‘भ्यानगगले जसरी तिम्रो नाममा सूर्यमुखी फूल बनाउन नसके पनि, उनले जसरी आफूसित प्रेमको प्रस्ताव राख्नेलाई कान काटेर दिन नसके पनि कसम खान्छु, प्रिय म जिन्दगीभर तिमीलाई खुसी राख्नेछु ।’
मभित्रको भावुक प्रेमपत्र लेखक जोसिइरहेको थियो । प्रेमरसले मेरो हृदय पूर्ण विचरित भइरहेको थियो र जसका लागि म लेखिइरहेको थिएँ, त्यो पात्र पनि रोमान्टिक भावमा लट्ठिइरहेको थियो । तर, पत्र पढ्दै गर्दा अघिसम्म खुसीले चम्किएको उसको अनुहार भने यो लाइनमा आएपछि सुकेको सूर्यमुखी फूलजस्तै भयो ।
‘के हावा कुरा लेखेको ? यस्तो पनि हुन्छ कहीँ ?,’ ऊ लगभग जंगियो ।
तिनताका प्रेमपत्र लेख्ने मेरो भूमिगत पेसा थियो । मैले आफ्ना केही सहपाठी र धेरैचाहिँ सिनियर दाइहरूका लागि भूमिगत रूपमा दुई दर्जनभन्दा बढी प्रेमपत्र लेखिदिइसकेको थिएँ ।
उति बेला प्रेम गर्नुका दुःख पनि अनेक हुन्थे । प्रेमिकाहरू प्रेममा प्रायः निस्क्रिय हुन्थे । एकातिर घरधन्दा र स्कुलको व्यस्तता हुन्थ्यो भने अर्कोतिर प्रेमीहरूलाई जति घुमफिर गर्ने स्वतन्त्रता पनि हुँदैनथ्यो । त्यसैले उनीहरू सारै सिधा र ज्ञानी देखिने गर्थे ।
प्रेमीहरूचाहिँ यसको विपरीत हुन्थे । तिनीहरूको पढाइ सारै कमजोर हुन्थ्यो । यता र उता आवाराजस्तै हल्लिएर हिँड्नु तिनको पेसा हुन्थ्यो । फिल्मी हिरो स्टाइलमा लामो–लामो कपाल पाल्नु र पाइन्टको पछाडिको खल्तीमा वालेटमा कागजहरू टन्न कोचेर प्रेमपत्रै–प्रेमपत्र भएको भ्रम सिर्जना गराउन खोज्नु, कुनै अमुक केटीको घरको बाटो विनाकाममा हिँड्नु, तिनका घरअगाडि आफूलाई खडा गराइरहन खोज्नु, यस्ता अनेक मिहिनेत गर्नुपर्थ्यो ।
विनाउद्देश्य हिँड्दा मान्छेहरूको केरकारमा परिने, घरमा कुरा लगाइदिएर शारीरिक र मौखिक आक्रमणका खतराहरू पनि भइरहन्थे । सारांशमा भन्दा यस्ता प्रेमीहरू प्रेमका लागि भन्दा पनि प्रेमी बन्नका लागि बदनाम थिए । समाज, परिवार र स्कुलमा कतै पनि यिनको आदर्श उपस्थिति रहँदैनथ्यो ।
मैले प्रेमपत्र लेखिदिएकाका प्रेम सम्बन्धहरू प्रायः बढीमा दुई–तीनवटा प्रेमपत्रको आदानप्रदानभन्दा परतिर पुग्दै पुग्दैनथे । अलिकति गहिरो सम्बन्धै भएछन् भने मयूर चलचित्र मन्दिर बनेपामा एक–दुइटा फिल्म हेर्ने र कुनै फोटो स्टुडियोमा गएर संयुक्त फोटोसेसन गर्नेभन्दा परतिर जाँदैनथे ।
सम्बन्ध कसरी टुट्थ्यो कुन्नि ! केही महिनामै प्रेमको भूत झर्थ्यो । प्रेमीहरूको दोषारोपण हुन्थ्यो, ‘केटीको अर्कैसँग लभ परेको छ ।’ यसपछि ट्रयाजेडीको चरण आउँथ्यो । ‘त्यसको त ट्रयाजेडी परेको छ यार’ भनेर चर्चा चल्थ्यो ।
प्रेम गर्ने बेलामा भन्दा ट्रयाजेडीको बेलामा प्रेमी आफ्नो सर्कलमा बढी आकर्षक देखिन्थ्यो । ऊ ‘रगतको सिन्दूर’, ‘अर्को जन्म’ टाइपका उपन्यास पाइन्टको पछाडिको खल्तीमा घुसारेर रल्लिने गर्थ्यो । गालामा झुस उम्रिन थालेको छ भने त यस्तो मनुवा झन् जीवन्त नायक हुथ्यो । ऊ कपाल पनि नकोरेर १÷२ महिनाजति आफ्नो प्रेमको जुठो बार्ने गर्थ्यो ।
फेरि एक–दुई महिनामा अर्को केटीका लागि प्रेमपत्र लेखाइमाग्न आउँथ्यो । धेरैचाहिँ यस्ता प्रेमीहरूको पहिलो प्रेम नै अन्तिम प्रेम हुन पुग्थ्यो । कतिका चाहिँ परिवारले बिहे गराइदिन्थे । मेरो प्रेमपत्रले कुनै पनि प्रेमलाई लामो समयसम्म बाँध्न सकेको थिएन । तैपनि, प्रेमीहरू प्रेमपत्र लेखाइमाग्न आउँथे ।
एक त म ‘आउटबुक’ बढी पढ्नेमा कहलिएको थिएँ, अर्कोचाहिँ स्कुलस्तरीय कविता प्रतियोगितामा जिल्ला प्रथम पनि भइसकेको थिएँ । प्रेमपत्र लेख्नका लागि यो योग्यता काफी थियो । तर, पढाइमा सबैभन्दा पुछारमा आउने त्यस्ता प्रेमीहरूको लेखन असमर्थताबाहेक मसम्म प्रेमपत्र लेखाइमाग्न आउनुको अरू कारण थिएन कि !
तर, यो व्यवसाय भूमिगत नै हुन्थ्यो । हरेकचोटि प्रेमपत्र लेख्नुअगाडि मेरो सर्त हुन्थ्यो, मैले लेखेको पत्र सम्बन्धित पात्रले आफ्नो अक्षरमा सारेर दिनुपर्ने, मूल प्रति दिन नपाइने । मलाई लाग्दैन, उनीहरू तीन–चार पानाको पत्र आफ्ना नराम्रा अक्षरमा सारिरहने कष्ट गर्दथे ।
कतिका प्रेमपत्र परिवारका सिनियर सदस्यका बीच ‘लिक’ हुने गर्दथे । कति शिक्षकहरूका हातमा पनि पर्थे । तर, यस्तोमा सम्बन्धित पात्र नै प्रहारमा पर्दथ्यो । कसैले प्रेमपत्र लेखिदिएको हो भन्नेतर्फ कसैको पनि ध्यान जाँदैनथ्यो । त्यसकारण ज्ञानी र सिधा केटोको मेरो सार्वजनिक छवि कायमै थियो ।
तर, यो एकदमै खतरनाक काम थियो । यस्ता अल्लारे प्रेमको चरित्र अतिभूमिगत हुने गर्दथ्यो । यस्ता कुरा प्रेम गर्नेहरू र तिनका आसपासका साथीहरूसम्म मात्रै सीमित हुने गर्दथे । कथमकदाचित दुवै पात्र सार्वजनिक भए भने यो ठूलो सांस्कृतिक अपराध ठहर्थ्यो । विशेषगरी यसले परिवारमा ठूलो हलचल पैदा गर्दथ्यो ।

यो खतरालाई बुझे पनि भित्रभित्र यस्तो काम गर्न म उत्साहित नै हुने गर्दथेँ । अरूजस्तै मेरो बुझाइमा पनि दुनियाँको सबैभन्दा ठूलो सम्बन्ध प्रेमी र प्रेमिका बीचको थियो । यस्तोमा सहयोगी बन्न सक्नु महान् कार्य पनि थियो ।
यसको पछाडिको हाँसोउठ्दो मनोविज्ञान छ । मलाई प्रेम उपन्यास पढ्दा या फिल्म हेर्दा मूल नायकभन्दा सहनायक मनपर्थ्यो । त्यो सहनायक जोे नायक या नायिकाको सम्बन्धलाई टुंगोमा पुर्याउनका लागि बाँचेको हुन्छ । आफूले त्याग गरेको हुन्छ । आत्मविश्वासको कमी थियो या महान् बन्ने चाहना, म आफूलाई सहनायकको रूपमै स्वीकार्थेँ । त्यसैले भूमिगत प्रेमपत्र लेखिदिनु त्यही महान् कार्यतिरको अग्रसरता थियो सायद !
किशोर उमेरको बीचतिर त म पनि थिएँ । तर, म आफैँ कसैलाई प्रेमपत्र लेखेर दिने हिम्मत त गर्न सक्दिनथेँ । सायद, यो कुण्ठाको क्षतिपूर्ति पनि अरूका लागि प्रेमपत्र लेखिदिएर गर्थेँ हुँला । सँगसँगै भौतिक रूपमा फाइदा पनि हुन्थ्यो । प्रेमपत्र लेखाउन चाहनेहरू सिधै भन्दैनथे । चाउमिन, चाउचाउ नभए चिया, पाउरोटी खुवाएर मात्रै त्यो प्रस्ताव आउने गर्दथ्यो ।
त्यसपछि नौलो खालको राम्रो कलम र डायरी दिने लोभ छर्थे । कतिले चाहिँ अलि नै बढी लोभ्याउँथे, फिल्म देखाउन लैजाने । तर, फिल्म देखाउने बाचाचाहिँ कसैले पनि पूरा गरेनन् । मलाई सबैभन्दा बढी लोभचाहिँ डायरी भनिने चिल्ला र बाक्ला गाता भएका सुन्दर नोटबुकहरूको थियो । तिनमा कविताहरू लेख्न मन लाग्थ्यो ।
झन् एकपटक हेडसरले साथीहरूका अगाडि ‘कविता लेखेर तीन-चारवटा डायरी भरिसकेको छस् रे, पढ्न दे न’ भनिदिएपछि त मेरो लागि डायरी आवश्यकता नै बनेको थियो । किनकि, मसित दुईवटा डायरी अलि भरिएका थिएनन् । हेडसरलाई देखाउन त कम्तीमा तीनवटा डायरी भरिनुपर्छ । अब यस्ता डायरी आफ्नो प्रयत्नमा किनिने भन्ने त असम्भव नै हुन्थ्यो ।
प्रेमपत्रमा पनि म अलि बढी सिर्जनशील बन्न खोज्थेँ । सामान्यतया प्रेमपत्र लेख्नुअगाडि सम्बन्धित पात्रसँग ऊ त्यो पत्रमा मुख्य रूपमा कुन बेहोरा हाल्न चाहन्छ, त्यसको जानकारी लिइन्थ्यो । तर, यस्ता पात्रहरू मनभित्र त पक्कै कल्पन्थे होलान्, तर आफ्नो भावुकतालाई अभिव्यक्त गर्न जान्दैनथे ।
उनीहरूले मलाई दिने पत्रको व्यहोरामा कुनै दिन आफूले बोलाउँदा पनि नबोली गएको, कुनै दिन घरअगाडि उभिँदा पनि नहेरेको, बोल्न नखोजेको, आफूतिर नहेरेको, कुनै अमुक केटोसित हाँसीहाँसी बोलेको देखेको, कुनै दिन बजारमा अरू नै मान्छेसित चियाखाजा खाइरहेको देखेको, आदि इत्यादि गुनासा र साना–साना अभियोगका कुराहरू हुन्थेँ ।
आफू रातभरि सुत्न नसकेको, पढ्न नसकेको, खानामा रुचि नभएको कुरा हुन्थे । गरिब भए पनि मनको निकै धनी भएको दाबी हुने गर्थे । अनि, आफ्नो प्रेमको लागि जेसुकै गर्न सक्ने, कसैसित नडराउने, उसकै नाममा जीवन बिताउन या मरिदिनै पनि सक्ने फूर्ति पनि हुन्थ्यो ।
कसैकसैले चाहिँ सम्बन्धित केटीलाई पाउन नसके आफू जिन्दगीभर ‘कुमार’ नै बसिरहने कसम पनि लेख्न लगाउने गर्दथे । पहिलोपटक प्रेमपत्र लेखाउनेहरूचाहिँ मनभित्रैबाट खाली हुन्थे । उनीहरूलाई आफ्नो प्रस्तावलाई कसरी अगाडि सार्ने भन्ने पनि थाहा हुँदैनथ्यो । यस्तोमा तिनीहरू मलाई पूर्ण अधिकार दिने गर्थेँ । दुइटा कुरामा भने उनीहरू जोड दिने गर्थे, ‘अलि साहित्यिक होस् है । सायरी पनि राख है ।’
तिनताक यस्ता प्रेमीहरूको सायरीका यस्ता प्याटर्न हुने गर्थे-
फूलबारीमा फूल धेरै छन्
तर मलाई गुलाफ नै मनपर्छ
संसारमा धेरै केटी छन्
तर मलाई तिमी नै मनपर्छ ।
यिनमा कसैले फूलको ठाउँमा तारा र गुलाफको ठाउँमा ध्रुवतारा पनि जोड्ने गर्थे । अलिकति बौद्धिक प्रेमीहरूचाहिँ पत्रिकाहरूतिर आउने मुक्तकलाई सारेर पठाउने गर्थे ।
मचाहिँ यताउता जोडजाड गरेर सायरी बनाउने सामर्थ्य राख्दथेँ–
तिमी हिँड्ने बाटोमा फूलैफूल बिछ्याइदिन्छु
तिम्रो प्रतीक्षामा जिन्दगी नै रित्याइदिन्छु
गरिब नै भए पनि प्रेमको धनी छु म
मुटु निचोरी रगतले तिम्रो सिउँदो रंगाइदिन्छु ।
त्यति बेला ‘रगतको सिन्दूर’ले सिउँदो रंगाइदिने कुरा प्रेमको सबैभन्दा उच्चतम अभिव्यक्ति हुने गर्थ्यो ।
तर, यति हुँदाहुँदै पनि मभित्रको लेखक सन्तुष्ट हुन सकेको थिएन । प्रेमपत्रहरूमा मुना–मदन, लैला–मजनू, शाहजहाँ–मुमताज, रोमियो–जुलियट आदिका दृष्टान्त पटक–पटक लेख्नुपर्दा म एक हिसाबले वाक्क भइसकेको थिएँ । त्यसैले म कुनै नयाँ पात्रको खोजीमा थिएँ ।
त्यति बेला वर्षायामको च्याउजस्तै बग्रेल्ती निस्कने मासिक म्यागजिनहरूको समय थियो । तिनमा आउने कुराको सत्यता के कति हुन्थ्यो कुन्नि, तर मेरा ज्ञानका स्रोतहरू तिनै हुने गर्थे ।
तिनैमध्येको एउटामा चित्रकार भ्यानगगको बारेमा पढ्न पाइयो । कुनै हावादारी, भावुक लेखकले माथि उल्लेख गरेको सन्दर्भ पनि लेखेको थियो । अत्यन्तै भावुक त्यो लेखाइको सार थियो– भ्यानगगले आफ्नी प्रेमिकाका लागि सूर्यमुखी फूलजस्तो अमर चित्र बनाएका थिए । तर, उनको प्रेम असफल भयो । असफल प्रेमको पीडा भुलाउन विक्षिप्त भएर उनी वेश्यालय धाउन थाले । त्यहाँ एउटी आइमाईले उनीसित केही उपहार मागी । भोलिपल्ट भ्यानगगले आएर एउटा सानो पोको दिए । उसले उत्साही भएर पोको खोली । पोको खोल्दा रगतले लत्पतिएको कानको लोती थियो र त्यो भ्यानगग स्वयंको थियो । त्यो देखेर ठाउँको ठाउँ नै ऊ बेहोस भई ।
र, त्यहीँबाट टिपेर मैले यो लेखाइमा प्रयोग गरेको थिएँ । नयाँ दृष्टान्तको अन्वेषण सफल भएकोमा म खुसी थिएँ, ऊचाहिँ उदास । (भलै, यी दुवै दाबी हावादारी थिए भन्ने थाहा पाउन मलाई धेरै वर्ष लाग्यो ।)
‘लभमा त गुलाफको फूलको पो कुरा आउँछ । तोरीको फूल, सूर्यमुखी फूलको के काम ? मुटु चिरेर अँजुलीमा राखिदिने पो कुरा हुन्छ । कसैले आफ्नो कान काटेर प्रेमिकालाई दिन्छ ?,’ त्यो भावुक प्रेमीको तर्क नाजायज थिएन ।
उसको त्यति तर्क सुन्दा मलाई पनि एक मन त त्यो तथ्य गलत लागिरहेको थियो । तर, पत्रिका र किताबमा छापिएको कुरा गलत हुन्छ जस्तै लाग्दैनथ्यो । त्यसैले म त्यो नयाँ उदाहरण यथावत् नै राख्न चाहन्थेँ । मैले केही शब्दहरू परिवर्तन गरेर त्यसलाई मिलाउन खोजेँ । अहँ, कसैगरे पनि मिलेन ।
अब उदास हुने पालो मेरो थियो । अघि उसले एडभान्समा खुवाएको चाउमिनले बेला–बेलामा झुसिलो डकार उत्पादन गरेर उसको लगानी सम्झाइरहेको थियो । उसले लेख्न सिरानीको रूपमा प्रयोग भएकोे चौडा र मोटो डायरी र लेख्ने पाइलट पेन पनि मलाई नै दिने वाचा गरेको थियो । पाइलट पेन सर्टको बगलीमा घुसारेर हिँड्नु सानकै कुरा हुन्थ्यो । योभन्दा गजबको अफरचाहिँ थियो– प्रकाश कोविद्को अनुराधा उपन्यास !
घरपरिवार र समाजमा कम्युनिस्ट माहोल थियो । चिनियाँ र रसियन साहित्यका साथमा नेपाली प्रगतिशील साहित्य सहज प्राप्य थिए । यस्तोमा उपन्यास भनिइने प्रेम उपन्यासहरू किताबको रूपमा स्वीकार्य थिएनन् । ती युवा र किशोर बिगार्ने विषालु लागुपदार्थ मानिन्थे । यी पढ्नु भनेको सांस्कृतिक अपराधसरह थियो । तैपनि, यी भूमिगत शैलीमै एक हातबाट अर्कोको हातमा पुग्ने गर्थे ।
यताका युधीर थापाचाहिँ अलि धेरै बदनाम थिए । म आफैँलाई पनि तिनको किताब बेरसिलो र निरश लाग्दथ्यो । तर, दार्जिलिङदेखि आइपुग्ने प्रकाश कोविद्, सुवासदेखि सावित्री देवसा, देव भण्डारीलगायत अनगिन्ती बिर्सिइसकेका उपन्यासकारहरूका प्रेम उपन्यासचाहिँ थिए ।
सुवास मेरा लागि प्रकाश कोविद्पछिका प्रिय उपन्यासकार थिए । तिनको ‘नीलो चोली’ नामको बदनाम उपन्यासबाहेक अरू पढेका उपन्यासहरू मन छुने पनि लाग्थे त्यति बेला । ‘मने’, ‘कच्चा बाटो’ यस्तै उपन्यासहरू थिए । दार्जिलिङे उपन्यासहरूका भाषा, त्यहाँको परिवेश र तिनका पात्रहरू असाध्यै आकर्षक लाग्थे । तर, सबैभन्दा बढी पढिने र मन पर्नेचाहिँ प्रकाश कोविद् नै थिए ।
प्रेमी मनुवाले मैले नपढेको तर ऊसित भएको अनुराधा उपन्यासको गफ दिएर मलाई लोभ्याइरहेको थियो, ‘पूरै ट्रयाजेडी छ यार । त्यसमा छ नि एउटा खत्रा डाइलक छ– सूर्यलाई छुने चेष्टा नगर एक दिन तिम्रा पखेरुहरू जलेर भष्म हुनेछन् ।’
तिनताका उपन्यासका यस्ता ‘खत्रा’ संवादलाई अन्डरलाइन गर्ने चलन पनि थियो ।
यति बेलासम्म पत्र प्रापकको नाम थाहा नै थिएन । उसले मलाई भन्दै भनेको थिएन । मलाई आफूले चिनेको केटी भए उसको अनुहार, आँखा, कपाल आदिको वर्णन गर्दै लेखिदिन रमाइलो लाग्थ्यो । तर, यो पत्रमा कतै नाम नलेखी प्रिय, प्रियतमा र मायालुले नै काम चलाइएको थियो ।
अन्तिममा उसले यस्तो नाम लिइदियो, मेरा हातगोडा थरर्र कामे । एक वर्षअगाडि त्यो केटीले आफूलाई प्रेमपत्र दिने केटालाई चप्पलै–चप्पलले हानेकी थिई भन्ने पनि सुन्नमा आएको थियो ।
अब म एकदमै डराएँ । एउटा गरिब तामाङ केटोको प्रेमपत्रको प्रतिक्रिया त्यो केटीले मुस्कानले त पटक्कै दिने छैन । यो हामी तीनबीच मात्रै सीमित नभई यसले पक्कै केही उग्र परिणाम निम्त्याउने कुरामा म विश्वस्त भएँ । अनि, यो काण्ड बल्झिँदै जाँदा मेरो नाम त अवश्य अगाडि आउने नै छ । त्यसपछि मेरो अवस्था के होला ?
सबैभन्दा पहिले मैले हेडसरलाई सम्झिएँ । प्रगतिशील समाजको कुरा गर्ने हेडसरलाई यस्ता कुराहरू विषालु संस्कृति लाग्छन् । उहाँ यस्ता कुराहरूलाई घृणा गर्नुहुन्छ । यस्ता कामहरू उहाँलाई मन पर्दैनन् । उता, एसएलसी अब केही महिनापछि आउँदै छ । आशालाग्दो विद्यार्थीकै रूपमा सरहरूले माया गर्नुहुन्छ । अहो ! अब के होला ?
डरले म प्याकप्याक भएँ । तर आफूले लेखिदिएको प्रेमपत्र उसलाई नदेऊ पनि भन्न सकिनँ । किनकि, त्यसकै नाममा चाउमिन खाइसकेको थिएँ । डायरी, पाइलट पेन र उपन्यासको पनि लोभ छाड्न सकिरहेको थिइनँ । म झन्डै–झन्डै रोइसकेको थिएँ । आँसु भरिएर मेरा आँखा धमिलिइसकेका थिए । रुन्चे अनुहार बनाएर मैले उसलाई प्रेमपत्र लेखिदिएको कसैलाई नभन्न र उसको आफ्नै अक्षरमा सारेर दिन अनि सारिसकेपछि त्यसलाई जलाइदिन वाचा गराएँ । उसले किरिया खायो ।
त्यसको राति मलाई हनहनती जरो आयो । डरले पनि जरो आउँदो रहेछ कि ! उसै पनि भोलिपल्ट स्कुल जाने हिम्मत ममा थिएन । जरोको बहानामा चार दिनसम्म घरैमा बसेर म कुनै अशुभ घटना नहोस् भनेर अमुक याचना गरिरहेको थिएँ ।
चार दिनसम्म स्कुल नआउँदा साथीहरूले जिज्ञासा राखे । तर, तिनीहरूले उल्टोसुल्टो केही भनिरहेका थिएनन् । केही सरले पनि कारण सोध्नुभयो । टिफिन टाइममा अर्को सेक्सनमा पढ्ने त्यही केटीसित जम्काभेट पनि भयो । ऊ सामान्य नै थिई ।
यसको मतलब म सुरक्षित थिएँ । खतराबाट उन्मुक्ति पाउनुको आनन्द त्यो दिन थाहा पाएँ मैले । शुक्रबार फर्कँदा प्रेमी मनुवा भेटियो । उसले मलाई मुसुक्क हाँसेर अनुराधा उपन्यास दियो । तर, प्रेमपत्रको कुरा भएन । त्यसको करिब दुई हप्तासम्म म कुनै अप्रिय घटना झेल्नको लागि मानसिक रूपले प्रतीक्षा गरिरहेको थिएँ । पछि थाहा भयो, उसले त्यो पत्र दिने हिम्मत नै गरेनछ ।
अनुराधा उपन्यास पढेपछि मलाई लाग्यो, आफ्नो आकर्षणप्रति बिचरा स्वयंलाई पनि विश्वास थिएन । ऊ आफूलाई त्यही उपन्यासको गरिब ड्राइभरजस्तै सोचेर पहिले नै यसको मानसिक तयारी गरिरहेको थियो सायद ।
ट्रयाजेडी परेर दुई–चार महिना मुस्किलले उम्रिएका दारीका थाउलो देखाएर हिँड्ने केटाहरूको परम्परा भने उसले थामेको देखिएन । ऊ उस्तै हँसिलो भेटिन्थ्यो । पछि पनि उसले मलाई केही उपन्यासहरू पढ्नलाई दियो ।
प्रेमपत्र लेख्ने कामको परिणाम कति खतरनाक हुनसक्छ– कुनै घटना नभईकन पनि अनुभव गरेँ मैले । कल्पना गर्दैमा त यति सन्त्रासमय हुँदो रहेछ, साँच्चिकै भयो भने !
यसपछि मैले कहिल्यै प्रेमपत्र लेखिनँ । विस्तारै पढाइको व्यस्तता र आफूमा हुर्कँदै गरेको चेतनाले बजारिया फिल्मीप्रेमको दुनियाँबाट अर्कै मोडतिर लगिदियो ।
तर, एउटा कुराचाहिँ छुटेन । चित्रकार भ्यानगगको बारेमा सुनिएका मिथहरूले उनीप्रतिको जिज्ञासा बढाइरहे । उनीसँग सम्बन्धित किताबहरू, फिल्महरू र उनले लेखेका चिठ्ठीहरूमार्फत उनका बारेमा बुझ्ने मौका पाइयो ।
लन्डनको नेसनल ग्यालरीमा स्थायी रूपमा उनका केही पेन्टिङहरू प्रदर्शनीमा राखिएका छन् । सन् २०१९ मा लन्डनको टेट ब्रिटेन ग्यालरीमा उनका पेन्टिङको एकल प्रदर्शनी हेर्ने अवसर पाइयो । जुन मेरो जीवनको एउटा अविस्मरणीय विशेष घटना लाग्छ ।
त्यहाँ उनको बहुचर्चित पेन्टिङ ‘सनफ्लावर्स’ (१८८८) पनि थियो, जसले मलाई त्यही प्रेमपत्र प्रकरण सम्झाइदियोे । एउटा महान् चित्रकारको कालजयी पेन्टिङलाई कसैको प्रेमपत्रमा स्थान दिन खोज्दा एउटा सामान्य मान्छेको चेतनाले पनि त्यो तर्कलाई कसरी विफल बनाइदिएको थियो, सम्झेर म खिस्स हाँसेँ ।
हुन त सनफ्लावर्स मैले यसभन्दा पहिले नेसनल ग्यालरीमै देखिसकेको थिएँ । त्यो मेरा लागि नौलो थिएन । तर, यहाँचाहिँ यो पेन्टिङले मलाई किशोरवयमा लिएर गएको थियो र भ्यानगगलाई प्रेमपत्रमा अभिलेखित गर्न असफल भएको घटना याद आइरहेको थियो । सनफ्लावर्सको सट्टामा म एउटा हँसिलो र गोरो त्यही तामाङ दाइको बैँसालु पोट्रेट देखिरहेको थिएँ ।
यति बेला मलाई त्यो बेलाको तामाङ दाइको असाध्यै माया लागेर आयो । ती के गर्दै होलान्, कसो गर्दै होलान् जस्तो लागिरह्यो । झन्डै पच्चीस वर्षपछिको स्मृतिले मनमा अनेक मन्थनहरू पनि जन्माइदियो ।
साँच्चै, ती दाइले कहिलेकाहीँ त सम्झँदा होलान् कि त्यो बैंसालु उमेर ? कि बिर्सिसके कि ? उनले जम्मा गरेर राखेका प्रकाश कोविद्का उपन्यासहरू उनीसँगै होलान् कि हराइसके ? तिनमा ‘खत्रा डाइलग’हरूमा अन्डरलाइन गरिएको मसीको जस्तै स्मृतिको चमक पनि उडिसक्यो कि !
सम्भवतः यो घटना ती तामाङ दाइ, उनले मन पराएकी त्यो केटी या तामाङ दाइको प्रेम भावनाको गोस्ट राइटर मेरै लागि पनि कुनै महत्त्वपूर्ण घटना नहोला । तर, हामीले महत्त्व नदिएकै घटनामा पनि कति ठूलो समाजशास्त्र छिपेको छ । नजाने, वर्ग र जात व्यवस्थाको जालोमा कति मान्छेहरूका प्रेम अनुभूतिहरू यसरी पोखिन पनि नपाईकन आफूभित्रै मारिए होलान् कुन्नि !