११ साउन २०८३ , सोमबार

११ साउन २०८३ , सोमबार
  • ११ साउन २०८३ , सोमबार
  • July 27 2026
आइतबारदेखि मौसम सुधार

असिनासहित वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध


जनमञ्च संवाददाता
  • १९ माघ २०७८ , बुधबार

  • असिनासहित वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

    काठमाडौं, १९ माघ – बुधबार रातिदेखि नेपालको मौसममा पश्चिमी न्यूनचापीय प्रणाली भित्रिने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार रातिदेखि पश्चिम नेपालबाट प्रवेश गर्न लागेको उक्त प्रणालीको प्रभावले केही दिन मौसममा आंशिकदेखि पूर्ण बदली रहने भएको छ ।

    पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आगामी शनिबारसम्मै बदली, वर्षा र हिमपात हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

    यो अवधिमा बदलीसँगै असिनासहितको वर्षा र हिमपातको सम्भावना भएकाले हवाई क्षेत्र, पर्वतारोहण, कृषि, यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने सम्भावना छ ।

    त्यसैले जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्द सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ ।

    आइतबारदेखि भने यो मौसम प्रणाली कमजोर हुँदै मौसममा क्रमिक सुधार हुने मौसमविद वरुण पौडेलले जानकारी दिए ।

    पौडेलका अनुसार बुधबार रातिदेखि सुदूरपश्चिम प्रदेशबाट यो प्रणाली भित्रिने छ । यसको बढी असर काठमाडौं उपत्यकामा बिहीबार रातिदेखि देखिने छ । शुक्रबार दिनभर घाम लाग्ने छैन ।

    ‘काठमाडौं उपत्यकाको हकमा शुक्रबार धुम्म हुन्छ, वर्षा हुन्छ, कतैकतै भारी वर्षा पनि होला,’ मौसमविद पौडेलले भने ।

    शनिबार दिउँसोदेखि भने सुदूरपश्चिम क्षेत्रको आकाश विस्तारै खुल्ने छ । तर मध्य र पूर्व क्षेत्रमा भने यसको असर बाँकी नै रहने उनले बताए ।

    कुन दिन, कहाँ, कस्तो प्रभाव पर्छ ?

    यस प्रणालीको प्रभावले बिहीबारको दिन पहाडी तथा तराईका धेरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    यस दिन सुदूर–पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानहरुमा तथा बागमती प्रदेश र प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना छ ।

    शुक्रबारको दिन देशका पहाडी तथा तराईका धेरै स्थानहरुमा असिना सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको विशेष बुलेटिनमा उल्लेख छ । मौसमविद पौडेलले मध्यम खालको असिना पर्न सक्ने बताए ।

    यस दिन देशका उच्च पहाडी तथा हिमाली भेगका धेरै स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ । साथै गण्डकी तथा लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ ।

    शनिबारको दिन गण्डकी प्रदेश, बागमती प्रदेश र प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संभावना रहनुको साथै उक्त प्रदेशका पहाडी तथा तराई भेगका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमी बुलेटिनमा उल्लेख छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend