९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

पूर्वाधारमा अब्बल बन्दै ताराखोला गाउँपालिका


जनमञ्च संवाददाता
  • ३ फाल्गुन २०७८ , मंगलबार

  • पूर्वाधारमा अब्बल बन्दै ताराखोला गाउँपालिका

    बागलुङ, ३ फागुन – अविकास, गरिबी र पछ्यौटेपनबाट गुज्रिरहेको ताराखोला अहिले समृद्धिको यात्रामा संघर्षरत छ । माओवादी युद्धको रापताप झेलेको ताराखोला क्षेत्र गाउँपालिका बनेको पाँच वर्ष बित्नैलाग्दा पूर्वाधार विकासतर्फ जिल्लाका अन्य स्थानीय तहलाई भने उछिनेको छ ।

    सडक, विद्युत्, खानेपानीहुँदै जिल्लाकै ठूलो र सुविधायुक्त सभागृह, बहुसांस्कृतिक संग्र्रहालय, आफ्नै प्रशासकीय भवनदेखि औद्योगिक ग्रामको योजनासम्म आइपुग्दा समृद्धि पछ्याइरहेको स्थानीय तहका रूपमा ताराखोलाले आफूलाई प्रमाणित गरेको छ ।

    स्रोत तथा दक्ष मानव संशाधनको सीमितता, भौगोलिक कठिनाई, नागरिक सशक्तीकरणको कमी आदिका बाबजुद विकास निर्माण र नागरिक सेवामा ताराखोलाले मारिरहेको फड्कोको अनुभव त्यहाँ पुग्ने जो कोहीले गर्छन् । नयाँ व्यवस्था र संरचनामा काम गरेर छोटो अवधिमै नतिजा दिनुपर्ने चुनौतीलाई ताराखोलाले धेरै हदसम्म पार गरेको छ ।

    सदरमुकाममै व्यवस्थित सभाकक्षको अभाव खड्किरहेको स्थितिमा ताराखोलाले गतवर्ष नै जिल्लाकै पहिलो र ठूलो सभागृह बनाएको छ । ताराखोला गाउँपालिका वडा नं. २ अर्गलस्थित उक्त सभागृह ५ सय क्षमताको छ । दुई करोड ६७ लाखमा निर्मित सभागृह गण्डकी प्रदेश सरकार र गाउँपालिका मिलेर बनाएका हुन् ।

    जिल्लाका कतिपय स्थानीय तह अहिले पनि भाडाका घरबाट सञ्चालित भइरहेका बेला ताराखोलाले ‘लिफ्ट’सहितको सुविधायुक्त प्रशासकीय भवन बनाएको छ । पाँच करोड १० लाखमा बनेको सो भवनमा गण्डकी प्रदेश र गाउँपालिकाको ६०–४० लागत साझेदारी छ । निर्माण कम्पनीका प्रतिनिधि ओमप्रकाश घर्तीले भवन केही दिनभित्रैमा गाउँपालिकालाई हस्तान्तरण गरिने बताए ।

    सदरमुकाम रहेको बागलुङसँगै गलकोट, जैमिनी नगरपालिकाले अहिलेसम्म प्रशासकीय भवन बनाउन सकेका छैनन् । केही स्थानीय तह जेनतेन जग्गाको जोहो गरेर भवनको जग बसाउने तयारीमा छन् । संघ र गण्डकी प्रदेश सरकारसँगको लागत साझेदारीमा वडा नं १ भुस्कातमा औद्योगिक ग्राम निर्माण गरिरहेको छ । ताराखोलाको पहिचानका रूपमा चिनिने ‘स्लेट ढुंगा’, नेपाली हातेकागज, पेय पदार्थ, जडीबुटी तथा कृषि र पशुजन्य उत्पादनमा आधारित उद्योग सञ्चालन गर्ने गाउँपालिकाको योजना छ ।

    मगर बाहुल्य रहेको ताराखोलामा बहुसांस्कृतिक संग्र्रहालय निर्माण पनि अन्तिम चरणमा आइपुगेको छ । सडकतर्फ दुई रणनीतिक योजना ताराखोलामा सञ्चालित छन् जसले सिंगै गाउँपालिकालाई पूर्व–पश्चिम र उत्तर–दक्षिण छिचोल्छन् । गलकोट ताराखोलाहुँदै म्याग्दीको रुम जोड्ने सडक कालोपत्रेका लागि पूर्वाधार तयारीको काम भइरहेको छ । सडक बोर्डमार्फत ३३ करोडको ठेक्कापछि त्यहाँको कामले गति लिएको हो ।

    स्थानीय तहलाई पक्की सडकमार्फत प्रदेश राजधानीसँग जोड्ने सरकारको लक्ष्यअनुरुप गाउँपालिकाको केन्द्र जोड्ने रिजालचोक–अमरभूमि–अर्गल सडक पनि कालोपत्रेका लागि छनोटमा परेको प्रमुख प्रशासकीय अधिकृत खिमबहादुर विकले बताए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend