काठमाडौं, २८ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमसीसी पास गर्छौं भनेर अमेरिकासँग गरेको प्रतिबद्धता पूरा गर्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चुनौती दिएका छन् ।
सत्ताधारी दलहरुले केपी ओलीलाई प्रधानमन्त्रीबाट हटाएपछि एमसीसीबारे पास गर्छौं भनेर अमेरिकासँग भनेको भन्दै ओलीले अब त्यो प्रतिबद्धता पूरा गर्न चूनौती दिएका हुन् ।
एमसीसी पास गर्ने निर्णय गर्नुप¥यो भन्दै बिहीबार साँझ प्रचण्डले ओलीलाई फोन गरेका थिए । ओलीले त्यसबारे सत्ताधारी दलहरुले नै निर्णय गर्नुपर्ने जवाफ दिए ।
‘पहिले तपाईंहरुले नै ल्याएको एमसीसी मैले अघि बढाउँदा त्यसलाई मेराविरुद्ध हतियार बनाउनुभयो । तपाईंहरुले अमेरिकी राजदूतलाई दसौंपटक ओलीलाई प्रधानमन्त्रीबाट हटाएपछि एमसीसी पारित गर्छाैं भन्नुभएको रहेछ । अर्काे त लिखितै बुझाउनुभएको रहेछ,’ ओलीको भनाइ उद्धृत गर्दै एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले भने, ‘संसदमा तपाईंहरुकै बहुमत छ, यसमा अलमल किन गर्नुहुन्छ ? जनमत किन विभाजित गर्नुहुन्छ ?’
प्रचण्डले ओलीसँग एमसीसीबारे कि अहिले नै सबै दल मिलेर निर्णय गरौं या त चुनावपछि पारित गर्छौं भनेर अमेरिकालाई संयुक्त रुपमा भनौं भन्ने प्रस्ताव गरेका थिए । जवाफमा ओलीले एमसीसी माओवादीका लागि आराजस्तै भएको प्रतिक्रिया दिए ।
‘तपाईंहरु अहिले एमसीसी नामको आरा हातमा लिएर बस्नुभएको छ, अगाडि बढेर पास गरे तपाईंहरुका कार्यकर्ता भड्किन्छन्, जनमत भड्किन्छ । पछाडि फर्किनुहुन्छ अमेरिकाले डन्डा देखाइसक्यो,’ ओलीले प्रचण्डसँग भने, ‘यो आराले अगाडि बढ्दा नि काट्छ ।’
अमेरिकी सहायक मन्त्री डोनाल्ड लुले प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई फोन गरेर एमसीसी यही फागुन १६ गतेभित्रमा अनुमोदन नभए फिर्ता हुने र नेपालसँगको सम्बन्धबारे पुनर्विचार गर्ने चेतावनी दिएपछि दलहरुमा दबाव बढेको छ । त्यही दबावका कारण प्रचण्डले ओलीलाई फोन गरेका थिए ।
एमाले एमसीसी पास होस् भन्ने पक्षमा भए पनि अहिले नै आफ्नो पोजिसन क्लियर गर्न भने चाहेको छैन । एमसीसी पनि पास होस्, गठबन्धन पनि टुटोस् भन्ने बटमलाइनमा बसेर एमालेले आगामी रणनीति तय गर्नेे नेताहरुको भनाइ छ ।