९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026
गण्डकी प्रदेश सभा स्थापना दिवस

संसदीय दलका नेता र सांसदले नै दिएनन् चासो


जनमञ्च संवाददाता
  • २३ माघ २०७८ , आइतबार

  • संसदीय दलका नेता र सांसदले नै दिएनन् चासो

    पोखरा, २३ माघ – गण्डकी प्रदेश सभाको चौथो स्थापना दिवस शनिबार मनाइएको छ । सम्भव भएकालाई भौतिक उपस्थिति र नभएकालाई जुममार्फत् निमन्त्रणा गरेर स्थापना दिवस मनाइएको हो । दिवसलाई प्रदेश सभाका संसदीय दलका नेताहरु र सांसदहरुले भने महत्व दिएनन् ।

    स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई पूरा अवधि बसे । शुभकामना दिए । नेकपा माओवादी केन्द्र संसदीय दलका मुख्य सचेतक देव गुरुङ, एमाले केन्द्रीय कार्यालय सचिव एवं संविधान सभा सदस्य डा. भिष्म अधिकारीलगायत जुममा जोडिएका नेताहरु पूरा अवधि कार्यक्रममा बसे । शुभकामना दिए ।

    तर, गण्डकी प्रदेश सभाका सांसद र संसदीय दलका अधिकांश नेता जुम र भौतिक उपस्थिति दुबैमा देखिएनन् । स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा उद्घोषकले पहिला जनमोर्चाका संसदीय दलका नेता पियारी थापालाई बोल्न बोलाए । उनी भौतिक र जुममा पनि उपस्थित भइनन् । उनले मन्तव्य राखिनन् ।

    त्यसपछि उद्घोषकले जनता समाजवादी पार्टीका संसदीय दलका नेता एवं गण्डकीका जलस्रोतमन्त्री हरिशरण आचार्यलाई बोल्न समय दिए । आचार्य पनि उपस्थित भएनन् ।

    माओवादी केन्द्रका संसदीय दलका नेता हरिबहादुर चुमान पनि कार्यक्रममा सहभागी भएनन् । उनलाई पनि उद्घोषकले शुभकामना मन्तव्य राख्न भनेका थिए । भौतिक र जुम दुबैमा अनुपस्थित भएर चुमानले पनि कार्यक्रमलाई महत्व दिएनन् ।

    त्यसपछि गण्डकी प्रदेश सभाका सबैभन्दा ठूलो दल नेकपा एमाले गण्डकी संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङलाई शुभकामना मन्तव्य राख्न भनियो । गण्डकीका प्रथम मुख्यमन्त्रीसमेत रहेका गुरुङ पनि जुम र भौतिक उपस्थिति दुबैमा सहभागिता जनाएनन् । उनले शनिबार दिउँसो सामाजिक सञ्जालमा प्रदेश सभा स्थापना दिवसको शुभकामना दिए ।

    सभामुख नेत्रनाथ अधिकारीका अनुसार प्रदेश सभामा रहेका पाँचवटै दलका संसदीय दलका नेताहरुलाई उपस्थितिका लागि निमन्त्रणा गरिएको थियो । सबै संसदीय दलका नेताहरुलाई बोल्न समय दिने गरी उनीहरुसँग समन्वय गरेर कार्यक्रमको तालिका बनाइएको थियो ।

    ‘संसदीय दलका नेताहरुलाई भौतिक उपस्थिति वा जुम जहाँ उपयुक्त हुन्छ, त्यहीं जोडिन सक्ने गरी निमन्त्रणा गरिएको थियो,’ सभामुख अधिकारीले भने, ‘उहाँहरु किन उपस्थित हुनुभएन, उहाँहरुलाई नै सोध्नुपर्ला ।’

    प्रदेश सभा स्थापना भएको चौथो वार्षिकोत्सवमा आयोजित कार्यक्रममा प्रदेश सभाले पारित गरेका कानुन, संसदीय दलका गतिविधि लगायतका विषयमा छलफल र समिक्षा समेत गरिएको थियो । तर, संसदीय दलकै नेताहरु र सांसदले अनिच्छा देखाउँदा प्रभावकारी हुन नसकेको प्रदेश सभा सचिवालयका एक सदस्यले बताए ।

    ‘संसदीय दलका नेता र सांसदहरुले नै प्रदेश सभालाई महत्व नदिएको देखियो,’ ती सदस्यले भने, ‘प्रदेशलाई चलायमान बनाउन जसको भूमिका प्रमुख रहन्छ, उनीहरुलाई नै चासो नभएपछि अरुले झन् किन चासो दिन्थे र ।’

    बलियो बनाउ प्रदेश
    संसदीय दलका नेता र सांसदहरुले महत्व नदिएको कार्यक्रममा बोल्ने अधिकांश नेताहरुले भने प्रदेशलाई बलियो बनाउनुपर्ने तर्क दिए । पूर्वप्रधानमन्त्री भट्टराईले मुलुकको ठीक मध्यभागमा रहेको गण्डकी प्रदेशले राज्य निर्माणका लागि ठूलो योगदान पु¥याएको दावी गरे । उनले भने, ‘गण्डकीले सम्पादन गर्नुपर्ने दायित्व जहिले पनि अब्बल रहनुपर्छ ।’

    संघीयताको मर्म र भावनालाई बुझेर अगाडि बढ्नु जरुरी रहेको भन्दै उनले केन्द्रमुखी भावनाले संघीयता मारमा परेको बताए । उनले भने, ‘संघ सरकार अधिकार दिन चाहेको छैन, जुन विकासको वाधक बनेको छ ।’ प्रदेश पनि केन्द्रमुखी देखिएको उनको भनाइ छ । उनले भने, ‘प्रदेशले समेत संघको, केन्द्रको मुख ताकेको देखिएको छ, प्रदेशले शक्तिको प्रयोग गर्ने अभ्यास गर्ने हो, अधिकार प्रयोग गर्ने हो । तत्कालीन अञ्चलाधीश र बडाहाकिमको जस्तो व्यवहार अब देखिनु हुँदैन ।’

    केन्द्रले कानुन नबनाइदिएका कारण प्रदेशले कानुन बनाउन नपाएकोबारे आफूहरु गम्भीर रहेको उनको भनाइ थियो । उनले विकास र समृद्धि हो, राजवश्व केन्द्रमुखी छ, बजेट निर्माण पनि त्यही अनुसार गरिएका छ, यसले संघीयतालाई सबल बनाउन नदिँने भनाइ राखे ।

    सुरुआती अवस्थामा जे भए पनि अब ४० प्रतिशत संघ र ६० प्रतिशत रकम प्रदेश र स्थानीय तहमा जानुपर्ने भनाइ उनले राखे । ठूला पूर्वाधार बनिसकेपछि केन्द्रमा २० र तल ८० प्रतिशत बजेट बिनियोजन हुनुपर्ने उनको तर्क थियो ।

    गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मुलुकका ३ तहका सरकार स्थापनासँगै राज्यले नागरिकको नजिक पुग्ने प्रयास गरेको बताए । नागरिकले पनि सहजरुपमा नजिकैबाट सेवा पाएको भन्दै उनले प्रदेशले आफूलाई मजबुत गर्र्दै केन्द्रमा मात्र केन्द्रित हुनुपर्ने अवस्थाको अन्त्य गरेको भनाइ राखे ।

    उनले प्रदेश सभाले यो अवधिमा गरेको उपलब्धिको सरहाना गर्दै तर यसैमा चित्त बुझाएर नबस्न र अगाडि बढ्न आग्रह गरे । उनले भने, ‘प्रदेश सभामा सहभागी सबै राजनीतिक दलहरुले एकीकृत रुपमा पहल गर्न जरुरी छ, जसरी राजनीतिक दल एक भएर राजनीतिक परिवर्तन सम्भव भयो, अब त्यसको उपलब्धि जोगाउने दायित्व पनि दलहरुकै हो ।’

    गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेश सभा अस्तित्वमा आएपछिका ४ वर्ष सफलतापूर्वक बितेको दाबी गरे । सबै सदस्यहरुको अनुभव प्रयोग गर्दै सरल तरिकाबाट प्रदेशको नामकरण र राजधानी घोषणा गरेर परिपक्वता देखाएको उनले बताए ।

    कतिपय अवस्थामा भएका कमी कमजोरीलाई सच्याउँदै संघीयतालाई थप मजबुत बनाउन जरुरी रहेको उनले बताए । विशेष बैठक, साझा संकल्प प्रस्तावका अतिरिक्त संसद बैठक अवरुद्ध हुँदा वार्तामार्फत नै सहमति गरे अगाडि बढाउने काम संसदबाट भएको उनको भनाइ थियो । विगतमा निर्माण भएका कानुनमा परिमार्जन गर्दै अब पाइपलाइनमा रहेका विधेयकलाई घनिभूत रुपमा छलफल गरी पारित गर्न मुख्यमन्त्री पोखरेलले आग्रह गरे ।

    सभामुख अधिकारीले शून्यबाट उठेर प्रदेश सभाले ४ वर्षको अवधिमा ठूलो उपलब्धि हासिल गरेको भनाइ राखे । काम गर्ने सन्दर्भमा भएका कमजोरी सुधार गर्दै प्रदेश सभा अगाडि बढ्ने उनले बताए ।

    कार्यक्रममा संविधान सभा सदस्य खीमलाल देवकोटाले राज्य शक्तिको प्रयोग गर्ने भएकाले संघीयतलाई मलजल गर्नका लागि प्रदेश सभाले जति भूमिका निर्वाह गरेको त्यसका लागि धन्यवाद व्यक्त गरे । उनले भने, ‘यतिमात्र पर्याप्त भएको छैन, अझ पहल र प्रयास गर्न जरुरी छ ।’

    पूर्वमन्त्री एकनाथ ढकालले असल नजीर स्थापना गरी भावी पिंढीले स्मरण गर्ने गरी काम गर्न शुभकामना दिए ।
    संविधान सभा सदस्य अमृता थापाले संविधानको मर्म अनुसार ३ तहका सरकार अगाडि बढेका छन् यी ३ तहका सरकारको प्रभावकारिता अझ बढाउँदै जानुपर्ने भनाइ राखिन् । नयाँ संरचनाको संस्थापक भएकाले प्रदेश सभा सदस्यहरुको अझ बढी दायित्व रहेको उनको भनाइ थियो । उनले ३ तहका सरकारबीच समन्वयमा जोड दिइन् ।

    संविधान सभा सदस्य डा. भीष्म अधिकारीले संघीयताको शैशवकालमा हामी रहेका अवस्थामा धेरै कानुनहरु बनेका छन्, बनेका कानुन कार्यान्वयनमा जोड दिनुपर्ने बताए । प्रदेशको उन्नतीका लागि अझै रचनात्मक कानुनहरु ल्याउन उनले आग्रह गरे ।

    प्रतिनिधि सभा सदस्य विनोद चौधरी प्रदेश सभाले गरेका गतिविधि अति नै उत्कृष्ट रहेको भन्दै प्रशंसा गरे । उनले गण्डकीको विकास र समृद्धीका लागि आफुले गर्न सक्ने काम गर्न सधैं तत्पर रहने प्रतिवद्धता जनाए ।

    प्रतिनिधि सभा सदस्य देव गुरुङले संघीयतालाई मजबुत बनाउँदै प्राप्त उपलब्धिलाई जोगाउन प्रदेश संरचना सचेत रहन आग्रह गरे ।

    सहभागीलाई स्वागत गर्दै उपसभामुख सिर्जना शर्माले कोरोना महामारीका कारण धेरै जना सहभागी भएर कार्यक्रम गर्न असमर्थ भएकाले भर्चुअल गरिएको बताइन् । ४ वर्षको अवधिमा प्रदेश सभाले निकै राम्रो उपलब्धि हासिल गरेको भनाइ उनको भनाइ थियो ।

    प्रदेश सभा सचिवालयका सचिव हरिराज पोखरेलले प्रदेश सभाले हालसम्म ५० वटा कानुन पारित गरेको भन्दै ती कानुनले नागरिकको हितमा कति काम गरेका छन् भनेर समीक्षा गरिनुपर्ने बेला अब आइसकेको भनाइ राखे । वार्षिकोत्सवका अवसरमा प्रकासन गरिएको स्मारिका उक्त अवसरमा विमोचन गरिएको छ ।

    ३ तहको निर्वाचन सकिएलगत्तै २०६४ माघ ७ गते प्रदेश सभा सदस्यहरुको सपथग्रहण भएको थियो भने माघ २२ मा पहिलो बैठक बसेको थियो । यस अवविधमा ८ अधिवेशन र २ वटा विशेष अधिवेशन सकिएका छन् ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend