९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

तीन बुँदे सहमतिबारे गृहमन्त्री खाण र विप्लव नेतृत्वको नेकपाबीच वार्ता


जनमञ्च संवाददाता
  • २९ माघ २०७८ , शनिबार

  • तीन बुँदे सहमतिबारे गृहमन्त्री खाण र विप्लव नेतृत्वको नेकपाबीच वार्ता

    काठमाडौं, २९ माघ – गृहमन्त्री बालकृष्ण खाणको पहलमा सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी(नेकपा)बीच यसअघि भएको तीन बुँदे सहमति कार्यान्वयनका सन्दर्भमा छलफल भएको छ।

    गृह मन्त्रालयमा शनिबार भएको छलफलमा सरकारका तर्फबाट गृहमन्त्री खाण, कानुन न्याय तथा संसदीय मामिलामन्त्री दीलेन्द्र बडू, महान्यायाधीवक्ता खम्मबहादुर खाती, गृहसचिव टेकनारायण पाण्डे, कानुन सचिव उदयराज सापकोटा तथा नेकपाका तर्फबाट खड्गबहादुर विश्वकर्मा सहभागी थिए।

    वार्तामा  २०७७ फागुन २० गते नेपाल सरकार र नेकपाबीच भएको तीन बुँदे सहमति कार्यान्वयनमा अहिलेसम्म भएका प्रगति र अब कसरी अगाडि बढ्ने भन्ने विषयमा कुराकानी भएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए।

    ‘सरकार र नेकपाबीच भएको तीन बुँदे सहमति कार्यान्वयनमा अहिलेसम्म भएका प्रगति र अब कसरी अगाडि बढ्ने भन्ने विषयमा सौहार्दपूर्ण तरिकाले छलफल भयो,’ प्रवक्ता पोखरेलले भने। मन्त्रालयका प्रवक्ता पोखरेलले फिर्ता लिन मिल्ने मुद्दा छिटो फिर्ता गर्ने विषयमा छलफल भएको बताए।

    वार्तामा नेकपाका तर्फबाट प्रवक्ता विश्वकर्माले विभिन्न आन्दोलनका क्रममा पार्टी कार्याकर्तालाई लगाइएका मुद्दा र जेलमा रहेका कार्यकर्ताको विवरण सरकारलाई बुझाए। सरकारका तर्फबाट पनि अहिलेसम्म थुनामा रहेका नेकपाका कार्यकर्ता र मुद्दाको विवरण वार्तामा प्रस्तुत भएको मन्त्रालयका प्रवक्ता पोखरेलले जानकारी दिए।

    बैठकपछि नेकपा प्रवक्ता विश्वकर्माले तीन बुँदे सहमति कार्यान्वयनको टाइमलाइन वार्तामा बनाइएको जानकारी दिए। ‘आजको वार्तामा तीन बुँदे सहमति कार्यान्वयनको टाइमलाइन बनेको छ। हाम्रो माग कार्यान्वयनमा सरकार सकारात्मक देखिएको छ। केही विषय टुंगिएका पनि छन्, केही टुंगिने क्रममा छन्। आशा छ छिटै निष्कर्ष निस्केला,’ प्रवक्ता विश्वकर्माले भने।

    यो भन्दा अघिल्लो केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको सहमति कार्यान्वयन गर्न गृहमन्त्री खाणले निरन्तर वार्ता गरिरहेका छन्।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend