका छन् । माछापुच्छ«े र मादी गाउँपालिकाले सूचना जारी गरी एक साताका लागि सेवा बन्द गरिएको जनाएको छ । कास्कीमा कोरोनाको तेस्रो लहर सुरु भएसँगै दैनिक सङ्क्रमण बढिरहेको छ । पछिल्लो समय महामारीविरुद्धको लडाइँमा अग्रपङ्क्तिमा खटिएका स्वास्थ्यकर्मीसमेत सङ्क्रमित हुने क्रम बढेको छ । कास्कीमा पछिल्लो २४ घण्टामा महिला २१६ र पुरुष २४० गरी ४५६ जनामा सङ्क्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा थप ९४९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको र १८६ जना निको भएका छन् ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend