पोखरा, २८ माघ – शुक्रबार पोखरा सभागृहमा पोखरा महानगरपालिकाको दशौँ नगरसभाको उद्घाटन चलिरहेको थियो । हिउँदे अधिवेशन भएकाले महानगरले ४ विधेयकमाथि छलफल गरी पारित गर्ने योजनामा रहेको छ ।
नगरसभाको उद्घाटन सत्र समापन गर्ने क्रममा पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी भने निकै भावुक हुँदै भक्कानिएर रोए । उनले कोरोना महामारीबाट बच्नु नै सबैभन्दा ठूलो कुरा रहेको सुनाउँदै विषम परिस्थितिमा सबैभन्दा पहिला जनप्रतिनिधि नै कोरोना महामारीविरुद्ध खटिएको भन्दै धन्यवाद दिए ।
उनले सानो नेतृत्वलाई जनताले ठूलो विश्वास गर्दै कोरोना महामारीको समयमा सबैभन्दा पहिला जनप्रतिनीधिलाई नै सम्पर्क गरेको बताए । उनले अब महानगरमा नेतृत्व गर्ने अवसर सकिन लागेकाले पुनः एकपटक सबैले राम्रो तरिकाले जनताको मन जित्ने गरी काम गर्नुपर्नेमा जोड दिए ।
‘सबैलाई आफ्नो कार्यकालमा केही गरौँ भन्ने अवश्य हुन्छ । हामीले अब एकपटक मौका पाएका छौँ । यसलाई भरपूर प्रयोग गरौँ’, उनले भने,‘यो सभालाई गफ गर्ने थलोको रुपमा नलिऔँ, काम गर्ने थलोको रुपमा लिऔँ । सबैले अन्तरआत्माबाट नै पोखराका लागि काम गर्ने सोचेर उत्कृष्ट योजनाहरु ल्याउनुहोस् हामी सहयोग गर्छौँ ।’
उनले पोखराका सवालमा प्रदेश र महानगरको साझेदारी नै महत्वपूर्ण रहेको बताए । त्यसपछि उनी भावुक हुन्छन् । ‘यहाँ धेरै कुरा नभनौँ होला । किन भन्दा मलाई आज यसैमा खुसी छ म पनि अहिले कोभिड पीडित व्यक्ति भएको कारणले यसै पनि भेटघाट हुन्छ की हुन्न भन्ने लाइराखेको थियो… । त्यसपछि उनी भक्कानिन्छन् । भेट हुन पाइयो । आसुँ रोक्न सक्दैनन् र भन्छन्, यो सभालाई सबैले मिलेर राम्रो र सफल पारौँ । आजका प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्यमन्त्रीज्यूलाई पनि हार्दिक धन्यवाद दिन चाहान्छु । समय निकालेर आइदिनुभयो । संवोधन गरिदिनुभयो धन्यवाद ।’ त्यति भनेर उनी फेरि भक्कानो छाडेर रोए ।