पोखरा, १५ माघ – इतिहास एक पटक लेखिन्छ पटक पटक होइन । तर खेलकुदमा भने त्यो भनाइ कमै हुने गर्छ । खेलकुमा एक व्यक्तिले अनेक इतिहास रच्न सक्छन् । तीनै इतिहास रच्न सफल व्यक्ति हुन कुमार थापा ।
कुमार थापा आफ्नो समयमा प्राविधिक रुपमा निपुर्ण मिडफिल्डर हुन् । उनको समयमा उनी जस्तो मिडफिल्डर कोहि थिएनन् । बल जहाँ भन्यो त्यही फ्याकिदिन सक्ने खुवी उनमा थियो । २०६० सालमा मनाङले आहा गोल्डकपमा पहिलो उपाधी चुम्दैगर्दा उनले टोली सम्हालेका थिए । उनको कप्तानीमा रहेको मनाङले फाइनलमा नेपाल पुलिस क्लबलाई ३–१ को फराकिलो गोल अन्तरले हराउन सफल भएको थियो ।
पुर्व राष्ट्रिय टोलीका सदस्य समेत रहेका थापाले दिलाएको उपाधी मनाङको लागि भाग्यमानी सावित भइदियो । त्यसपछि मनाङले ६ पटक उपाधी जितिसकेको छ । तर उनी एक सिजनमात्रै मनाङमा रहे । त्यसपछि भने उनले कहिल्यै खेलाडी बनेर उपाधी छुन पाएनन् ।
प्रतियोगिताको २ दशकमा आउँदा उनले फेरी अर्को इतिहास रच्ने सुनौलो अवसर प्राप्त गरेका छन् । मनाङबाट होइन एपिएफबाट । संयोग पनि कस्तो जुरेको क्लबले दुई दशक निरन्तर फुटबल प्रतियोगिता गरिरहेको अवस्थामा उपाधी चुम्नका लागि जुन टिमबाट उपाधी चुमेका थिए सोही टिमलाई हराउँदै इतिहास रच्ने । अर्को भनेको एपिएफमा मुख्य प्रशिक्षकको लागि जारी सिजनमै डेब्यु गरिरहेका छन् ।
त्यसैलेपनि उनको यो ऐतिहासिक क्षण पक्कै हो । २ दशककसम्म सहभागिता जनाउँदा समेत अहिलेसम्म उपाधी जित्न नसकेको एपिएफ उनको आगमनसंगै फाइनल प्रवेश गरेको छ । एपिएफको २ दशकको यात्रामा २ पटक नै फाइनल प्रवेश गरेको हो ।
कुमार थापाले आहा रारा गोल्डकपको शिल्ड छोएका छैनन् । १८ वर्षदेखी नछोएको शिल्ड शुक्रबार पोखरा रंगशालामा राख्दा उनले छोएनन् त्यतिमात्र होइन हेरेनन् पनि । शुक्रबार खेल पुर्व फाइनल खेलका लागि राखिएको सम्मेलनमा उनले उपाधी छोएनन् ।

‘माया लाग्यो छुनलाई भोलि स्पेशल दिन हो । त्यहि भएर एउटा सेन्टिमेन्ट र एमोसन जोडिएको छ’ उनले थपेँ, ‘लिगमा पनि मैले शिल्डलाई त्यसरी नै हेरेँ । २०६२ सालमा लिग जिते त्यसपछि छोएको थिइन् । मज्जाले हेरेँ । राम्रो मान्छेलाई अगाँलो हाल्न मन लागेझै मलाई पनि भोलि एकैपटक अगाँलो हाल्न मन छ ।’
सहाराले २ दशकसम्म प्रतियोगिता जारी राख्नुनै ठुलो कुरा भएको उनी बताउँछन् । ‘सहारा क्लबले प्रतियोगिता गरेको छ र पो मैले पनि जोडिन पाएँ । फुटबलमा मुख्य कुरा भनेकै निरन्तरता हो’ उनले भने,‘म पनि फुटबलमा निरन्तर लागेको छु । भलै त्यो फरक फरक क्लब किन नहोस । अर्को कुरा भनेको त्यो वितेका कुरा हुन । अहिले के छु भन्ने कुरा हो । फुटबल भनेको पास्टमा हुदैँन (वितेको समयमा) । फुटबल भनेको राइट नाउ हो हामीले प्रुभ गर्नै पर्छ ।’
उनी दोस्रो पटक इतिहास रच्न पाएकोमा भाग्यमानी भएको महसुस गर्छन् । तर इतिहास रचिन्छ की रचिदैँन त्यो भने भोलिको खेल सकिएपश्चात मात्रै थाहा हुन्छ ।
इतिहास रच्ने मौका र अवसर कमैमात्र हुने उनको भनाइ छ । इतिहास एकपट मात्रै रचिने र त्यसपछि भनेको रेकर्ड तोडिने काम मात्रै हने उनी बताउँछन् । ‘म कति भाग्यमानी रहेछु । प्रत्येक चोटी खेल्दाखेरी इतिहास रच्न पाउनु भनेको कमै मान्छेले मात्र पाउँछ ।’
उनी अलिहेको दर्शक हेर्दा आफुले उपाधी जित्दा नजन्मिएको कल्पना गर्दै भन्छन्,‘ अब १४ वर्षपछि फाइनल प्रवेश गरेको छ । अब यहाँ फुटबल हेर्न आउने कतिपय दर्शक त त्यतिबेला जन्मिनुपनि भएको थिएन होला । इतिहास बनिरहँदैन ।’ थापा इतिहास बनाउ सक्षम हुने र नहुनेमा उनको टिमको मिहेनतले पनि भर पर्छ ।
उनको इतिहास कोर्ने पक्षमा नयाँ पुस्ताका खेलाडीको पनि महत्वपूर्ण योगदान रहनेछ । फाइनलमा मनाङलाई हराएमा मात्रै रचिने छ । तर, मनाङलाई हराउँन निकै कठिन देखिएको छ । एपिएफको पहिलो रोजाइका ४ खेलाडी फाइनल खेलमा प्रतिबन्धमा परेका छन् । दोहोरो पहेँलो कार्ड पाएकाले उनीहरुले फाइनल खेल गुमाउनेछन् । जसले गर्दा २ दशकमा दोस्रो पटक फाइनलमा प्रवेशमै सिमित एपिएफ हुने अनुमान समेत गरिएको छ ।
थापाले मनाङबाटै पोखरामा २०५४ सालतिर खुकुरी कप र २०५८ सालको क्याराभान गोल्डकप समेत खेलेका थिए । उनी मनाङबाट खुकुरी कप, क्याराभान गोल्डकप समेत खेले । उनले २०६२ सालसम्म मनाङको प्रतिनिधित्व गरिरहे । अहिले मनाङ विरुद्ध नै खेल्दै अर्को सुनौलो अक्षर कोर्ने यात्रामा उनी छन् ।