बागलुङ, १७ माघ – कोरोनाको संक्रमण उकालो लागेपनि सार्वजनिक सेवा नरोकिने सरोकारवालाले बताएका छन् । प्रेस चौतारी नेपाल, बागलुङ शाखाले आयोजना गरेको कोरोनाको तेस्रो लहर व्यवस्थापन र सार्वजनिक सेवा प्रवाह विषयक अन्तक्र्रियामा सरोकार पक्षका अगुवाले सेवालाई वैकल्पिक माध्यमबाट प्रवाह गरिएको जानकारी दिए ।
आइतवार भएको कार्यक्रममा बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले अत्यावश्यक पर्दा सेवा दिएको तर संक्रमणको जोखिमले कार्यालय बन्द गर्नु परेको जानकारीदिए । उनले संकटमा राज्य कडा हुनुपर्ने भन्दै संघिय सरकारले काम नगरेको आरोप लगाए । ‘कार्यविधिमा भएपनि नभएपनि हामीले काम गरेका छौं, तर संघीय सरकारले काम नगरेकोले सेवाग्राही मर्कामा छन्’, उनले भने, ‘विद्यालय बन्द गर्नु परेको थिएन, हामीले संक्रमणको जोखिम भएको स्थान छानेर बन्द गर्ने भनेका थियौं, संघीय सरकारले गर्दा सबै बन्द गर्नु परेको हो ।’ उनले वोर्डर र एयरपोर्टमा सर्तकता राख्न नसकेको भन्दै सरकारको आलोचना गरे ।
कार्यक्रममा सहायक प्रअिज गणेश पौडेलले सेवा प्रवाह रोकिंदैन, तर भीड गरेर नभइ, मापदण्ड पालना गरेर गर्न सबै क्षेत्रमा निर्देशन समेत गरेको बताए । निशेधाज्ञा लगाएपछि पनि कतिपय स्थानमा जनप्रतिनिधिको वेवास्ताले मेला महोत्सव भएको उनले बताए । ‘यता आएर भीड नगर्ने शर्तमा सही गर्ने, पछि उता गएर नेता नै सहभागी भएर भाषण गर्ने’, पौडेलले भने, ‘तर संकटमा आवश्यकता भन्दा राज्य केही निर्मम बन्नुपर्छ ।’ रोग लागेको व्यक्तिलाइ सेवा दिंदा आफू पनि संक्रमणमा पर्न सकिने भएर सचेत बन्नु परेको बताए ।
उक्त अवसरमा धौलागिरि अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. शैलेन्द्र पोखरेलले अस्पतालमा बिरामीको चाप कम भएकोले समस्या नभएको बताए ।‘संक्रमण बढीरहेपनि जटिल बिरामी नभएर सहज छ’, उनले भने, ‘होम आइसोलेसन बस्ने र समस्या पर्दा चिकित्सकको सहयोग लिनु बुद्धिमानी हुनेछ ।’ सेवाप्रवाहमा भीड नगर्न उनले सुझाव दिए ।
उक्त अबसरमा स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले जिल्लाको कोभिडको तथ्यांक प्रस्तुत गरेका थिए । उनले स्वास्थ्य कार्यालयल सचेतनाका अभियान संचालन गर्ने, जिल्ला कोभिड संकट व्यवस्थापन समितिमा तथ्यांक प्रस्तुत गरेर प्राविधिक सहयोगसमेत गरिरहेको बताए ।
भीड नगरी सेवा प्रवाह गर्न सुझाएको समेत उनले स्मरण गरे । प्रेस चौतारी नेपाल, बागलुङका अध्यक्ष नविन शिशिर बिकको अध्यक्षता, सहसचिव अर्जुन कार्कीको संचालन र उपाध्यक्ष सिर्जना पन्तको स्वागतमा सम्पन्न कार्यक्रममा केन्द्रीय सदस्य तारानाथ आचार्यले कार्यक्रमबारे जानकारी गराएका थिए । कार्यक्रममा पत्रकारको जिज्ञाशाको पनि संस्थाका अगुवाले जवाफ दिएका थिए ।