९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026
सक्रिय संक्रमितको संख्या ७ सय ४४

तनहुँका आइसोलेसन बेड खाली, सबै संक्रमित घरमा


जनमञ्च संवाददाता
  • १४ माघ २०७८ , शुक्रबार

  • तनहुँका आइसोलेसन बेड खाली, सबै संक्रमित घरमा

    तनहुँ, १४ माघ – तनहुँका ३९ जनालाई बिहीबार कोरोना संक्रमण पुष्टि भएको छ । ८७ जनाको परिक्षण गरिएकोमा ४४.८२ प्रतिशतलाई कोरोना पुष्टि भएको हो । योसँगै जिल्लामा कोरानाका सक्रिय संक्रमितको संख्या ७ सय ४४ पुगेको छ । संक्रमित सबै होम आइसोलेसनमा छन् ।
    जिल्ला स्वास्थ्य कार्यालय तनहुँका अनुसार जिल्लाका १२ ठाउँमा १७० बेड क्षमताको आइसोलेसन तयार छन् । तर, कोरोना संक्रमण तीव्र गतिमा फैलिरहँदा पनि संस्थागत आइसोलेसन रित्तै छन् । आइसोलेसनमा बस्न संक्रमित चाहादैनन् ।

    संक्रमितलाई जटिल समस्या नदेखिएकाले आइसोलेसनमा बस्नेको संख्या शून्य रहेको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख रामबहादुर नेपाली बताउँछन् । ‘यसअगाडिको लहरमा जस्तो जटिल समस्या देखिएको छैन । सामान्य अवस्था भएकाले पनि संक्रमित होम आइसोलेसनमै बस्न इच्छुक छन्,’ नेपालीले भने ।

    संक्रमितलाई टाउको दुख्ने, ज्वरो आउने, घाटी खसखस हुने, सुख्खा खोकी लाग्ने, रातको समयमा पसिना आउने, जिउ दुख्ने र स्वर दब्नेजस्ता लक्षण देखिएका उनले बताए । आइसोलेसनमा बस्नेको संख्या शून्य भएपनि सबै आइसोलेसनलाई तयारी अवस्थामा राखिएको उनको दाबी छ । उनले भने, ‘सक्रमण बढ्दै छ । आइसोलेसन आवश्यक हुन सक्छ । तसर्थ आइसोलेसनलाई तयारी अवस्थामा राख्न स्थानीय तह र अस्पताललाई निर्देशन दिएका छौं ।’

    स्वास्थ्य सतर्कता अपनाएमा जटिल समस्या नभएकालाई संस्थागत आइसोलेसनको तुलनामा होम आइसोलसन उपयुक्त हुने म्याग्दे गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख तिलक घिमिरे बताउँछन् । उनी भन्छन्, ‘घरमा खानपिन र बसाईको व्यवस्थापन राम्रो हुन्छ । परिवारको निगारानी पनि हुन्छ । तर, होमआइसोलेसनमा बस्नेले सर्तकता अपनाउनु पर्दछ ।’ होम आइसोलेसनमा बसेकाले लापरवाही गरेको खण्डमा टोल छिमेकमा संक्रमण फैलने जोखिम बढी हुने घिमिरेको भनाइ छ ।

    जिल्लाका १० स्थानीय तहले पहिलो लहरमै आइसोलेसन तयार पारेका थिए । स्थानीय तहको आइसोलेसन प्रयोगमा भने उतिसारो आउन सकेका छैनन् । पहिलो र दोस्रो लहरमा जिल्लाका अधिकांश संक्रमित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बेलचौतारा र दमौली अस्पतालको आइसोलेसनमा बसेर निको भएका थिए ।

    हाल जिपीमा पाँच बेड आइसियु र तीन बेड भेन्टिलेटर सहित ३० बेडको आईसोलेसन छ । यहाँ जिल्लाका स्थानीय तह मिलेर छुट्टै आईसोलेसन भवन बनाइदिएका छन् । यस्तै, दमौली अस्पतालले पनि सात बेड आइसियु र चार भेन्टिलेटर सहितको २५ बेड क्षमताको आइसोलेसन सञ्चालन गरेको छ ।

    जिल्लामा वैशाखयता छ हजार १३७ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये पाँच हजार २६२ जना निको भएका छन् । वैशाखयता मात्र कोरोना संक्रमणका कारण १३१ जनाको मृत्यु भएको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend