९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026
मलेसियामा सिकेको सीप माटोमा खन्याएका छन्त्याल मासिक ३५ हजार बचाउँछन् ।

जसले विदेशमा सिके, गाउँको माटो सिंचे


जनमञ्च संवाददाता
  • ५ फाल्गुन २०७८ , बिहिबार

  • जसले विदेशमा सिके, गाउँको माटो सिंचे
    फाईल तस्वीर ।

    बागलुङ, ५ फागुन– – घर चलाउने खर्चको अभाव भएपछि गाउँको पाखोबारी अर्कैको जिम्मा लगाएर उनी विदेश पसे । जीवनको पहिलो विदेश यात्रा गरेका उनलाई मलेसियाको क्याम्रुन हाइल्याण्डको तरकारी बारीमा काम मिल्यो ।

    आफुले गाउँमा गरेको परम्परागत तरकारी खेतीभन्दा केही विकसित, प्रविधिको सहायतामा केही फरक तरिकाले व्यावसायिक प्रयोजनका लागि भैरहेको तरकारी बारीमा उनले दुई वर्ष काम गरे । मलेसिया जाँदाको ऋण सके, घर व्यवहार केही मिलाएर र सबैभन्दा ठूलो कुरा उनले त्यहाँ सीप सिके । पसिनाले माटो सिंचिँदा आफ्नै ठाउँ बनाउन सकिन्छ भन्ने ज्ञान पाए ।

    जीवनको युवास्थामा १२ वर्ष विदेशी माटोमा काम गरेका तमानखोला गाउँपालिका–२ कटेरीका चुणामणि छन्त्याल विदेशमा सिकेको सिपलाई गाउँमा प्रयोग गरेका छन् । मेलेसिया दुई वर्ष तरकारी बारीमा काम गरेका छन्त्यालले कोरियामा दुई वर्ष तरकारी फार्म र बाँकी ८ वर्ष उद्योगहरुमा काम गरे ।

    अहिले कटेरी गाउँमा झण्डै १० रोपनी बारी तरकारी र फलफूलले हराभरा बनाएका छन् । खर्च अभावले विदेशीएका छन्त्याल अहिले आफ्नो माटोमा गरेको दुःखले आर्जेको कमाई बचत गर्छन् । चार वर्षअघि कोरियाबाट गाउँ फर्केर प्लाष्टिक घरमा तरकारी खेती गरेका ४८ वर्षीय छन्त्यालको बारीमा पाँचवटा प्लाष्टिक घर छन् ।

    खुल्ला आकाशमुनी, साग, बन्दा, काउली र खुर्सानी फलेका छन् । ‘पोहोरसम्म गोलभेँडाको खेती गरेँ, निकै राम्रो आम्दानी भयो’ छन्त्यालले भने,‘अहिले गाउँका अरु दाजुभाईले पनि प्लाष्टिक घर निर्माण गरेपछि मैले गोलभेँडा उहाँहरुलाई छोडेर अरु विकल्प खोजीरहेको छु ।’

    उनका दुईवटा प्लाष्टिक घरमा अहिले ‘स्टाबेरी’ फलेको छ । मलेसियामै रहँदा स्टोभेरीको विषयमा जानकारी पाएका छन्त्यालले ककनीबाट बिरुवा ल्याएर खेती सुरु गरेका हुन् । ‘स्टाबेरी गाउँका लागि नयाँ खेती हो । पहिले दुईवटा बिरुवा लगाएँ राम्रो फलेपछि व्यावसायिक खेती गरेको छु’, उनले भने ‘नयाँ खेतीले बजार पाउन सहज हुने र मूल्य प्रतिकिलो ७ सय रुपैयाँ पर्दछ, पोखरा लेकसाइडको एक होटलसँग सोही मूल्यमा सम्झौता भएको छ, बिक्रीको लागि कुनै पनि समस्या छैन ।’

    उनले गोलभेँडा पनि प्रतिकिलो ७० देखि १ सय २० रुपैयाँसम्म बिक्री गर्थे । अहिले गाउँका अरु किसानले पनि त्यसै गर्छन् । ‘उहाँको सिको गरेर धेरैलाई राम्रो भएको छ’ स्थानीय युवा ढालेन्द्र छन्त्याल भन्छन्,‘अहिले त गाउँभरी टनेल छन्, धेरै थोरै सबैले कमाउँछन् ।’

    तमानखोला गाउँपालिका, कृषि ज्ञान केन्द्र र मुख्यमन्त्री नमुना कृषि गाउँ कार्यक्रमले गाउँलेलाई सघाएको छ । १२ लाख रुपैयाँ लगानीमा सुरुवात गरेको तरकारी फार्मबाट छन्त्यालले मासिक ३५ हजार रुपैयाँ आम्दानी गर्छन् । गाउँमा पुग्ने पाहुना उनकै घरमा बस्छन् । जौ, गहुँ, कोदो र मकै मात्रै फल्ने बारीमा फलाएका तरकारी उनले पाहुनालाई चखाउँछन् र आफ्नो मुल्य लिन्छन् ।

    विदेशको कमाईले उनको काठमाडौंमा घर छ । दुई भाई छोरा युरोप र अष्टे«लियाका नाम चलेका कलेजमा पढ्छन् । तर शहरको सुख छोडेर उनी मात्रै होइन, उनको परिवार पनि कृषिमा लागेको छ । छोराहरुको पढाइका लागि २२ वर्ष काठमाण्डौंमा बसेकी उनकी श्रीमती इन्द्रकुमारी अहिले गाउँमै छन् । ‘उहाँ ४ वर्षअघि आउनुभयो, म एक वर्षदेखि यतै छु, काममा सघाउँछु, गाउँको हावापानी भुल्न नसकेर फर्किएँ’, इन्द्रकुमारीले भनिन् ‘हामी सुख होइन, सन्तुष्टि खोज्न गाउँ फर्किएका हौं ।’

    अघिल्लो वर्षसम्म बर्खाको समयमा तमानखोला पुग्ने सडक अबरुद्ध हुँदा कटेरी गाउँको कृषि उपज बर्खामा खेर जान्थ्यो । अहिले भने किसानको बारीसम्मै बाह्रै महिना चल्ने सडक पुगेको छ । पाँचवटा टनेलमा चार बर्षदेखि खेती गरेका छन्त्यालको गाउँमा अहिले ५० टनेल छन् । कटेरी÷भयरबोंगा गाउँलाई समेटेर गण्डकी प्रदेश सरकारले नमुना कृषि गाउँ घोषणा गरेको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend