२५ भाद्र २०८३ , बिहिबार

२५ भाद्र २०८३ , बिहिबार
  • २५ भाद्र २०८३ , बिहिबार
  • September 10 2026

पेट्रोलियम पदार्थको मूल्य इतिहासकै महँगो


जनमञ्च संवाददाता
  • १९ माघ २०७८ , बुधबार

  • पेट्रोलियम पदार्थको मूल्य इतिहासकै महँगो

    काठमाडौं, १९ माघ – निगमले मंगलबार रातिदेखि लागू हुने गरी पेट्रोलको प्रतिलिटर एक सय ४२ रुपैयाँ तथा डिजेल र मट्टीतेलको एक सय २५ रुपैयाँ मूल्य कायम गरेको छ । यो मूल्य इतिहासकै उच्च हो ।

    निगमका अनुसार पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर तीन–तीन रुपैयाँ वृद्धि गरिएको छ । मंगलबार मूल्य समायोजन गर्दा ग्यासको मूल्य १५ सय ७५ नै यथावत् राखिएको छ । तर, यो मूल्य पनि अहिलेसम्मकै उच्च हो । आन्तरिक हवाई इन्धनको प्रतिलिटर १० रुपैयाँ बढाएर एक सय १६ रुपैयाँ तथा बाह्य हवाई इन्धनको प्रतिकिलोलिटर सय डलरले बढाएर एक हजार ९५ डलर निर्धारण गरिएको छ ।

    यसअघि ३० फागुन ०७० मा कायम पेट्रोलको मूल्य मंगलबारसम्म सबैभन्दा बढी थियो । त्यतिवेला एक सय ४० रुपैयाँ कायम गरिएको पेट्रोलको मूल्य आठ वर्षपछि तोडिएको हो । त्यतिवेला प्रतिलिटर एक सय नौ रुपैयाँ तोकिएको डिजेल र मट्टीतेल भने यसबीचमा पटक–पटक महँगिँदै आएको छ ।

    ३० फागुन ०७० मा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलका भाउ प्रतिब्यारेल एक सय सात डलरआसपास थियो । तर, डलरको विनिमय दर भने अहिलेको तुलनामा धेरै कम थियो । जसकारण कच्चा तेलको अन्तर्राष्ट्रिय मूल्य धेरै भए पनि डलरको सटही दर कम भई नेपालमा मूल्यवृद्धिको ठूलो असर परेको थिएन । निगमले बिस्तारै मूल्य घटाउँदै गरेको थियो ।

    अहिले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ निरन्तर बढेका कारण नेपाली बजारमा मूल्य समायोजन गर्नुपरेको निगमको तर्क छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य निरन्तर बढेर सोमबार ९१.२१ डलर प्रतिबिन्दुसम्म पुग्यो । मंगलबार साँझ भने ८८.६१ डलर प्रतिब्यारेलमा झरेको छ ।

    चालू आर्थिक वर्षमा मात्रै निगमले मंगलबारसहित पाँचौँपटक मूल्य समायोजन गरेको हो । यसअघि ७ भदौ, १२ कात्तिक, २४ कात्तिक र ५ माघमा मूल्यवृद्धि गरेको थियो । यस अवधिमा पेट्रोल, डिजेल र मट्टीतेल समान १४ रुपैयाँ र आन्तरिक हवाई इन्धनको ३० रुपैयाँ प्रतिलिटर मूल्यवृद्धि भइसकेको छ । बाह्य हवाई इन्धन प्रतिकिलोलिटर तीन सय २५ डलर र खाना पकाउने एलपी ग्यास एक सय २५ रुपैयाँ प्रतिसिलिन्डरले महँगिएको छ ।

    मूल्य बढाउँदा पनि १५ दिनमा सवा दुई अर्ब घाटा हुन्छ : विनीतमणि उपाध्याय, प्रवक्ता, आयल निगम

    इन्डियन आयल कर्पोरेसन (आइओसी)ले मंगलबार दिउँसो नयाँ मूल्य पठाउँदा पेट्रोल ४.९२ रुपैयाँ, डिजेल ७.२४ रुपैयाँ, मट्टीतेल ८.८० रुपैयाँ र हवाई इन्धन ७.४८ रुपैयाँ प्रतिलिटरका दरले बढेर आएको छ । तर, घाटा सहेर भए पनि थोरै मात्र मूल्य बढाई मूल्य निर्धारण गरेका छौँ ।

    यसपटक ग्यासको भाउ भने ८१.६२ रुपैयाँ प्रतिसिलिन्डर घटेर आएको छ, निगमलाई अझै प्रतिसिलिन्डर ५६०.९ रुपैयाँ नोक्सान रहेकाले मूल्य यथावत् राखेका हौँ । बढेको मूल्यमा बिक्री गर्दा पनि आगामी १५ दिनमा पेट्रोलमा ४३ करोड, डिजेलमा एक अर्ब एक करोड र ग्यासमा एक अर्ब नोक्सान हुन्छ ।

    मट्टीतेलमा दुई करोड, आन्तरिक हवाई इन्धनमा तीन करोड र बाह्य हवाई इन्धनमा भने १६ करोड नाफा हुन्छ । समग्रमा निगमलाई १५ दिनमा दुई अर्ब २३ करोड रुपैयाँ नोक्सान रहने देखिन्छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend