९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

एमसीसीलाई स्थानीय चुनावपछि अगाडि बढाउने प्रचण्डको नयाँ प्रस्ताव


जनमञ्च संवाददाता
  • २० माघ २०७८ , बिहिबार

  • एमसीसीलाई स्थानीय चुनावपछि अगाडि बढाउने प्रचण्डको नयाँ प्रस्ताव

    काठमाडौं, २० माघ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धनमा अमेरिकी आर्थिक सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) बारे दुई विकल्प अगाडि सारेका छन्। प्रचण्डले पाँच दलीय गठबन्धन बैठकमा दुई विकल्प सारेका छन्।

    ती दुई विकल्पमध्ये पहिलो, चुनावपछि मात्रै एमसीसी सम्झौता अघि बढाउने। र, अर्को सम्झौताका विषयवस्तु नै परिमार्जन गर्ने।

    बिहीबार चार घण्टासम्म चलेको माओवादी केन्द्र कर्णाली प्रदेश कमिटी बैठकलाई भर्चुअल सम्बोधन गर्दै प्रचण्डले एमसीसी सम्झौतालाई आगामी चुनावपछि मात्रै अघि बढाउने लगभग समझदारी भएको बताए ।

    अर्को विकल्प सम्झौताका ‘कन्टेन्ट’ नै परिमार्जन गरेर अर्कै स्वरुपमा ल्याउने विकल्पमाथि छलफल भइरहेको बताएको एक नेताले बताए ।

    ‘एमसीसी संशोधन गरेर मात्रै पास गर्नुपर्छ भन्ने हाम्रो पार्टीको अडानबाट तलमाथि हुने कुरै भएन,’ अध्यक्ष प्रचण्डले भने, ‘तत्काल संशोधन गर्न अमेरिकाले मानेको छैन। यस्तो बेला अब एमसीसी आगामी निर्वाचनपछि मात्रै अघि बढाउन प्रस्ताव गरेका छौँ।’

    प्रचण्डले नयाँ जनादेशपछिको सरकारले एमसीसी अघि बढाउने विकल्पमा छलफल भइरहेको बताएका छन्।

    ‘एमसीसी एउटा सहयोग हो, तत्काल पारित नगर्ने, पारित गर्नै परे चुनावपछि नयाँ जनादेशसहितको सरकारले अगाडि बढाउनेमा समझदारी बनेको छ।’

    आगामी जेठमा स्थानीय तहको निर्वाचन तयारी भइरहेको छ। प्रचण्डले स्थानीय तह मात्रै, होइन तीनवटै निर्वाचनसम्म गठबन्धन कायम राखेर जाने सहमति जुटिसकेको छ।

    ‘एमसीसीलाई गिजोलेर गठबन्धन तोड्ने प्रयास असफल पारिएको छ,’ प्रचण्डको भनाइ उद्धृत गर्दै केन्द्रीय सदस्य झकबहादुर मल्लले भने, ‘अब हामी नयाँ तरिकाबाट अघि बढेका छौँ।’

    भर्चुअल कार्यक्रममा माओवादीतर्फबाट सरकारमा रहेका दुई मन्त्री र दुई उच्च तहका नेताहरु पनि थिए।

    एमसीसीलाई फरक ढंगबाट अगाडि बढाउनुपर्ने हुनसक्ने पनि प्रचण्डले बताएका छन्।

    ‘त्यसमा रहेका कन्टेन्ट नयाँ राखेर फरक ढंगबाट पनि आउन सक्छ। प्रचण्डको भनाई उद्धृत गर्दै अर्का नेताले भने, ‘एमसीसीकै रुपमा नभएर यही योजना फरक बनाएर ल्याउने कि भन्ने प्रस्ताव पनि छ।’

    मध्यान्ह १२ बजेदेखि अपरान्ह ४ बजेसम्म चलेको भर्चुअल प्रशिक्षणमा प्रचण्डले पार्टीलाई बलियो र आफ्नै खुट्टामा उभिने बनाउन सबै लाग्नुपर्ने बताए।

    ‘एमसीसीकै कारण गठबन्धन तोडिने सम्भावना छैन,’ प्रचण्डको भनाइ थियो, ‘तर, आफ्नै खुट्टामा उभिएको बलियो र मजबुत पार्टी बनाउन सबै पार्टी पंक्ति दृढतापूर्वक उभिनुपर्‍यो। जनमत भएपछि जस्तासुकै युद्ध जित्न पनि सकिन्छ।’

    केन्द्रीय सदस्य मल्लका अनुसार अध्यक्ष प्रचण्डले २७ गतेका लागि बोलाइएको केन्द्रीय समिति बैठकले पदाधिकारी चयन गर्ने बताए।

    ‘२७ गतेको बैठकले हामी पार्टीका सबै पदाधिकारी चयन गर्छौं, स्वास्थ्य मापदण्ड पालना गरेर राख्ने त्यही बैठकबाट हामी चुनाव केन्द्रीत गतिविधि अगाडि बढाउने निर्णय लिन्छौँ,’ प्रचण्डले भने।

    माओवादी केन्द्रको कर्णाली प्रदेश कमिटीले स्थानीय तहको चुनावको लागि बिहीबारदेखि तीन महिने अभियान सुरु गरेको छ।

    ‘तपाईंहरु चुनावको तयारीमा लाग्नुस्, गठबन्धन बने पनि नबने पनि तीन महिने अभियानले जनतालाई हाम्रो पार्टीले उठाएका एजेण्डा, विकास निर्माणमा पार्टीले खेलेको भूमिकाबारे जानकारी दिनुस् र जनताको हुनुस्,’ प्रचण्डले निर्देशन दिँदै भने, ‘कम्तीमा जनताको घरघर हाम्रा कार्यक्रम पुर्‍याउन भूमिका खेल्नुस्।’

    पछिल्ला दिन एमसीसीलाई संसदमा अगाडि बढाउने कि रोकेर राख्ने विषयमा गठबन्धनमा विवाद छ।

    माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा तत्काल अगाडि बढाउने पक्षमा छैनन्।

    तर, सत्ता गठबन्धनकै कांग्रेस र जनता समाजवादी पार्टी तत्काल संसदमा लगेर प्रक्रिया अघि बढाउनुपर्ने पक्षमा उभिएका छन्।

    एमसीसी सम्झौताले गठबन्धनबीचमै समस्या ल्याएका बेला प्रधानमन्त्री देउवा, प्रचण्ड र नेपालबीच बुधबार दुई चरणमा छलफल भएको थियो।

    बुधबार साँझ भएको छलफलबाट एमसीसीलाई चुनावपछि अगाडि बढाउने समझदारी बनेको प्रचण्डले संकेत गरेका छन्।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend