बागलुङ, ७ फागुन – आगामी निर्वाचनमा दोहोरो मतदाता नामावलीका कारण आउने समस्या समाधान गर्न बागलुङका राजनीतिक दलहरुले आग्रह गरेका छन् । निर्वाचनका लागि उपयुक्त वातावरण बनाउन बागलुङका सबै राजनीतिक दलले तयार रहेको भन्दै हरेक निर्वाचनका समयमा देखिने दोहोरो मतदाता नामावलीको समस्या समाधान गर्नुपर्नेमा उनीहरुको जोड दियो ।
जिल्ला निर्वाचन कार्यालयले छैटौं निर्वाचन दिवसको पूर्वसन्ध्यामा बागलुङमा आयोजना गरेको निर्वाचन सञ्चालन तथा व्यवस्थापनमा सरोकारवालाको भूमिका विषयक अन्तक्र्रिया कार्यक्रमका सहभागी दलका नेताहरुले प्रबिधिको प्रयोग गरेर दोहोरो नामावलीको समस्या समाधान गर्न सकिने सुझाव राखे ।
‘एउटा सिस्टमको विकास गरौं, नाम र नागरिकता नम्बर एक पटक समावेश गरेपछि देशभर अर्को ठाउँबाट राख्न नसकियोस्’, नेकपा एमाले बागलुङका सचिवालय सदस्य पुनम शर्माले भने ‘हरेकपटक समस्या आउँदा पनि हामीले लामो समयदेखि यो समस्या सुल्झाउन सकेका छैनौं ।’
दोहोरो नामावली मतदान स्थलमा सिर्जना हुने तनावको प्रमुख कारण भएको दलका नेताहरुको भनाइ थियो । मतदाता नामावली चुस्त हुँदा निर्वाचन शान्तिपूर्ण, भयरहीत र निस्पक्ष हुने उनीहरुको दावी थियो । मतदान स्थल, मतदानमा खटिने कर्मचारी, सुरक्षाकर्मी, मतदाता शिक्षा र दलका प्रतिनिधि तथा उमेद्वार शान्तिपूर्ण निर्वाचनका प्रमुक कारक बन्नसक्ने उनीहरुले धारणा राखे ।
निर्वाचन आयोगले यस वर्ष ‘निर्वाचनमा ः सबै, सधँै र सँगै’ प्रमुख नारा तय गरेको छ । जिल्लामा भुगोल अनुसार तय भएका मतदान केन्द्रहरुको विषयमा समेत पुनर विचार गर्नुपर्ने धारणा दलका नेताहरुको थियो । ‘मतदान केन्द्र अपायकमा भए सच्याउने व्यवस्था गर्नुपर्छ, केही केन्द्र यस्ता छन् नजिकको मतदान केन्द्रमा नामावली छैन मत हाल्न टाढा पुग्नुपर्छ’, नेपाली कांग्रेस बागलुङका सचिव हरिहर शर्माले भने ‘मतदाता परिचय पत्रको व्यवस्थापनमा पनि कार्यालय थप जिम्मेबार बनोस् ।’
कार्यक्रममा सहभागिले मतदाता परिचय पत्रमा सबै विवरण उल्लेख हुने भएकाले मतदानबाहेक अन्य सरकारी प्रयोजनका लागि समेत प्रयोगमा ल्याउने वातावरण बनाउनुपर्ने बताए । बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद शर्माले मतदाता नामावलि अध्यावधि गर्ने र सबै मतदाता सहभागि हुने वातावरण बनाउनुपर्नेमा सरोकारवाला लाग्नुपर्ने बताए । निर्वाचन आचारसंहितामा कडाइ गर्नुपर्ने, खर्चमा मितव्ययिता अपनाउनुपर्ने र मत बदर हुन नदिन मतपत्रमा सुधार गर्नुपर्नेमा कार्यक्रममा सहभागि दलका नेता तथा सरोकारवालाको जोड थियो ।