काठमाडौं, २२ माघ – नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले देश विकास गर्ने जनताको सपनालाई सत्ता गठबन्धनले मूर्छित पार्ने काम गरेको आरोप लगाएका छन् । प्रेस चौतारी नेपालको स्थापना दिवसका शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले गठबन्धन सरकारले पूर्वाधार निर्माणलगायत कामहरु रोकेको भन्दै विकासको सपनालाई मूर्छित पार्ने काम गरेको आरोप लगाए ।
एमालेलाई समाप्त गर्ने बिषाक्त विचार बोकेर निर्माण भएको गठबधनलाई राष्ट्रिय स्वाभिमान र स्वतन्त्रताका मुद्दामा कुनै चासो नरहेको उनले बताए । पोखरेलले बर्तमान सरकार बनेपछि कालापानी र लिपुलेकलाई पनि अपनत्व दिन नसकेको तर्क गरे ।
एमालेले संघीयताको बलियो कार्यान्वयन चाहको भन्दै उनले संघीयता नचाहनेहरुलाई लिएर गठबन्धन दल अघि बढेको बताए । स्थानीय तहको चूनावको मिति घोषणा नगरेर परमादेश सरकारले संविधान र कानुन उलंघन गरेको उनको भनाइ छ । उनले स्थानीय तहको निर्वाचन समयमै नगराए जनपरिचालन गर्ने चेतावनी दिए ।
पोखरेलले संविधान र कानुनी व्यवस्था अनुसार स्थानीय तहको निर्वाचनको मिति सरकारले घोषणा नगरे त्यसको रक्षाका लागि पनि आफूहरुले सरकारविरुद्ध आन्दोलन गर्ने बताए ।
नेता पोखरेलले एमालेनिकट पत्रकारहरू ‘टु इन वान’ हुनुपर्ने बताए । ‘तपाईंहरू पत्रकार हो, त्यसैले तपाईंहरुसँग पत्रकारिताको पेसागत सीप, क्षमता, दक्षता र मर्यादा अनिवार्य छ,’ उनले भने, ‘तबमात्रै तपाईंहरूले नेकपा एमालेलाई समर्थन गरेको अर्थपूर्ण हुन्छ ।’ उनले आगामी दिनमा रचनात्मक कार्य गर्दै संगठनलाई अघि बढाउन निर्देशन दिए ।