पोखरा, १४ माघ – गण्डकीमा कोरोना सक्रिय संक्रमितको संख्या ७ हजार नाघेको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार बिहीबारसम्म प्रदेशमा सक्रिय संक्रमितको संख्या ७ हजार ३६८ जना पुगेको हो ।
कुल सक्रिय संक्रमितमध्ये पछिल्लो २४ घन्टामा मात्रै ७ सय १७ जनामा कोरोना पुष्टि भएको हो । कुल १ हजार ५५ जनामा गरिएको पिसिआर तथा एन्टिजेन परीक्षणमा ७५ प्रतिशत भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
निर्देशनालयको तथ्यांकअनुसार महामारीको तेस्रो लहरबाट सबैभन्दा बढी कास्की जिल्ला प्रभावित छ । कुल सक्रिय संक्रमितमध्ये ५० प्रतिशतभन्दा बढी संक्रमित कास्कीका मात्रै छन् । कास्कीमा बिहीबारसम्म ३ हजार ५७८ जना सक्रिय संक्रमित रहेको निर्देशनालयले जनाएको छ ।
पछिल्लो २४ घन्टामासंक्रमण पुष्टि हुनेमध्ये सबैभन्दा बढी कास्कीका छन् । कास्कीमा मात्रै २ सय ८९ जना नयाँ संक्रमित थपिएका छन् । संक्रमितको संख्या बढ्दै जाँदा कास्की प्रशासन, मालपोत, पोखरा महानगरलगायतले अत्यावश्यक बाहेकका काम स्थगित गरिसकेका छन् ।
एकैदिन ७ सय जनाभन्दा बढीमा संक्रमण पुष्टि हुँदा ३ सय ७८ जनामात्रै संक्रमित निको भएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयका स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्र संयोजक नवराज शर्माका अनुसार कुल संक्रमितमध्ये अधिकांश होम आइसोलेसनमा छन् ।
कुल सक्रिय संक्रमितमध्ये बिहीबारसम्म ७ हजार २८३ जना संक्रमित होम आइसोलेसनमा छन् । बाँकी ८९ जना संक्रमितमात्रै कास्कीका विभिन्न अस्पतालमा उपचाररत रहेको निर्देशनालयले जनाएको छ । अस्पतालमा उपचाररत रहेका संक्रमितमध्ये २ जना भेन्टिलेटरमा, ११ जना आइसियूमा, ४० जना एचडीयू र ३६ जना साधारण बेडमा उपचाररत छन् ।
थप २ जनाको मृत्यु
पछिल्लो २४ घन्टामा गण्डकीमा २ जनाको मृत्यु भएको छ । योसँगै प्रदेशमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ४३५ पुगेको छ । पछिल्लो एकदिनमा ज्यान गुमाउने दुवै कास्कीका हुन् ।
शर्माका अनुसार मृत्यु हुनेमा पोखरा महानगर ३३ की ५९ वर्षीय महिला छिन् । उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको थियो । बुधबार कोरोना संक्रमण पुष्टि भएको ती महिलाको बिहीबार बिहान मृत्यु भएको हो ।
त्यस्तै, कोरोनाबाटै ज्यान गुमाउनेमा पोखरा ९ का ६४ वर्षीय एक पुरुष छन् । ३ गते कोरोना संक्रमण पुष्टि भएको उनको प्रतिष्ठानमै उपचारका क्रममै बिहीबार मृत्यु भएको निर्देशनालयले जनाएको छ । योसँगै कोरोनाबाट ज्यान गुमाउने कास्कीका ६ सय २९ जना पुगेका छन् ।