पोखरा, २४ माघ – तामझामका साथ प्रदेश कार्यालय उद्घाटन गराएका कांग्रेस गण्डकीका सभापति शुक्रराज शर्माको कार्यकाल सुखद नहुने संकेत देखिएको छ । उपसभापति तथा प्रदेशमन्त्री मेखलाल श्रेष्ठले प्रदेश कार्यालय उद्घाटन कार्यक्रम बहिष्कार गरेपछि त्यो अवस्था आएको हो ।
सभापति शुक्रराजले आफूलाई सभापति शर्माले निषेध गरेको आरोप लगाउँदै मेखलालले कार्यक्रम बहिष्कार गरेका थिए । १४ औं अधिवेशनमा मेखलाल प्रतिष्पर्धी अर्जुन जोशीको प्यानलबाट उपसभापति उम्मेदवार बनेका थिए । सभापतिमा शुक्रराज विजयी हुँदा केन्द्रीय सभापति शेरबहादुर देउवा समूहबाट पदाधिकारीमा विजयी हुने मेखलाल एक्ला व्यक्ति हुन् ।
उनले सभापति शुक्रराजले आफूसँग कार्यक्रम आयोजनादेखि तयारीसम्म कुनै परामर्श नगरेको र नियतवश बोल्नसमेत नदिएको गुनासो गरेका छन् । उनले सभापति शुक्रराजले यस्तै व्यवहार देखाए सहेर नबस्ने चेतावनी पनि दिएका छन् ।
‘उहाँले जसरी सोच्नुभएको छ, त्यति सजिलो छैन,हामीलाई पनि कसैले टिपेको हैन’,उनले ढोरपाटनसँग टेलिफोनमा भने,‘ यहाँभन्दा कञ्जुस्याइँ के हुन्छ ? यो देख्नेलाई भन्दा … भयो । दलितबाट मन्त्री हुनुभएका डोबाटेलाई बोल्न दिए पनि हुन्थ्यो ।
आज त कार्यक्रम थियो तर उहाँले यस्तै गर्ने हो भने सहेर बसिन्नँ ।’
उनले गण्डकी प्रदेशमा शुक्रराज शर्मा बहुमतमा भए पनि केन्द्रमा शेरबहादुर देउवाको बहुमत भएको तथ्य पेश गर्दै यही प्रवृत्ति केन्द्रमा देखिए र उपसभापति धनराज गुरुङहरुलाई गरे के हुन्छ ? भन्ने प्रश्न पनि गरे ।
उनले सबैलाई न्याय गर्छु भन्ने भाषण छाँटेका शुक्रराजको गतिविधि पार्टी हित विपरीत हुने टिप्पणी पनि गरे । ‘उहाँले एउटा उपसभापतिलाई उद्घोषण गर्न दिनुभयो, महामन्त्रीलाई कार्यक्रम संचालन गर्न र अर्कोलाई बोल्न दिनुभयो’,उनले भने,‘ म छुट्टै समूहबाट जितेकालाई अवमूल्यन गरेपछि हिँडेको हो ।’

उपसभापति श्रेष्ठले अर्को गुटको भएकै कारण कांग्रेसका वरिष्ठ केन्द्रीय सदस्य चिनकाजी श्रेष्ठ तथा महिला केन्द्रीय सदस्यहरु चम्पा खड्कादेखि सरस्वती तिवारीसम्मलाई बोल्न नदिएको आरोप पनि लगाए । ‘उहाँले महशुस गर्नुहुन्छ कि हुन्न थाहा छैन तर सबैले महशुस गरे । मलाई त केही गर्दैन, बोल्न नपाउँदैमा म मेखलाल हुने हैन’,उनले भने,‘ म त उपभापति नै थिएँ,गण्डकी सरकारका एउटा मन्त्रीलाई पनि बोल्न नदिने कुरा राम्रो भएन ।’
शुक्रराज रामचन्द्र-शशांकले नेतृत्व गरेको गुटबाट र अर्कोतिर गोपालमान श्रेष्ठको समूहबाट आफू उपसभापतिमा चुनाव लडेको स्मरण गर्दै उनले थपे,‘मलाई जिल्ला सभापतिभन्दा अगाडि र अर्जुन जोशीभन्दा पछि बोल्न दिनुहोस् भनेको हो यो कुरा मैले उपसभापति धनराज गुरुङसँग पनि भनेको थिएँ । उहाँ सिद्धान्तको र विधिको कुरा गर्नुहुन्छ उहाँले पनि गर्न सक्नुभएन ।’