९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026
गण्डकी प्रदेश सरकारका ४ बर्ष

चुनौतीका बीच संघीय शासन प्रणालीलाई मजबुत बनाउनु पर्दछ: मुख्यमन्त्री पोखरेल


जनमञ्च संवाददाता
  • ४ फाल्गुन २०७८ , बुधबार

  • चुनौतीका बीच संघीय शासन प्रणालीलाई मजबुत बनाउनु पर्दछ: मुख्यमन्त्री पोखरेल

    कास्की, ४ फागुन – गण्डकी प्रदेश सरकारले स्थापनाको चौथो वार्षिकोत्सव बुधबार मनाएको छ। २०७४ फागुन ४ गते पृथ्वीसुब्बा गुरुङ नेतृत्वमा सरकार गठन भएको दिनलाई प्रदेश दिवस मनाउने गरिएको छ।

    वाषिकोत्सवका अवसरमा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेश र स्थानीय तहलाई अधिकार दिन संघ हिच्किचाएको अनुभव सार्वजनिक गरेका छन्। यसअघिका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङकै शैलीमा पोखरेलले पनि संघको कञ्जुस्याइँको आलोचना गरेका हुन्।

    ‘संविधानले प्रदेशलाई दिएको जिम्मेवारी पूरा गर्नका लागि पर्याप्त अधिकार उपयोग गर्न नपाएको अवस्थाका बारेमा तपाईं हामी जानकार नै छौं,’ मुख्यमन्त्री पोखरेलले भने, ‘यावत अप्ठेरा र चुनौतीका बीच एकातिर संघीय शासन प्रणालीलाई मजबुत बनाउनुपर्ने छ भने अर्कोतर्फ विकास र समृद्धिका लागि नागरिकको बढ्दो अपेक्षा पूरा गर्न हामीले सम्पूर्ण ऊर्जा प्रयोग गर्नुपर्ने अवस्था छ।’

    मुख्यमन्त्री पोखरेलले प्रदेश नयाँ संरचना भएकाले कानुन निर्माण हुने क्रममा नै रहेको, संस्थागत विकास नभइसकेको अवस्था, पर्याप्त र उचित जनशक्ति व्यवस्थापन हुन बाँकी नै रहेको, आवश्यकताको तुलनामा उपलब्ध वित्तीय स्रोत अत्यन्त न्यून रहेको सुनाए। उनले प्रदेश सरकारले संविधानको भावना र मर्म बमोजिम आफूलाई क्रियाशील बनाउन सकेको छ कि छैन भनेर यस्ता प्रश्नको वस्तुनिष्ठ समीक्षा गर्न जरुरी रहेको बताए।

    मुख्यमन्त्री पोखरेलले जनताको चाहनाको तुलनामा प्रदेश सरकारका प्रयासहरु पर्याप्त हुन नसकेको भन्दै  अहिलेसम्मको यात्राको गति ढिलो भएता पनि गन्तव्यतर्फ नै अघि बढेको हँुदा लक्ष्य हासिल हुनेमा कुनै शंका गर्नुपर्ने ठाउँ नरहेको उनको भनाइ थियो।

    गण्डकी प्रदेश सभा २०७५ माघ २२ गते स्थापना भए पश्चात् संवैधानिक दायित्व बमोजिम प्रदेश सभाले ५० वटा ऐन पारित गरेको छ। सरकारले ऐन कार्यान्वयनका लागि १२ वटा नियमावली तर्जुमा गरेको छ। शिक्षा र स्वास्थ्य नीति जारी भएको छ। श्रम नीति, वन नीति, भू-उपयोग नीतिको मस्यौदा तयार भएको छ। ४ वटा गठन आदेश र विभिन्न कार्यविधि निर्देशिका मापदण्ड कार्यान्वयनमा छन्।

    यसबीचमा प्रदेशलाई दीर्घकालसम्म आवश्यक पर्ने संरचनाहरु स्थापना भएको मुख्यमन्त्री पोखरेलले बताए। यो ४ वर्षको अवधिमा भौतिक विकासतर्फ ८ सय ७३ किमि सडक निर्माण भएको उनले सुनाए। ‘४७ वटा मोटरेबल पुल बनेका छन्। ८९ वटा सडक पुल निर्माणाधीन छन्,’ उनले भने, ‘३२ वटा झोलुंगे पुलको निर्माण सम्पन्न भएको छ। ३३ वटा झोलुंगे पुल आगामी वर्ष सम्पन्न हुँदैछन्।’

    मुस्ताङको कोरलादेखि नवलपुरको त्रिवेणी जोड्ने कोरला करिडोर सडकको स्तरोन्नति गर्ने र सम्पूर्ण सडकलाई दुई लेनको बनाउने कार्य तीव्रताको साथ भइरहेको उनले सुनाए। प्रदेश सरकार स्थापना हुँदा विद्युत्मा पहुँच प्राप्त परिवार ८२ दशमलव २ प्रतिशत रहेकोमा हाल ९३ प्रतिशत पुगेको छ। सबै घरमा विद्युत सुविधा पुर्याउने प्रदेश सरकारको प्रतिवद्धता बमोजिम बाँकी सबै घरमा विद्युत् पुर्याई उज्यालो प्रदेश घोषणा गरिने उनले प्रतिबद्धता जनाए।

    ४ सय २२ वटा खानेपानी आयोजना सम्पन्न भई ८२ हजार १ सय ७० निजी धारा जडान भएको सरकारले जनाएको छ। आगामी वर्ष सम्ममा सबै घरमा आधारभूत तहको खानेपानी सुविधा पुग्ने भन्दै उनले तत् पश्चात हाम्रो ध्यान गुणस्रतीय खानेपानी आपूर्तिमा केन्द्रित हुने जनाए।

    कार्यक्रममा सभामुख नेत्रनाथ अधिकारी, पूर्व मुख्यमन्त्री एवं प्रमुख प्रतिपक्षी दलका नेता पृथ्वीसुब्बा गुरुङ, माओवादी केन्द्र संसदीय दलका नेता हरिबहादुर चुमान, प्रमुख सचिव रविलाल पन्थले भनाइ राखेका थिए। सरकारका ४ वर्षे उपलब्धि समेटेर तयार पारिएको पुस्तकसमेत उक्त अवसरमा विमोचन गरिएको छ। कार्यक्रममा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले लामो त्याग र बलिदानीबाट प्राप्त उपलब्धिको रक्षाका लागि सबै पक्ष एक हुन आग्रह गरे।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend