म यिनीहरूलाई भन्न चाहन्छु, जति पानीमुनि गए पनि कहाँ बच्ला र यो गठबन्धन ? पानीमुनिबाट निकालेर भए पनि यसलाई ठेगान लगाइन्छ–लगाइन्छ ।
काठमाडौं, ८ फागुन – नेकपा एमाले अध्यक्ष केपी ओलीले सत्तारुढ पाँचदलीय गठबन्धनलाई जसरी पनि भत्काइने बताएका छन् । अबको चुनावमा एमालेले बहुमत ल्याउने दाबी गर्दै बढीमा एक वर्षभित्र गठबन्धन भत्किनेसमेत ओलीले दाबी गरे ।
‘महाभारतमा एउटा श्लोक छ, जतिसुकै पानीमुनि गए पनि कहाँ बस्ला र दुर्योधन । भीमले भन्छन्– पानीमुनि गए पनि कहाँ बच्ला र त्यो ?’ शनिबार भक्तपुरमा आयोजित कार्यक्रममा ओलीले भने, ‘म यिनीहरूलाई भन्न चाहन्छु, जति पानीमुनि गए पनि कहाँ बच्ला र यो गठबन्धन ? पानीमुनिबाट निकालेर भए पनि यसलाई ठेगान लगाइन्छ–लगाइन्छ ।’ चुनावपछि अहिलेको गठबन्धनलाई टर्चलाइट बालेर खोज्नुपर्ने उनको दाबी छ ।
‘यो स्वार्थी गठबन्धन टिक्दैन, टिके पनि हामी छाड्दैनौँ,’ ओलीले भने, ‘फेरि चुनाव आउँछ, त्यसपछि गठबन्धनकाहरूलाई टर्च बालेर खोज्नुपर्छ ।’ ओलीले अहिलेको ‘तिकडमबाजी सरकार’ अब धेरै नटिक्ने पनि बताए । उनले देशमा लोकतन्त्र आएकाले कुनै गलत नियतबाट बनेको अहिलेको सरकारको विकल्प पनि हुने बताए ।