९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026
निर्णायक मोडमा गठबन्धन

संसदमा एमसीसी जबर्जस्ती टेबल गरिए के होला ?


जनमञ्च संवाददाता
  • ४ फाल्गुन २०७८ , बुधबार

  • संसदमा एमसीसी जबर्जस्ती टेबल गरिए के होला ?

    काठमाडौं, ४ फागुन – नेकपा एमालेको अवरोध जारी रहेकै अवस्थामा सरकारले अमेरिकी आर्थिक सहयोग मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) प्रतिनिधि सभामा टेबल गर्न नसक्ने सम्भावना देखिएकाे छ।

    संसदीय दलको बैठक, केन्द्रीय कार्यकारिणी समितिबाट एमसीसी संसदमा तत्काल टेबल गर्ने निर्णय गराएको नेपाली कांग्रेसलाई संसदमा गत्यावरोधकै बीच एमसीसी टेबल गर्न सत्ता साझेदार दलहरूले नै साथ नदिने भएका हुन्।

    नेकपा एमालेले भदौदेखि लगातार संसद् बैठक अवरुद्ध गरिरहेको छ।

    संसद् सचिवालयमा सन्धि, सम्झौताका नाममा दर्ता भएको एमसीसी सम्झौता टेबल गराउनेगरी कांग्रेसले आज फागुन ४ गते बिहान साढे ११ बजे बस्ने प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठकमा संसदको कार्यसूची बनाउन प्रस्ताव लाँदै छ।

    प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्दै छ।

    कार्यव्यवथा परामर्श समितिमा पेस गर्ने प्रस्ताव तयार गर्ने विषयमा मंगलबार दिनभर कांग्रेसका सांसदले छलफल गरेका थिए।

    तर सत्ता साझेदार नेकपा माओवादी केन्द्रका एक नेताले त्यो प्रस्ताव छलफलको विषय बनाइए पनि संसदमा त्यसले तत्काल प्रवेश पाउने सम्भावना कम रहेको बताए।

    ‘अवरुद्ध संसदमा सन्धिजस्तो विषय टेबल हुँदैन’, ती नेताले भने, ‘एमसीसी टेबल गर्ने विषयमा सत्ता गठबन्धनमै सहमति जुटेको छैन।’

    कांग्रेसले संसद् बैठकमा उपस्थित हुने सांसदको गणपूरक संख्यालाई आधार बनाएर एमसीसी टेबल गर्ने र पास गर्ने रणनीति बनाएको छ।

    यस क्रममा नेकपा माओवादी केन्द्र, नेकपा एमाले र नेकपा एकीकृत समाजवादी बहिष्कार गर्छन्, त्यसपछि जनता समाजवादी पार्टी, कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी गरी तीन दल मिलेर बहुमतका आधारमा एमसीसी संसदबाट पास गर्ने योजना कांग्रेसको छ।

    तर, अवरोध जारी रहेको अवस्थामा प्रतिनिधि सभाको बैठकमा त्यस्ता दीर्घकालीन महत्त्वका कुनै विषयमा छलफल नै नहुने बुझाइ माओवादी केन्द्र र समाजवादी पार्टीको छ।

    माओवादी केन्द्रले संसदमा जारी अवरोध नहटाई र राष्ट्रिय सहमति नभई एमसीसी पेस नै हुन नसक्ने विश्लेषण गरेको छ।

    यस्तो अवस्थामा बलजफ्ती एमसीसी टेबल गराए आफूहरू सरकार छाड्ने चरणमा पुग्ने माओवादी केन्द्रका  नेता हरिबोल गजुरेलले बताए।

    ‘संसद् अवरुद्ध भएका बेलामा यस्तो दीर्घकालीन महत्त्वको विषय टेबल गराउनै हुँदैन भन्ने हाम्रो बुझाइ हो’, गजुरेलले भने, ‘तर, गठबन्धनमा समेत सहमति नगरी जबर्जस्ती एमसीसी टेबल गराए हामी सरकार छाड्छौं। संसद् नचलेको बेलामा कुनै दलको पनि सहमति नलिई टेबल हुने विषयमा हामी छलफल गर्न सक्तैनौं।’

    माओवादी केन्द्र यथास्थितिमा एमसीसी टेबल गर्ने पक्षमा नरहेको उनले बताए। ‘हाम्रो पार्टीको स्पष्ट धारणा छ– कि चुनावछि सारौं कि राष्ट्रिय सहमति कायम गरौं। त्यो नभई एमसीसी अघि बढाउने कुरामा हाम्रो पार्टी छैन’, गजुरेलले भने।

    यसैबीच माओवादी केन्द्रले आज (बुधबार) संसदीय दलको बैठक राख्दै छ। जसमा प्रतिपक्ष एमालेलाई संसद् बैठकमा अवरोध नगर्न आह्वान गर्ने तयारी गरिएको छ।

    ‘पहिला त संसद् अवरोध खोल्नुपर्यो, हाम्रा सांसदहरूले नेकपा एमालेलाई संसद बैठक खोल्नाका लागि औपचारिक आग्रह गर्नुहुनेछ। दलको बैठकमा अवरुद्ध संसद् खुलाउने विषयमै बढी छलफल हुनेछ’, माओवादी केन्द्रका एक नेताले भने।

    परामर्श समितिमा छलफलमा आएका सबै विषय संसद् बैठकको कार्यसूचि बन्न सम्भव छैन।

    अहिलेसम्म कार्यव्यवस्था परामर्श समितिमा एकपटक मात्र एमसीसी एजेन्डा बनाउने विषयमा छलफल भएको थियो। तर, त्यसबेला तत्कालीन सभामुख कृष्णबहादुर महराले चिनियाँ राष्ट्रपति नेपाल भ्रमणमा रहेका बेला संसदमा एमसीसी टेबल गरिँदा राम्रो सन्देश नजाने भन्दै रोकेका थिए।

    गठबन्धन टुटाउन तयार देउवा
    प्रधानमन्त्री शेरबहादुर देउवा बरु गठबन्धन टुटे टुटोस्, तर एमसीसी सम्झौता संसदमा टेबल गराइछाड्ने अडानमा छन्।

    कांग्रेसले एमसीसीका विषयमा मंगलबार जारी गरेको वक्तव्यले त्यही संकेत गर्छ।

    कांग्रेस सभापति देउवाले सोमबार सभामुख अग्नि सापकोटाले बोलाएको सर्वदलीय बैठकमा समेत आफू चाहेर प्रधानमन्त्री नबनेको बताएका थिए।

    माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले जबर्जस्ती एमसीसी टेबल गर्ने प्रयत्न गरिए आफ्नो पार्टीले सरकार छाड्ने बताएपछि प्रधानमन्त्री देउवाले जवाफ दिएका हुन्।

    ‘म चाहेर प्रधानमन्त्री बनेको होइन, अहिले पनि मेरो चाहना प्रधानमन्त्री बसिरहनुपर्छ भन्ने होइन’, देउवाको भनाइ उधृत गर्दै बैठकमा सहभागी एक नेताले भने, ‘तर, वचन दिइसकेको कुराबाट फिर्ता हुन मिल्दैन। एमसीसी टेबल गर्नैपर्छ।’

    संसदको अवरोध खुलाउन पहल गर्न सभामुखले बोलाएको सर्वदलीय बैठकमै प्रधानमन्त्री देउवाले एमसीसी पासका लागि सबैलाई फकाउने प्रयास गरेका थिए। तर सफल भएनन्।

    एमसीसी एकलौटी टेबल भएमा नेपाली राजनीतिमा आज निकै ठूलो परिवर्तन देखिने सम्भावना छ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend