११ साउन २०८३ , सोमबार

११ साउन २०८३ , सोमबार
  • ११ साउन २०८३ , सोमबार
  • July 27 2026
भैंसी धनीको मुद्दा हारेर पनि जितेको भन्दै ढाँटेर रकम अशुलेको आरोप

ठगी मुद्दामा पोखरा महानगरका कानुनी सल्लाहकार अर्याल पक्राउ


जनमञ्च संवाददाता
  • ३ फाल्गुन २०७८ , मंगलबार

  • ठगी मुद्दामा पोखरा महानगरका कानुनी सल्लाहकार अर्याल पक्राउ

    पोखरा, ३ फागुन – मुद्दा हारेर पनि जितेको भन्दै थप पारिश्रमिक मागेको र अदालतको फैसलाको छायाँ प्रति लिन २ हजार रुपैयाँ राजस्व मागेर ठगी गरेको भन्दै जाहेरी परेपछि कास्की प्रहरीले पोखरा महानगरपालिकाका कानुनी सल्लाहकार कानुन व्यवसायी कमलप्रसाद अर्याललाई मंगलबार पक्राउ गरेको छ ।

    कास्कीको अन्नपूर्ण गाउँपालिका १० घान्द्रुकका रामबहादुर दमैले सोमबार अर्यालविरुद्ध ठगी मुद्दामा जाहेरी दिएका थिए । सोमबारै दर्ता भएको जाहेरीका आधारमा मंगलबार प्रहरीले पक्राउका लागि कास्की जिल्ला अदालतबाट आदेश लिएको थियो । अर्याललाई आज साँझ पोखरा-१७ पार्दीबाट पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख एसपी रमेश थापाले बताए ।

    अर्यालले भैंसी धनीसम्बन्धी विवादको एक मुद्दामा दमैको पक्षबाट बहस गरेका थिए । गत असोज ७ मा कास्की जिल्ला अदालतले भैंसी रामबहादुर दमैको नभएको फैसला गरेको थियो । मुद्दामा हारे पनि अर्यालले मुद्दा जितेको भन्दै आफ्नो पक्षका दमैसँग थप पारिश्रमीक भन्दै ५ हजार रुपैयाँ मागेका थिए । साथै मुद्दा जितेकोमा बधाइ भन्दै ढाप पनि मारेको दमै बताउँछन् ।

    दमैका अनुसार त्यसबेला मुद्दा जितेको कागज माग्दा अर्यालले ३५ दिनपछिमात्रै पाइने भनेर आश्वासन दिएका थिए । त्यस अवधिपछि लकडाउनको हल्लाले दमै अदालतको फैसला हेर्न नै आएनन् । मंसिर अन्तिम साता फैसलाको कागज माग्दा अर्यालले ‘तपाइँ टाढाबाट किन दुख पाउनुहुन्छ, कोही आफन्त भए पठाइदिनू’ भनेका थिए ।

    दमैले एकजना आफन्तलाई अर्यालसँग फैसलाको छायाँ प्रति लिन पठाउँदा २ हजार रुपैयाँ राजस्व लाग्ने भन्दै अर्यालले पैसा लिएका थिए । ‘बहस गर्नुभन्दा अघि ५ हजार र बहसपछि मुद्दा जितेको भन्दै थप ५ हजार मागेपछि दिएँ’ दमैले भने, ‘अदालतको आदेश पढ्दै जाँदा आफूले मुद्दा हारेको थाहा भयो। अनि ठगिएछु भनेर जाहेरी दिएको हुँ ।’

    आफूले मुद्दा हारेको थाहा पाएपछि अर्यालसँग सम्पर्क गर्दा न्यायाधीशले टाउको हल्लाएकाले जितियो भनेर ठानेको र उच्च अदालतमा जान सकिने प्रतिक्रिया दिएको दमैले बताए । उनले अर्याललाई २३ हजार रुपैयाँ विभिन्न शुल्कवापत दिएको भए पनि जाहेरीमा भने २१ हजार मात्रै जनाएको बताए । अर्याललाई बुधबार जिल्ला अदालतमा ठगी सम्बन्धी मुद्दामा म्याद थपको तयारी भइरहेको प्रहरीले जनाएको छ ।

    के थियो भैंसी धनी विवाद ?

    रामबहादुर दमैले २०७६ जेठमा आफ्ना १–१ वर्षका दुईवटा पाडा मोक्यु लेकको गोठमा पुर्‍याई । दाइ सुकबहादुरले व्यवसायिक गाइभैंसीपालन गरेकोले उनकै गोठमा रामबहादुरले पाडा छोडेका थिए ।

    घान्द्रुकका लेकमा चर्दाचर्दै सोही वर्षको फागुनमा दुवै पाडा हराए । २०७८ असारको अन्तिम साता उनले अन्नपूर्ण–८ दाङसिङको थमडाँडामा २ वटा नयाँ पाडा देखापरेको खबर पाए ।

    बर्खा भएकोले उतिबेलै जान सकेनन् । साउन ६ मा उनी छोरालाई लिएर थमडाँडा पुग्दा थमडाँडा सामूहिक अर्ग्यानिक कृषि तथा पशुपंछी फार्ममा २ पाडा भेटिए । उनले आफ्नो भैंसी भन्दै गोठालासँग दाम्लो मागेर भैंसी लिएर घर फर्के । त्यसको एक सातापछि फर्मका सञ्चालक रामप्रसाद ढुंगाना, दिनेश गुरुङलगायत रामबहादुरकहाँ पुगेर भैंसी आफ्नो भएकोले फिर्ता दिन भने ।

    माघ १० मा दुई भैंसी लामखेतका सविन तिवारीसँग ५३ हजार रुपैयाँमा किनेको उनीहरूले बताएका थिए । घान्द्रुकस्थित प्रहरी चौकी र स्थानीय भद्रभलाद्मीसहित दुई पक्षबीच छलफल भयो । भैंसी कसको भन्ने टुंगो लागेन । ढुंगानासहितको टोली गाउँपालिकाकै वीरेठाँटी चौकीमा पुग्दा प्रहरीले वडा प्रहरी कार्यालय बगर पोखरा जान भन्यो ।

    कोरोना कहरका कारण बगरमा छलफल हुन नसकेपछि गाउँमै मिलाउन भन्दै फर्काइयो । फर्म सञ्चालकले गाउँपालिकाको न्यायिक समितिमा उजुरी दिए । गाउँपालिका उपाध्यक्ष सगुन गुरुङ संयोजक रहेको न्यायिक समितिले भैसी ढुंगानाको रहेको निर्णय गरिदियो ।

    न्यायिक समितिको निर्णय चित्त नबुझेपछि रामबहादुरले २०७७ असोज २१ मा उक्त निर्णय बदरको माग गर्दै कास्की जिल्ला अदालतमा रिट दायर गरेका थिए । तर अदालतले पनि न्यायिक समितिकै निर्णयलाई सदर गरिदिएको थियो ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend