डेनमार्क सरकारले कोरोना महामारी नियन्त्रणका लागि लगाइएका सबै प्रतिबन्ध आज फेब्रुअरी १ देखि हटाएको छ। यो सँगै डेनमार्फ कोरोना कालअघिको समयमा फर्कने भएको छ।
‘अब हामी कोरोनाको छायाँबाट बाहिर निस्कने छौं। हामी मुलुकलाई नयाँ समयमा लैजाने छौ,’ प्रधानमन्त्री मेट्टे फ्रेडरिक्सनले सबै प्रतिवन्ध फुकुवा गर्दै भनेकी छन्।
जनतालाई सामान्य जनजीवनमा फर्काउने सरकारको योजना रहेको भन्दै उनले क्रिटिकल फेजबाट गुज्रिरहेको मुलुक अब कोरोनाअघिको दैनिकीमा फर्किएको दाबी गरिन्।
यो सँगै डेनमार्कमा आजदेखि कोभिड–१९ लाई सामाजिक रूपमा गम्भीर रोगको रूपमा वर्गीकृत गरिने छैन। होटल, रेस्टुरेन्ट, बारलगायत मनोरञ्जनका क्षेत्रहरु तथा खेलकुदका गतिविधिलगायत घरेलु कार्य पूर्ण रुपमा खुल्ने छन्। मास्क अनिवार्य रुपमा लगाउनुपर्ने छैन। सामाजिक दुरी पनि अनिवार्य छैन। यात्रा पनि खुकुलो पारिएको छ।
स्वास्थ्यमन्त्री म्याग्नस ह्युनिकले केही समयअघि सांसदहरूलाई पत्र लेख्दै पछिल्लो अवस्थाको जानकारी दिँदै प्रतिबन्ध हटाउन अनुरोध गरेका थिए। त्यसपछि सरकारले सबै संसदीय दलसँगको बैठक बसेर कोरोनालाई सामाजिक रुपमा गम्भीर रोगको वर्गीकरणबाट हटाउँदै प्रतिबन्ध खुला गर्ने निर्णय गरेको हो।
स्वास्थ्य अधिकारीका अनुसार ओमिक्रोन कोरोनाको नयाँ भेरियन्ट हो। यो लगभग पूर्ण रूपमा प्रभावशाली भए पनि कम रोगजनक छ। खोप र संक्रमण दुवैबाट जनसंख्यामा उच्च प्रतिरोधात्मक क्षमता छ। त्यसैले प्रतिबन्ध हटाइएको हो।
डेनमार्कमा कम्तीमा ८० प्रतिशत जनसंख्या नियम पालनादेखि निदानसम्म सुरक्षित रहेको स्वास्थ्य मन्त्रालयले बताएको छ। ६० प्रतिशतभन्दा बढी नागरिकले तेस्रो डोज भ्याक्सिन लगाइसकेका छन्। डेनमार्कको जनसंख्या झण्डै ६० लाख छ।
विश्व स्वास्थ्य संगठनबाट मान्यता प्राप्त ९ खोपमध्ये जुनसुकै खोप लगाएका मानिसहरू अब संसारभरबाट डेनमार्कमा प्रवेश गर्न सक्नेछन्।
सरकारले स्वास्थ्यको ख्याल गर्दै डिसइन्फेक्सन प्रयोगलाई प्रोत्साहन जारी रहने, अस्पतालहरू र वृद्धहरूको हेरचाहमा ध्यान दिनुपर्नेमा जोड दिएको छ।
‘अझै पनि कमजोर स्वास्थ्य भएका व्यक्तिले ख्याल राख्नुहोस् सही कारणसहित कोरोनाको संक्रमणबाट बच्न चाहने नागरिकप्रति सचेत र ख्याल गर्न सबैलाई आग्रह गर्छु,’ प्रधानमन्त्री मेट्टेले पत्रकार सम्मेलनमा भनेकी थिइन् ।
कोरोना संक्रमणको दर जनवरी मध्यतिर ह्वातै बढेको थियो भने महिनाको अन्त्यतिर घट्दै गएको छ। जनवरीको सुरूमा अस्पतालमा भर्ना हुने संख्या १६ प्रतिशतले बढेको थियो यद्यपि केसहरू ३५ प्रतिशतले बढेको थियो।
तर, गहन हेरचाह उपचारका व्यक्तिहरूको संख्या घटेको छ। डेनमार्कका अस्पतालमा कोरोनाका बिरामीहरूको संख्या अहिले झण्डै १ हजार रहेको स्वास्थ्य मन्त्रालयको तथ्याङ्क छ ।