९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026
प्रदेश अधिवेशन स्थानीय चुनावपछि मात्रै 

एमसीसीबारे एमाले नीति: तत्कालै नबोल्ने, संसद पनि नखोल्ने


जनमञ्च संवाददाता
  • १९ माघ २०७८ , बुधबार

  • एमसीसीबारे एमाले नीति: तत्कालै नबोल्ने, संसद पनि नखोल्ने

    काठमाडौं, १९ माघ – प्रमुख प्रतिपक्षी नेकपा एमालेले अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बारे तत्कालै औपचारिक धारणा नबनाउने भएको छ।

    इन्डो प्यासिफिक सैन्य रणनीतिसँग जोडिएको भनिएको एमसीसी पास गर्ने नाममा सत्तारुढ पाँच दलमा चर्को विवाद भइरहेका बेला एमालेले भने प्रतिपक्षका रुपमा अलग्गै बसेर हेरिरहने भएको छ।

    एमाले केन्द्रीय सचिवालयको बुधबार भक्तपुरको जर्मन हस्पिटालिटीमा बसेको बैठकमा एमसीसीबारे कुनै छलफल नै नभएको जानकारी पार्टीका प्रचार विभाग प्रमुख एवम् उपमहासचिव पृथ्वीसुब्बा गुरुङले दिएका छन्।

    उपमहासचिव गुरुङले एमसीसीबारे प्रतिपक्षमा रहेको दलले अहिले नै बोल्नु हतार हुने बताए। ‘आजको सचिवालय बैठकमा एमसीसीबारे कुनै छलफल नै भएन। यो बैठकमा हाम्रो आन्तरिक नीति नियमावली पारित गर्न बसेकाले एमसीसी एजेण्डा हुने कुरा पनि भएन’, गुरुङले अगाडि भने, ‘एमसीसी पास गर्ने नगर्ने सबै जिम्मेवारी अहिले सत्तारुढ गठबन्धनको काँधमा छ। यसबारे हामी अहिले औपचारिक रुपमा कुनै निर्णय लिँदैनौँ।’

    सञ्चारकर्मीले उपमहासचिव गुरुङलाई एमसीसीसम्बन्धमा कांग्रेससँग एमालेले बढाएको निकटताबारे पनि जिज्ञासा राखेका थिए। ‘कांग्रेस सभापति शेरबहादुर देउवाले हाम्रा अध्यक्षसँग भेट्नु भयो। कुराकानी पनि भएको हो। तर एमसीसीबारे हाम्रो पार्टीले अहिले सरोकार राखेको छैन’, उनले भने, ‘प्रतिपक्षीका रुपमा हामी सरकारले संसदमा एमसीसी ल्याएपछि मात्रै हामी छलफल गर्छौँ। सरकारले टेबुल गरेमा साथ दिने या नदिने त्यतिखेरै निर्णय लिन्छौँ।’

    संसद नखोल्ने 
    यही माघ १६ गतेका लागि डाकिएको प्रतिनिधिसभाको बैठक कोरोना महामारीलाई कारण देखाउँदै आगामी माघ २६ गतेसम्मलाई स्थगित गरिएको छ। गत भदौदेखि संसदमा दुवै सदनमा एमालेको अवरोध रहेको अवस्थामा एमसीसी पनि तत्कालै टेबुल गर्न जटिलता देखिएको छ।

    यस्तोमा एमालेको सचिवालय बैठकले चार महिनादेखि संसदमा गरिरहेको अवरोधलाई तत्काल नखोल्ने संकेत गरेको छ।सचिवालय बैठकमा संसद खोल्ने विषयमा कुनै कुरा नै भएको उपमहासचिव गुरुङले बताएका छन्। ‘आजको सचिवालय बैठकमा संसद खोल्ने विषयमा केही कुरा नै भएन’, उनले भने, ‘यो बैठकमा संसद हाम्रो एजेण्डा पनि थिएन। त्यही भएकाले छलफल हुने कुरा पनि भएन।’

    गुरुङले संसद खोल्ने या नखोल्ने विषयमा ठोस जवाफ पनि दिएनन्। ‘संसद खोल्ने नखोल्नेबारे हामीमाझ कुरा भएकै छैन’, उनले भने, ‘यसबारे कुनै छलफल नभएकाले जवाफ दिइरहनु आवश्यक नै भएन।’ राष्ट्रियसभा निर्वाचन सकिएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा एमसीसी पास गराउने जोडबल गरिरहेका छन्।

    आगामी फेब्रुअरी २८ तारिखभित्र एमसीसी पास गराउने गरी उनी गठबन्धनमा छलफल गरिरहेका छन्। तर गठबन्धनकै माओवादी केन्द्र र एकीकृत समाजवादी तयार नहुँदा देउवालाई समस्या परेको छ

    यस्तोमा उनले एमालेसँग पनि छलफल बढाइरहेका छन्। देउवाले एमसीसी संसदमा लैजान पनि एमालेले कम्तीमा संसद खोलिदिनु पर्ने हुन्छ।

    आफ्ना १३ सांसदमाथि गरिएको कारबाही सभामुख अग्नि सापकोटाले सदर नगरेको भन्दै एमाले रुष्ट छ। यस्तोमा प्रधानमन्त्री देउवा एमालेसँग सहकार्य गराएर पनि एमसीसी सदनमा लैजाने विकल्पमा पनि छलफल गरिरहेका छन्। तर एमालेले तत्कालै सदन खोल्नेबारे देउवालाई कुनै संकेत गरेको छैन।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend