२५ भाद्र २०८३ , बिहिबार

२५ भाद्र २०८३ , बिहिबार
  • २५ भाद्र २०८३ , बिहिबार
  • September 10 2026
राष्ट्रिय सभा निर्वाचनको मतदान आज

गण्डकीमा सत्ता गठबन्धनको जित निश्चित !


जनमञ्च संवाददाता
  • १२ माघ २०७८ , बुधबार

  • गण्डकीमा सत्ता गठबन्धनको जित निश्चित !

    पोखरा, १२ माघ – गण्डकी प्रदेशबाट राष्ट्रिय सभाको निर्वाचनको लागि आज सत्ता गठबन्धन र प्रतिपक्षी एमालेका उम्मेदवारहरु आमने-सामने हुँदैछन् ।

    सत्तापक्षबाट दलिततर्फ गोरखाका भुवन सुनार, महिलातर्फ गोरखाकै कमला पन्त र खुलातर्फ तनहुँका सुरेश आले मगर उम्मेदवार बनेका छन् ।

    प्रतिपक्षी एमालेतर्फबाट खुलामा पुण्यप्रसाद पौडेल (कास्की), महिलातर्फ लीला पोखरेल थनेट (नवलपुर) र दलिततर्फ अर्जुनप्रसाद सुनाम प्रतिस्पर्धामा उत्रिएका छन् ।

    निर्वाचन आयुक्त तथा कास्की जिल्ला अदालतका न्यायाधीश श्रीकृष्ण भट्टराईका अनुसार निर्वाचनको सबै तयारी पूरा भएको छ । बुधबार बिहान ९ बजेदेखि ३ बजेसम्म मतदानको समयावधि तय भएको छ ।

    संघीय सांसदहरुको लागि र स्थानीय तहका प्रमुख-उप्रमुखहरुको लागि छुट्टाछुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको छ । उनका अनुसार चुनावमा कोभिड-१९ संक्रमितलाई पनि मतदान गर्न दिने निर्णय अनुसार संक्रमितको लागि छुट्टै मतदान स्थलको व्यवस्था गरिएको छ ।

    संक्रमितहरुको लागि पञ्जा, मास्क, स्यानिटाइजरको प्रबन्ध गरिएको छ । उनीहरुलाई सुरुमै मतदान गर्ने व्यवस्था मिलाइएको छ ।

    राष्ट्रिय सभाका ३ उम्मेदवारका लागि गण्डकीका ६९ जना प्रदेश सांसदसहित ८५ पालिकाका प्रमुख र उपप्रमुखहरुले मतदान गर्नेछन् । राष्ट्रिय जनमोर्चाको तर्फबाट प्रदेश सांसद बनेका कृष्ण थापा पदमुक्त भएपछि गण्डकीमा सांसदको संख्या ५९ मा झरेको हो ।

    गण्डकीबाट राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने दीननाथ शर्मा, खिमबहादुर विक र शान्ति अधिकारीको पदावधि फागुन २० गते सकिने भएसँगै त्यही सिटको लागि चुनाव हुन लागेको हो ।

    दीननाथ र बिक माओवादी केन्द्रको प्रतिनिधित्व गर्दै सदस्य बनेका थिए । अघिल्लो चुनावमा एमाले र माओवादीबीच गठबन्धन रहेको थियो भने कांग्रेस एक्लै चुनावमा होमिएको थियो । यो पटक ठीक उल्टो भएको छ ।

    एमाले एक्लै चुनावी मैदानमा छ भने नेपाली कांग्रेस र माओवादी केन्द्र एकातिर रहेका छन् । एमालेबाट फुटेको नेकपा (एकीकृत समाजवादी)ले पनि सत्ता गठबन्धनसँगै रहेकोले चुनावमा एमाले कमजोर देखिएको छ । यद्यपि, नेकपा एससँग प्रदेश सांसद छैनन् भने स्थानीय तहमा पनि एकमात्र जनप्रतिनिधि अर्थात १८ मतभार रहेको छ ।

    राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदेश नम्बर १ मा बाहेक अन्यत्र मतदानमा सरिक नहुने निर्णय गरिसकेको छ । राप्रपासँग पनि १८ मतभार नै छ । जनमोर्चा नेपाल, जनता समावादी, नेपाली कांग्रेस र माओवादी केन्द्र एकातिर हुँदा ६ सयभन्दा बढी मतले गठबन्धन अगाडि देखिएको छ ।

    एमालेसँग २७ सांसद र ६९ पालिकासहित २ हजार ५३८ मत भार रहेको छ । नेपाली कांग्रेससँग मात्रै २ हजार १७८ मत छ भने माओवादी केन्द्रसँग ७९२ मत रहेको छ । सत्ता साझेदारी गरिरहेका दीपक मनाङे पनि स्वतन्त्र नै हुन् । उनीसँग ४८ मतभार रहेको छ ।
    गण्डकीबाट ३ सहित १९ राष्ट्रिय सभा सदस्यको लागि आज मतदान हुन लागेको हो ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend