पोखरा, २१ माघ – अधिवेशन सुरु भएको दुई महिना पछिमात्र नेकपा माओवादी शुक्लागण्डकी नगर कमिटीले पूर्णता पाएको छ । बिहीबार मतदानमार्फत नगर कमिटीले पूर्णता पाएको हो ।
नगर कमिटीको अध्यक्षमा मनराज गुरुङ निर्वाचित भएका छन् । गुरुङ निकटम प्रतिष्पर्धी शरण सापकोटालाई १५ मतान्तरले पराजित गर्दै नगर कमिटी अध्यक्ष बन्न सफल भएका हुन् । गुरुङले ३९ र सापकोटाले २४ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।
गुरुङले यसअगाडी नगर कमिटी सचिव र कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हालेका थिए । सापकोटा वाइसिएल तनहुँका इन्चार्ज हुन् । गुरुङलाई गण्डकी प्रदेश कमिटी सदस्य मुक्ति सिग्देल समुह र सापकोटलाई गण्डकी प्रदेशसभा सदस्य तथा माओवादी केन्द्रीय सदस्य आशा कोइराला समुहको आशीर्वाद थियो । मतदानमार्फत् अध्यक्षको टुंगो लगाउँदा गृहनगरमै केन्द्रीय सदस्य कोइराला समूह सिग्देल समुहभन्दा कमजोर देखिएको छ ।
पार्टीमा सिग्देल र कोईरालाको टसल रहेकोे चर्चा छ । नगर कमिटी अध्यक्षमा माओवादी केन्द्र जिल्ला समन्वय समिति सदस्य भद्रबहादुर खत्री (विष्णु) पनि उम्मेद्वार थिए । तर, अन्तिममा उनले उम्मेद्वारी फिर्ता लिए ।
६५ सदस्यीय नगर कमिटी भए पनि विश्वजित गौतम (दिनेश) र जौमाया वराल सुनारले नगर कमिटीबाट राजिनामा दिएर प्रदेश कमिटी सदस्य भएपछि ६३ मतदाताले अध्यक्ष र उपाध्यक्ष चयनका लागि मतदान गरेका हुन् ।
उपाध्यक्षमा राजु राना, रामचन्द्र भण्डारी र चेतनारायण पौडेल विजयी भएका छन् । रानाले सर्वाधिक ५४ मत पाउँदा भण्डारी र पौडेलले समान ४७ मत प्राप्त गरे । बुद्धीबहादुर खत्रीले २६ मत पाए । प्रथम नगर अधिवेशनमा जौमाया बराल सुनारले पनि उपाध्यक्षमा उम्मेद्वारी दिएकी थिइन् । प्रदेश सदस्य हुनलाई उनले उम्मेद्वारी फिर्ता लिइन् ।
सहसचिवमा विहीबार नै सुमन आले सर्वसम्मत भए । सहसचिवमा अनिष ढकाल, विनोद पौडेल र मिलन महतले उम्मेदवारी दिएर दावी प्रस्तुत गरिरहेका थिए । अन्ततः आले सर्वसम्मत सहसचिव बन्न सफल भए ।मंगलबार भएको बैठकले नगर कमिटीको सचिवमा जीवन पोखरेल र कोषाध्यक्षमा झ्यामकुमारी थापालाई चयन गरेको थियो । सचिवमा अनिल तिवारी र कोषाध्यक्षमा पहलसिं विकको उम्मेद्वारी परेको थियो ।
सर्वसम्मतका लागि दुबै ब्याक भए ।११ मंसिरमा देशभर एकसाथ माओवादीको प्रथम गाउँ तथा नगर अधिवेशन सुरु भएको थियो । आकांक्षी धेरै भएपछि अधिवेशन सुरु भएको दिन ६५ सदस्यीय शुक्लागण्डकी नगर कमिटी मात्र चयन भयो ।
१८ मंसिरलाई निर्वाचनको मिति तोकेपनि सर्वसम्मत नेतृत्व टुंगो लगाउने भन्दै हुन सकेन् ।
पार्टीको आन्तरिक गुटगत किचलोको कारण लामो समयसम्म पदाधिकारीको टुंगो लाग्न सकेको थिएन् । किस्ता किस्तामा पदाधिकारी चयन गर्दै शुक्लागण्डकी नगर कमिटीले पुर्णता पाएको छ । योसँगै तनहुँका १० वटै स्थानीय तहमा माओवादी केन्द्रको नयाँ नेतृत्व चयन भएको छ ।