प्रेम न त आकर्षण हो न आवश्यकता नै । यो त मानवताको पहिलो परिचय हो । प्रेमलाई विवाहमा परिणत गर्न सक्नु सामाजिक प्रतिष्ठा प्राप्त गर्नुमात्र हो ।
प्रेम भनेको यो नै हो र यसको परिभाषा पनि यही हो भनेर लेख्न असम्भव छ । वास्तवमा प्रेम प्रकृतिक शक्ति हो । मानिसहरुका अनुभव, विचार र भोगाईका आधारमा प्रेमका परिभाषाहरु फरक फरक भेटिन्छन् तर अर्थ तात्पर्य भने एउटै हुने गर्दछ । प्रेम मनको भवानात्मक शब्द मात्र होइन, यो त एक्लो मनको साथी पनि हो । प्रेम खुशीको आगमन होइन न त दु खको कारण न बिछोड पछिको जिबन बर्बादी प्रेम त आफु सँगै हिड्ने छायाँ हो । साथमा नहुँदा पनि भए जस्तै लाग्नु, आफ्नो होइन र पनि आफ्नो जस्तै लाग्नु, केही होइन र पनि सबथोक लाग्नु, मस्तिष्कले गर्ने यादले पनि शरीर छोएको आभाष हुनु प्रेम हो । शीतलता, ओखति, प्रेरणा, सन्तुष्टी, खुशी, स्नेह प्रेमका उपनाम हरु हुन् ।

लेखक कल्पना देवकोटा
साँचो माया मनबाट गरिएको छ भने जीवनको अन्तिम सुख अनि खुशी नै प्रेम हो । एउटै चिज हो प्रेम जसको कुनै अन्तिम बिन्दु हुँदैन । कहिल्यै गन्तब्य नसकिने यात्र हो– प्रेम । केही नपाइकन पनि सबथोक गुमाउदा तपाई हाँस्न, बाँच्न र आफूलाई सम्हाल्न सक्नु नै प्रेमको शक्ति हो । जब तपाइँ प्रेममा पर्नुहुन्छ तब तपाइँ आफू रहनु हुन्न, तपाइँका केही अंश समाप्त हुन्छन् । तपाई प्रेममा पग्लिनुपर्छ, जस्तो कि दूध बाट दही, दही बाट मोही, मोही बाट नौनी अनि नौनी बाट घ्यू बनेजस्तै तपाईंका केही अंश परिवर्तन र विनाश हुनुपर्छ । तपाईमा आठ बजे उठ्ने बानी थियो भने प्रेममा परिसकेपछि चार बजे नै उठ्न सक्नुपर्छ । प्रेमी वा प्रेमिकाका लागि आफ्नो केही अंश नष्ट गर्न इच्छुक हुनुपर्छ । प्रेममा यति शक्ति हुन्छ कि, तपाईंले नचाहाँदा नचाहँदै पनि तपार्इंका बानी र दिनचार्यमा परिवर्तन भइदिन्छ । कहाँ, कोसँग, कहिले, कसरी भन्ने केही थाहा नपाइ प्रेम भइदिन्छ । त्यसैले त प्रेमलाई प्राकृतिक शक्ति भनिएको हो र यो हाम्रो नियन्त्रणमा हँुदैन ।
प्रेममा शारीरिक सम्बन्धको निकै चर्चा हुने गर्दछ । यदि कसैलाई मन दिइसक्नु भयो र जीवनभर सके साथमा नभए यादमा बस्ने कसम खाइसक्नु भएको छ भने त्यहाँ तपाईंले आफ्नो शरीर बचाइ राख्न जरुरी हुँदैन । कुनै एक व्यक्तिमा मन र जीवन सुम्पिसक्नु भयो भने शरीर आखिर कसका लागि त ! त्यसो त प्रेमले शरीरको अनिवार्य माग त गर्दैन तर पनि दुई मन एक भइसक्दा यो अछुतो रहन पनि सक्दैन । शरीरले शरीरलाई छुनुभन्दा पनि मनले मनलाई छुनु सबै भन्दा ठूलो शारीरिक सम्बन्ध हो ।
प्रेम अन्धो हुन्छ । रुप, सम्पत्ति, जात, योग्यता, सम्पन्नता, क्षमता, भौतिक दूरी आदिजस्ता केही चिजले पनि प्रेमलाइ बिभाजित गर्नै सक्दैन । प्रेममा एक अर्काको विचार, भवना, इच्छा, योजना, सफलता, प्रगति, सुख दुखलाई साटासाट गरिन्छ अनि त्यसलाई आत्मसाथ गर्दै छुट्टाछुट्टै देखेका सपनालाई एक आकारमा परिणत गरी पूर्ण बनाइन्छ । त्यसैले त प्रेम जीवनको एउटा सुन्दर जिम्मेवारी पनि हो । धोका, सम्बन्ध विच्छेद, बिछोड, विवाह नहुनु, कुराकानी नहुनुु आदि कुरा प्रेममा हुँदैनन् । प्रेम हुनु नै सबथोक हुनु हो । कहिल्यै कसैसँग प्रेम नै नहुनु भनेको जीवनको एउटा रंगमञ्च गुमाउनुजस्तै हो ।
त्यस्तै मनको आँखाले नहेरी बाहिरी बनावटप्रति लोभिनु आकर्षण हो । यसको आयु निकै छोटो हुन्छ । राम्रा कपाले, राम्रो आँखा, मिलेको शरीर आदि आदि । बाहिरी रुपमा देखिएको कुरालाई मन पराउनु र सतशी आवरणप्रति झुकाव राख्नु नै आकर्षण हो । यस्तो हुँदा आँखा फुट्यो भने तपाईं उसलाई साथ दिन सक्नु हुन्न । कपाल रहेन भने तपाईं उसलाई कुरुप देख्नु हुन्छ । क्षणिक माया मोहको छोटो समय नै आकर्षण हो, जसलाई तपाईं जिन्दगी भर सम्झिन सक्नुहुन्न र सम्झन पनि चाहनु हुन्न । धोका, सम्बन्धबिच्छेद, एसिड प्रकरण, बलात्कार, आत्महत्या, अपमान,करणी, हत्या, सम्पतिको लोभ आदिजस्ता घटना आकर्षणले निम्त्याउने प्रमुख घटनाहरु हुन् । बाहिरी आँखाले मात्र देखेको मान्छे जिन्दगीभर साथ दिन सक्दैन र सम्बन्ध निभाउन बफादार पनि हँुदैन । यो छिटो अवधिमा नै समाप्त हुन्छ, जहाँ तपाईं लुटिनु हुन्छ, जसले तपाईलाइ बर्बाद बनाउँछ र जीवन भर पछुताउने बनाइदिन्छ । समयचक्रसँगै तपाईं उसलाई भुल्न, बिर्सिन सक्नुहुन्छ, सधैँ याद गर्नुहुन्न । मस्तिष्कले उसको तस्वीरलाई धमिलो बनाउँदै लैजान्छ । कहिलेकाहीँ भेट हुदाँ पनि तपाई नबोली, बेवास्ता गरी हिँड्न सक्नुहुन्छ किनकि आकर्षणमा व्यक्तिको कुनै महत्व हुँदैन,केवल सुन्दरता र आवरणको मात्रै चर्चा हुने गर्छ ।
कोही मान्छे नभई नहुने बानी परेको हुन्छ, जो बिना तपाईंको बिहानीको शुरुवात र दिनको अन्त्य हुदैन, त्यो नै आवश्यकता हो । आवश्यकता प्रेमको थोरै नजिक छ । आवश्यकताले दुःख नदिएता पनि खुशी र सन्तुष्टि दिन सक्दैन । तपाई उसबाट टाढा हुँदा केहि समय गाह्रो हुन सक्ला तर तपार्इं अरु कोहीसँग फेरि नजिक भइहाल्नु हुन्छ । आवश्यकता प्रतिस्थापित वस्तुजस्तै हो । यसको आयू छोटो वा लामो दुवै हुनसक्छ । आवश्यकताका आधारमा पूरै जीवन सँगै बिताउन पनि सकिन्छ तर त्यो रस विनाको रसबरीजस्तै हुन्छ । प्रेम दोस्रो पटक हुन्छ भनिन्छ, त्यो गलत हो । आवश्यकता भित्र कहीँकतै कहिलेकाहिँ प्रेमजस्तै केही प्राप्त भएको महशुस गर्दा तपाई प्रेम दोस्रो पटक हुन्छ भन्न सक्नुहुन्छ तर त्यो तपाईको भ्रम मात्र हो । आवश्यकता पनि प्रेमजस्तै लाग्न सक्छ तर प्रेम नै भने होइन । जिबनमा प्रेम एक पटक एक जनासँग मात्र हुन्छ ।
अतः प्रेम न त आकर्षण हो न आवश्यकता नै । यो त मानवताको पहिलो परिचय हो । प्रेमलाई विवाहमा परिणत गर्न सक्नु सामाजिक प्रतिष्ठा प्राप्त गर्नु मात्र हो । म कसैको प्रेमी÷प्रेमिका हँु भन्दा अपाच्य हुने तर श्रीमती हुँ भनेर हकका साथ भन्न सकिने, फरक यति मात्र हो । विवाह हुनु र नहुनुमा यत्ति फरक हो । प्रेम त मनले गरिने उच्च सम्मान हो । यसको सफलता विवाह नै हो भन्न मिल्दैन । अमर प्रेम एउटा स्मरण हो, जुन सधैँका लागि ताजा नै रहन्छ ।