नवलपुर, १७ माघ – गण्डकी प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री मधुमाया अधिकारी गुरुङले कोभिडका कारण मृत्यु भएका व्यक्तिका परिवारलाई राहत उपलब्ध गराउन प्रदेश सरकार गृहकार्यमा लागेको बताएकी छन् । राहत उपलब्ध गराउने देखिएको समस्या कार्यविधि संशोधन गरेर सल्टाउन पहल भएको उनले सुनाइन् ।
आइतबार नवलपुरमा आयोजित कोभिड १९ खोपसम्बन्धी परामर्श बैठकमा मन्त्री गुरुङले पिसीआर परिक्षणमा कोभिड पुष्टि भई मृत्यु भएकाका परिवारका सदस्यलाई सहयोग पुगोस् भन्ने हेतु राहतको व्यवस्था मिलाउने पक्षमा सरकार रहेको बताएकी हुन् ।
उनले संक्रमणपछि हुनसक्ने जटिलताबाट जोगिन खोपको अर्को विकल्प नभएकाले पनि सरकारले सेवा प्रदान गरिरहेका उमेरसमूहका नागरिकले खोप लगाएर आफूलाई सुरक्षित राख्न आग्रह पनि गरिन् ।
मन्त्री गुरुङले नागरिकको स्वास्थ्यप्रति संवेदनशील भएर काम गरिरहेको जिकिर गर्दै आधारभूत स्वास्थ्य सेवामा विपन्न तथा ज्येष्ठ नागरिकले निःशुल्क स्वास्थ्य बिमाको दायरामा आउन र सवै नागरिकले स्वास्थ्य विमामार्फत्को सेवाबाट लाभ उठाउन समेत आग्रह गरिन् ।
सो अवसरमा जिल्ला समन्वय समिति नवलपुरप्रमुख चेसराम आले, प्रमुख जिल्ला अधिकारी सुमन घिमिरे, सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बराल, स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशवप्रसाद चापागाई, जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख प्रज्वल महर्जनलगायतले यहाँको स्वास्थ्य क्षेत्रमा रहेको समस्या, भएका प्रगति सहित कोभिड महामारीको नियन्त्रणमा भएका प्रयत्न, नागरिकमा रहेको भ्रम तथा सचेतना, स्वास्थ्य क्षेत्रको सुधारका लागि सरकारले लिनुपर्ने अपनत्वका बारेमा चर्चा गरेका थिए ।