काठमाडौं, १४ माघ – राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. गोविन्दराज पोखरेलले स्थानीय निर्वाचन समयमै गर्नुपर्ने बताएका छन्। कम्युनिस्टको पछि लागेर लोकतन्त्रको जग बलियो नहुने भन्दै उनले समयमै चुनाव गर्दा लोकतन्त्र झन् बलियो हुने बताएका हुन् ।
‘२०१६ सालमा स्थानीय निर्वाचन गरी प्रजातन्त्र बलियो बनाउन बल्क डेभलोमेन्ट अफिसर खटाएर स्थानिय चुनाव गर्ने तयारी गरिरहँदा संसदीय व्यवस्था खोसियो’ पोखरेलले भने, ‘यदि गरेको भए राजाले सजिलै प्रजातन्त्र हडप्न सक्ने थिएनन्।’
२०४९ सालमा चाक्सीबारी बैठकमा शीर्ष नेतृत्वले चुनाव नगर्ने भन्दा स्वर्गीय पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले एक्लै निर्वाचनमा गएर ७५ मध्ये ६० भन्दा बढी जिल्लामा जितेको स्मरण गर्दे पोखरेलले सो कुरा बताएका हुन् ।
तत्कालिन माओवादीले खारेज गर्न खोजेका स्थानीय निकायको निर्वाचन २०५९ सालमा नगर्दा लोकतन्त्रको जग कमजोर भएको समेत पोखरेलले बताए । लोकतन्त्रको जग बलियो बनाउन सबैभन्दा महत्वपुर्ण स्थानीय सरकारको निर्वाचन नै रहेको भन्दै सरकारले कम्युनिस्टको लहलहैमा लागेर निर्वाचन सार्नु नहुने पोखरेल बताउँछन् ।