२४ भाद्र २०८३ , बुधबार

२४ भाद्र २०८३ , बुधबार
  • २४ भाद्र २०८३ , बुधबार
  • September 9 2026

संसदलाई भेन्टिलेटरमा पुर्‍याउने काम भयो: ओली


जनमञ्च संवाददाता
  • २८ माघ २०७८ , शुक्रबार

  • संसदलाई भेन्टिलेटरमा पुर्‍याउने काम भयो: ओली

    काठमाडौं, २८ माघ – प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी एक्लै निर्वाचन लड्ने बताएका छन्। ‘स्थानीय तह निर्वाचन तयारी केन्द्रित प्रशिक्षण तथा अभिमुखीकरण तालिम’ कार्यक्रमको शुक्रबार उद्घाटन गर्ने क्रममा बोल्दै ओलीले एमालेलाई जनतामा विश्वास रहेको दाबी गरे। आफ्नै पार्टीको सरकार गिराउन र पार्टी फुटाउन सहभागी हुनेहरूसँग कुनै तालमेल नहुनेसमेत उनले बताए।

    ‘पार्टी सफलतामा पुग्यो, कसरी यसलाई फुटाउने र सरकार गिराउने भनेर लागेका र हामीले निष्कासन गरेका मान्छे कायमै राखेर नयाँ पार्टी बनाउन सहयोग गर्नेसँग कुनै तालमेल हुन्छ कि भन्ने भ्रम नपालौं,’ ओलीले भने, ‘आफूप्रति जनताको विश्वास छ भन्नेमा ढुक्क हौं। राष्ट्रिय एकता, भौगोलिक अखण्डताको लागि काम गरेका छौं। देश र जनताका लागि कुनै गलत काम गर्दैनौं। नेकपा एमालेले देश र जनताविरूद्ध कुनै काम गर्दैन। त्यसैले हामी एक्लै निर्वाचन लड्छौं।’

    स्थानीय तहमा आवश्यकताका आधारमा भने तालमेल हुन सक्ने उनले बताए। ‘स्थानीय तहमा कहीँकतै तालमेल भएछ भने त्यो बेग्लै कुरा हो। तर राष्ट्रिय स्तरमा कुनै शक्तिसँग तालमेल हुँदैन,’ उनले भने,’हाम्रो सम्पूर्ण काम-कारबाही निर्वाचनमा केन्द्रित हुन्छ। निर्वाचन एउटा कर्मकाण्ड मात्र होइन, जनताको स्वच्छ अभिमत प्रकट गर्ने समय पनि हो।’

    आफूहरू प्रतिनिधि सभामा सहभागी हुन चाहेको भए पनि सरकारले त्यो अवसर नदिएको उनले बताए। संसद निष्प्रभावी भएको तर निर्वाचन गर्न नखोजिएको उनले बताए। ‘सभामुख हाम्रो पार्टी फुटाउने अभियानमा लाग्छन्। हाम्राविरूद्ध मुद्धा लड्न अदालत पुग्छन्। यस्तो अवस्थामा संसद निरर्थक भइरहेको छ। निर्वाचन हुन नदिने, संसद चल्न नदिने काम भएको छ,’ उनले भने,’निष्प्रभावी बनाएर संसदलाई भेन्टिलेटरमा राखिएको छ। ज्युँदै छैन भनम् भने संसद छ तर ताजा जनादेश लिने भन्दा प्रतिगमन भन्छन्।’

    उनले सरकारले राष्ट्रिय हितमा काम गर्न नसकेको समेत बताए। सरकारले अन्तर्राष्ट्रिय सम्बन्ध बिगारेको तर्क गर्दै ओलीले राजनीतिक अवस्थाप्रति सरकार गैरजिम्मेवार बनेको समेत बताए। ‘शक्ति राष्ट्रहरूको खेल मैदान बनाउन खोजिएको छ। हाम्रो भूमि फिर्ता ल्याउने कुनै प्रयास भएको छैन,’ ओलीले भने,’राष्ट्रको भौगोलिक अखण्डतामाथि खेलबाड गर्ने आपराधिक क्रियाकलाप भइरहेको छ।’

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend