काठमाडौं, २६ माघ – केही दिनयता रोकिएका वर्षा र हिमपात फेरि सुरु हुने भएको छ। मौसम पूर्वानुमान महाशाखाले आज (बुधबार) बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आजदेखि कम्तीमा शुक्रबारसम्म देशका धेरैजसो स्थानमा वर्षा र उच्च पहाडी तथा हिमाली भेगमा हिमपात हुने सम्भावना देखिएको हो।
जसमा भनिएको छ : देशभर मौसम बदली भई सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने बागमती तथा प्रदेश नं १ का थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ। साथै देशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेकाले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन हुन अनुरोध छ।
मौसमविद् मञ्जु बासीका अनुसार पुनः पश्चिमी न्यून चापीय प्रणाली विकास भएकाले विशेषगरी दुई दिन अर्थात् बुधबार र बिहीबार मौसम बदली, वर्षा र हिमपात हुने सम्भावना देखिएको हो।
‘मौसम बदली हुन सक्छ, तर वर्षाको सम्भावना एकदमै न्यून छ’, मौसमविद् बासीले बुधबार बिहान नेपालखबरसँग भनिन्, ‘वर्षा भइहाले पनि फाटफुट होला।’
महाशाखाका अनुसार यस्ताे छ, आगामी ३ दिनको मौसम अनुमान :
माघ २६ गते बुधबार (आज)
दिउँसो : सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली तथा बाँकी प्रदेशमा आंशिक बदली रहनेछ। सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने बाग्मती र प्रदेश नं १ का थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ।
राति : सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकीलगायत बागमती र प्रदेश नं १ का पहाडी भूभागमा सामान्यदेखि पूर्ण बदली तथा बाँकी भूभागमा आंशिक बदली रहनेछ। सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा र बागमती तथा प्रदेश नं १ का पहाडी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्का हिमपातको सम्भावना छ।
माघ २७ गते बिहीबार
दिउँसो : देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ। प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा र सो प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।
राति : प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम आंशिक बदली रहनेछ। प्रदेश नं १ का थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ। प्रदेश १, बागमती तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।
माघ २८ गते शुक्रबार
दिउँसो : प्रदेश नं १, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतयस सफा रहनेछ। प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा र सो प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।
राति : प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, बागमती तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।
(नोट : मौसमविद्का अनुसार दिउँसो भन्नाले त्यस दिनको बिहान १०/११ बजेदेखि साँझ ६ बजेसम्म र राति भन्नाले साँझ ६ बजेदेखि भोलिपल्ट बिहान ६ बजेसम्मको अवधि बुझ्नुपर्छ। यसैगरी आंशिक बदली भनेको धरैजसो आकाश खुला, थोरैमा बादल, सामान्य बदली भनेको धेरैजसो आकाशमा बादल, थोरै खुला, पूर्ण बदली भनेको पूरै आकाश बादलले ढाकेको तथा मौसम सफा भनेको आकाशमा कतै बादल नभएको अवस्था हो।)