१० साउन २०८३ , आइतबार

१० साउन २०८३ , आइतबार
  • १० साउन २०८३ , आइतबार
  • July 26 2026

महाभियोग संसद्‌बाट टुंगो लाग्न ४ महिना


जनमञ्च संवाददाता
  • २ फाल्गुन २०७८ , सोमबार

  • महाभियोग संसद्‌बाट टुंगो लाग्न ४ महिना
    महाभियोगको पत्र बुझी झन्डा छोपिएको गाडी चढेर निस्किँदै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा।

    काठमाडौं, २ फागुन – संघीय संसद् सचिवालयमा दर्ता गरिएको महाभियोग प्रस्तावको अन्तिम टुंगो लाग्न करिब चार महिना लाग्छ। त्यस बेलासम्म प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा निलम्बनमा रहनेछन्। कामकारबाही गर्न पाउँदैनन्।

    प्रतिनिधिसभा नियमावलीको नियम १६१ (९) मा लेखिएको छ, ‘उपनियम (१) र (८) बमोजिम महाभियोगको कारबाही प्रारम्भ भएपछि आरोपित नेपालको प्रधानन्यायाधीश वा सर्वोच्च अदालतका न्यायाधीश, न्यायपरिषद्का सदस्य, संवैधानिक निकायका प्रमुख वा पदाधिकारीले त्यस्तो कारबाहीको टुंगो नलागेसम्म आफ्नो पदको कार्यसम्पादन गर्न पाउने छैन।’

    संविधान र नियमावलीअनुसार प्रक्रिया अघि बढेको प्रतिनिधिसभा सचिव गोपालनाथ योगीले बताए। नियमावलीअनुसार महाभियोग प्रस्ताव दर्ता भएको ७ दिनपछि मात्रै ‘परिपक्व’ हुन्छ। त्यसपछिको कुनै पनि बैठकमा सैद्धान्तिक छलफलका लागि सभामुखले दिन र समय तोक्नुपर्छ।

    छलफलपछि सभामुखले सिफारिस समितिमा उक्त प्रस्ताव पठाउनुपर्छ। नियमावलीको नियम १६२ ले ११ सदस्यीय महाभियोग सिफारिस समितिको व्यवस्था गरेको छ। उक्त समितिले प्रस्ताव पेस गर्ने आधार र कारण विद्यमान भए-नभएको छानबिन गर्नुपर्छ। समितिले आरोपित पदाधिकारीलाई सफाई पेस गर्न सात दिनको समय दिनुपर्छ।

    ‘तर, आरोपित पदाधिकारीको सफाइ सन्तोषजनक नभएमा वा तोकिएको म्यादभित्र त्यस्तो पदाधिकारी आफैं उपस्थित भई कुनै सफाइ पेस नगरेमा महाभियोग सिफारिस समितिले आफ्नो सिफारिससहितको प्रतिवेदन सदनसमक्ष पेस गर्नुपर्नेछ’, नियमावलीमा लेखिएको छ।

    समितिले काम थालेको तीन महिनाभित्र प्रतिवेदन पेस गरिसक्नुपर्ने हुन्छ। उक्त प्रतिवेदनमाथि ‘कुनै सांसदले संशोधन वा कुनै विशेष कुराको सम्बन्धमा पुनः छानबिन गर्नुपर्ने भनी प्रस्ताव गरेमा’ समितिमै फर्किने व्यवस्था छ। तर, समितिमा फर्काउन प्रतिनिधिसभाले सहमति दिनुपर्छ। समितिमा फर्काउने निर्णय भए समितिले थप अनुसन्धानका लागि सात दिनको समय पाउँछ।

    प्रतिवेदन प्राप्त भएपछि प्रतिनिधिसभामा निर्णयार्थ पेस हुन्छ। उक्त प्रस्ताव पारित हुन दुईतिहाइ बहुमत चाहिन्छ। तर, सत्ता गठबन्धनसँग त्यो मत छैन। ‘कुनै पदाधिकारीको विरुद्धमा यस परिच्छेदबमोजिम प्रस्तुत प्रस्तावमा छानबिन गरी महाभियोग प्रमाणित हुन्छ भन्ने ठहरका साथ महाभियोग सिफारिस समितिले पेस गरेको प्रतिवेदन प्रतिनिधिसभाको तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको दुईतिहाइ बहुमतबाट पारित भएमा सम्बन्धित पदाधिकारी पदमुक्त हुनेछ,’ नियम १६६ (६) मा लेखिएको छ।

    २ सय ७५ सदस्यीय प्रतिनिधिसभामा २ सय ७१ जना कायम छन। दुईतिहाइ पुर्याउन १ सय ८१ मत चाहिन्छ। अन्य दल मिल्दा पनि १ सय ७३ मात्रै पुग्छ। विपक्षी एमालेसँग ९८ सांसद छन्।

    दुईतिहाइ नपुगे महाभियोग नलाग्ने संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेको भनाइ छ।  भने, ‘त्यस्तो अवस्थामा महाभियोग फिर्ता हुन्छ।’

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend