काठमाडौं, २३ माघ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चुनाव पछिमात्र एमसीसी अघि बढाउन प्रस्ताव गरेका छन् । आइतबार प्रधानमन्त्री शेरबहादुर देउवासहित शीर्ष नेताहरूको छलफलमा प्रचण्डले एमसीसी चुनावपछि अघि बढाउन प्रस्ताव गरेको एमाले नेता शंकर पोखरेलले जानकारी दिए ।
उनका अनुसार प्रचण्डले एमालेलाई संसद् खुलाउन आग्रह पनि गरेका थिए । “उहाँ (प्रचण्ड)ले प्रतिपक्षले सदन सञ्चालन गर्न सहयोग गरोस् भन्नुभयो । उहाँले संयुक्त रूपमा चुनावपछि मात्र एमसीसी अघि बढाऔँ भनेर आग्रह गर्नुभएको थियो,” प्रचण्डको भनाइ उद्धृत गर्दै पोखरेलले भने ।
प्रधानमन्त्री देउवाले भने एमसीसी पारित गर्न सहयोग गर्न सहयोग गर्न आग्रह गरेका थिए । जवाफमा एमाले अध्यक्ष केपी शर्मा ओलीले पहिले एमसीसीबारे सत्ता गठबन्धन स्पष्ट हुनुपर्ने बताएका थिए । उनले सत्ता गठबन्धन स्पष्ट भएमा आफूहरू एमसीसीबारे निर्णय गर्ने बताए ।
उनले सदन सञ्चालनका लागि आफूहरूले राख्दै आएका मागहरू पूरा हुनुपर्ने बताएका थिए । ओलीले छलफलमा स्थानीय चुनावको मिति तत्काल सार्वजनिक गर्नुपर्ने पनि बताएका थिए । जवाफमा प्रधानमन्त्रीले चाँडै सार्वजनिक गरिने आश्वासन दिएका थिए ।