९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026
कुन बैंकको कति ब्याजदर ?

बढ्यो बैंकको ब्याजदर, ‘अब बजार मूल्य पनि बढ्छ’


जनमञ्च संवाददाता
  • ३ फाल्गुन २०७८ , मंगलबार

  • बढ्यो बैंकको ब्याजदर, ‘अब बजार मूल्य पनि बढ्छ’

    काठमाडौं, ३ फागुन – वाणिज्य बैंकहरुले निक्षेपको ब्याजदर बढाउने निर्णय गरिसकेका छन्। यसअनुसार वाणिज्य बैंकहरुको निक्षेप ब्याजदर अधिकतम ११ दशमलव ३५ प्रतिशत पुग्ने भएको छ।

    निक्षेप बढेसँगै कर्जाको ब्याजदरले समेत ग्राहक तथा उपभोक्ताको ढाड सेकाउने निश्चित छ। सरकारले तोकेको स्प्रेडदरअनुसार अब अधिकतम १५ प्रतिशत हाराहारीमा कर्जाको ब्याजदर तोकिने भएको छ।

    सबैजसो बैंकले ब्याजदर बढ्ने सूचना नै निकालिसकेका छन्। योसँगै उद्योगी व्यवसायीहरु समेत त्रसित भएका छन्। उनीहरुले ब्याजदर बढाउन नहुने माग राखिरहेका छन्।

    निजी क्षेत्रको छाता संगठनहरु नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर आफ कमर्स, नेपाल उद्योग परिसंघ तीनवटै संस्थाले विज्ञप्ति समेत जारी गरेर ब्याजदर बढाउने नीति लिन आग्रह समेत गरेको छ। यसले हालको अर्थतन्त्रलाई नै अप्ठ्यारो पार्ने तर्क यी संस्थाहरुले गरेका हुन्।

    नेपाल उद्योग परिसंघले भनेको छ, ‘ ब्याजदर बढ्दा लगानी महँगो भई बजार मूल्य बढ्दा उपभोक्ताहरूलाई समेत नकारात्मक असर पर्ने देखिएको छ। वर्तमान अवस्थामा शिथिलप्रायः भएका उद्योग व्यवसाय थप कमजोर बन्ने देखिन्छ।’

    त्यस्तै उद्योग वाणिज्य महासंघले भने अर्थतन्त्रमै खलल पर्ने गरी ब्याजदर वृद्धि हुनथालेको भन्दै तुरुन्त ब्याजदर वृद्धिलाई फिर्ता लिन बैंकहरुलाई अग्रह गरेको छ।

    कुन बैंकको कति ब्याजदर ?

    बैंकहरुले जारी गरेको सूचनाअनुसार नबिल बैंकले फागुन महिनाका लागि निर्धारण गरेको ब्याजदर न्यूनतम २ देखि अधिकतम ७ प्रतिशतसम्म छ।

    बैंकको आधारदर ७ दशमलव ३९ प्रतिशत छ। यसअनुसार यस बैंकको कर्जाको ब्याज १४ दशमलव ३९ प्रतिशतसम्म कायम हुने देखिएको छ।

    एनआईसी एसिया बैंकले आधारदरमा न्यूनतम ३ देखि अधिकतम ५ प्रतिशत थपेर ब्याज लिनेछन्। बैंकको आधारदर ९ दशमलव ४४ प्रतिशत छ। यसअनुसार यस बैंकको कर्जाको अधिकतम ब्याजदर १४ दशमलव ४४ प्रतिशत कायम हुने भएको छ।

    ग्लोबल बैंकबाट कर्जा लिँदा आधारदरमा न्यूनतम २ देखि अधिकतम ६ प्रतिशतसम्म प्रिमियम थपिनेछ । पुस मसान्तसम्म बैंकको आधारदर ८ दशमलव २७ प्रतिशत रहेको छ। बैंकले जारी गरेको सूचनाले देखाएको छ। जसअनुसार यस बैंकको अधिकतम ब्याजदर १४ दशमलव २७ प्रतिशत हुने भएको छ।

    सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक नयाँ ब्याजदरमा न्यूनतम १ दशमलव ५० देखि अधिकतम ४ प्रतिशतसम्म ब्याजदर लाग्नेछ। पुस मसान्तसम्म बैंकको आधारदर ६ दशमलव ६० प्रतिशत रहेको देखिन्छ। जसअनुसार यस बैंकको अधिकताम बयाजदर १० दशमलव ६० प्रतिशत कायम हुने भएको छ।

    एनएमबि बैंकले ब्याजदरमा आधारदरमा अधिकतम ६ प्रतिशतसम्म प्रिमियम थप हुने उल्लेख छ। पुस मसान्तसम्म बैंकको आधारदर ८ दशमलव ५८ प्रतिशत छ।

    जसअनुसार यस बैंकको अधिकतम ब्याजदर १४ दशमलव ५८ प्रतिशत कायम हुने देखिएको हो।

    प्राइम बैंकले ७ प्रतिशत प्रिमियम जोडेर कर्जाको ब्याज लिने उल्लेख गरेको छ। यसअनुसार यस बैंकको अधिकतम कर्जादर १५ दशमलव ७७ प्रतिशतसम्म पुग्ने भएको हो।

    यस बैंकको सबैभन्दा धेरै ब्याज लिन सक्ने देखिएको छ। बैंकको पुस मसान्तसम्मको आधारदर ८ दशमलव ७७ प्रतिशत रहेको देखिएको हो।

    प्रभु बैंकले आधारदरमा ७ प्रतिशतसम्म प्रिमियम जोड्ने उल्लेख गरेको छ। अहिले बैंकको आधारदर ८ दशमलव ६८ प्रतिशत रहेको छ। यसअनुसार यस बैंकको ब्याजदर १५ दशमलव ६८ प्रतिशत सम्म पुग्ने देखिएको छ।

    लक्ष्मी बैंकको सूचनाअनुसार आधारदरमा ५ प्रतिशतसम्म प्रिमियम थपेर कर्जा दिने भएको छ। बैंकको आधारदर ८ दशमलव ७४ प्रतिशत रहेको देखिन्छ। यसअनुसार यस बैंकको १३ दशमलव ७४ प्रतिशतसम्म पुग्ने देखिएको हो।

    नेपाल इन्भेष्टमेन्ट बैंकले न्यूनतम १ देखि अधिकतम ५ प्रतिशतसम्म रहेको प्रिमियम जोडेर कर्जामा ब्याजदर लिनसक्ने सूचना जारी गरेको छ। यसअनुसार यस बैंकको १३ दशमलव ४७ प्रतिशतसम्म पुग्ने भएको छ। किनभने यस बैंकको ७ दशमलव ४७ प्रतिशत छ।

    सनराइज बैंकले न्यूनतम २ देखि अधिकतम ६ प्रतिशतसम्म प्रिमियम थप गरेर कर्जाको ब्याज लिन सकिने उल्लेख गरेको छ। यसअनुसार बैंकको ब्याजदर १४ दशमलव ९४ प्रतिशत कायम हुनसक्ने देखिएको छ। बैंकको आधारदर ८ दशमलव ९४ प्रतिशत छ।

    सिद्धार्थ बैंकले कर्जामा न्यूनतम २ देखि अधिकतम ६ प्रतिशतसम्म ब्याज लिने भएको छ। आधारदर ८ दशमलव ५८ प्रतिशत रहेको छ। यसअनुसार यस बैंकको ब्याजदर १४ दशमलव ५८ प्रतिशत कायम हुने देखिएको छ।

    माछापुच्छ्रे बैंकले न्यूनतम २ दशमलव ५० देखि अधिकतम ७ दशमलव ५० प्रतिशत प्रिमियम थपेर कर्जामा ब्याज लिने उल्लेख गरेको छ। यसअनुसार यस बैंकको अधिकतम ब्याजदर १५ दशमलव ७९ प्रतिशतसम्म पुग्ने देखिएको छ। किनभने यस बैंकको आधारदर  ८ दशमलव ७९ प्रतिशत कायम रहेको देखिन्छ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend