९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

एमसीसी खसी देखाएर फर्सी भिराउन खोज्दैछ अमेरिका: चित्रबहादुर केसी


जनमञ्च संवाददाता
  • २६ माघ २०७८ , बुधबार

  • एमसीसी खसी देखाएर फर्सी भिराउन खोज्दैछ अमेरिका: चित्रबहादुर केसी

    काठमाडौं, २६ माघ – राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अमेरिकाले एमसीसीका नाममा नेपाललाई खसी देखाएर फर्सी भिराउन खोजेको आरोप लगाएका छन् ।

    बुधबार माइतीघर मण्डलामा राष्ट्रिय जनमोर्चा, नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी लगायतका आठ राजनीतिक संगठनहरूले आयोजना गरेको अमेरिकी सहयोग परियोजना एमसीसीविरुद्धको संयुक्त प्रदर्शनमा बोल्दै अध्यक्ष केसीले यस्तो बताएका हुन् ।

    अध्यक्ष केसीले भने, ‘अमेरिकाले दिने पैसा नेपालमा आएर विकास हुने भए नेपाली जनताहरू एमसीसीको विपक्षमा उत्रिँदैनथे ।’ यस्तै अमेरिकाले आफ्नो स्वार्थपूर्तिका लागि एमसीसी परियोजना नेपाललाई भिराएको नेता केसीको आरोप थियो ।

    पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो कार्यकालमा भित्रभित्रै एमसीसी पास गराउन खोजेको पनि उनको आरोप छ । अध्यक्ष केसीले विदेशी शक्तिहरूले पार्टीका प्रमुख व्यक्तिहरूलाई आफ्नो स्वार्थसिद्धिका लागि किन्ने गरेको पनि बताएका थिए ।

    अध्यक्ष केसीले भने, ‘गठबन्धन एमसीसी पारित गर्न, देशको राष्ट्रियता, सार्वभौमिकता र अखण्डताको बिक्री गर्न, अनि सत्तामा रजाइँ गर्न भ्रष्टाचारीहरूसँग मित लगाएको होइन । यो प्रतिगमनलाई पराजित गर्नको लागि मात्रै हो । अहिले धेरैले मलाई सोध्ने प्रश्न के हो भने, एमसीसीका कारण गठबन्धन जान्छ कि के हो ? गठबन्धन ढल्छ कि के हो ? पिरलो त गठबन्धनको पो छ त ल ! गठबन्धनमा त्यहाँ भएका कतिपयले त नेपाली कांग्रेस बाहेक अरुले कम से कम संशोधन हुनुपर्छ, एमसीसी जस्ताको त्यस्तै स्वीकार हुँदैन भनेका छन्, त्यो पनि एउटा राम्रै पक्ष हो ।’

    यस्तै राष्ट्रिय जनमोर्चाले कुनै पनि हालतमा एमसीसी पास गर्न नहुने धारणा राखेको नेता केसीले बताएका छन् । श्रीलंकाको प्रसंग प्रस्तुत गर्नै नेपालले पनि एमसीसी अनुमोदन गर्न नहुने केसीको तर्क थियो ।

    ‘श्रीलंकामा चाहिएको थिएन अमेरिकाको डलर ? मेडावास्कर, तान्जिनिया, कोषोबोले किन स्वीकार गरेन ? यहाँ एमसीसीका पक्षधरहरू मंगोलियाले पास गरेको छ भन्छन् । नेपाली जनता के भेडा हुन् ? बेवकुफ हुन् ? त्यो पैसा आएर यहाँ विकास हुने भए, विद्युतको विकास हुने, बाटोको विकास हुने भए, नेपाली जनताले यस्तो जुलुस गर्नुपर्थ्यो ? होइन नि ! देखाउने खसी, ख्वाउने फर्सी हो अमेरिकाको । यहाँ एमसीसीको माध्यमबाट अमेरिकाले नेपाललाई आफ्नो रणनीतिक योजनाभित्र राख्न चाहन्छ,’ केसीले भनेका छन् ।

    एमसीसी अनुमोदन भएमा अमेरिकाको कानुन र पछि बन्ने कानुनसमेत नेपाली जनताले मान्नुपर्ने बाध्यता हुने नेता केसीको तर्क छ । उनले भनेका छन्, ‘मलाई त थाहा भयो नि । तीनपटक सदनमा गएर हेरें नि मैले । ९ महिना सरकारमा बसेर पनि हेरें । विदेशीले यहाँका राजनीतिक पार्टीलाई सबैलाई होइन, खासखास मान्छेलाई किनिरहेको छ, पालिरहेको छ । प्रशासनमा बस्ने कतिपय प्रशासन प्रमुख, देश बेचुवाहरूलाई पनि किनिरहेको हुन्छ । कतिपय बुद्धिजीविहरूलाई पनि किनेको हुन्छ ।’

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend