पोखरा, ९ फागुन – तनहुँ बन्दीपुरको विन्ध्वासिनीचोकमा पुगेपछि एउटा पुरानो घर देखिन्छ । ढुंगाको छानो,कुँदिएका टुँडाल, झ्याल–ढोका र खाँबाहरु ! भित्तामा उँडेको फिका रातो रङ । भुर्इं तलामा दुई–चार थान कुर्सी देखिन्छन् । झ्यालको चहरबाट माथिल्लो तलमा के छ भन्ने बन्दीपुर घुम्नेले मेसै पाउँदैनन् !
खासमा यो बन्दीपुर पद्म पुस्तकायलयको भवन हो । मौलिकतासँगै बन्दीपुरे इतिहासको साक्षी पनि हो–यो घर ।
भित्तामा झुन्ड्याइएको बोर्डले भन्छ–पुस्तकालय २००१ सालमा स्थापना भएको हो । बोर्ड देखेपछि जो कोहीलाई लाग्न सक्छ राणा शासन चलिरहेको बेलामा पनि पुस्तकालय खुलेको रहेछ ! इतिहासका पानाहरु पल्टाएर हेर्दा राणा शासनमा पुस्तकालय खुलेको मात्र थिएन,त्यहीँबाट राणा विरोधी गतिविधि पनि सुरु भएको थियो । बन्दीपुर पद्म पुस्तकालय शासन व्यवस्था बदल्ने, चेतनाको विगुल फुक्ने र शिक्षाको ज्योति छर्ने एक ऐतिहासिक थलो हो ।
भरिभराउ छ बन्दीपुर बजार । तर, बजार बीचमा रहेको पुस्तकालय एक्लो छ ।माथिल्लो तलामा रहेको पुस्तकालयको मूल ढोकामा लगाइएको ताल्चा कमै खुल्छ,आजभोलि । बरु, ताल्चा खोलेर हेर्दा पुराना पुस्तकमा टाँसिएको धुलोको गन्ध नाकसम्म आइपुग्छ ।
पद्म पुस्तकालयले २०७५ सालमा आफ्नो हिरक जयन्तीमा प्रकाशित गरेको ‘मुलबाटो’पुस्तकमा प्रकाशित मणिकुमार प्रधानको लेख ‘सचेतनाको सुचक पद्म पुस्तकालय’ (पुष्ठ ५६) अनुसार २००१ सालमा श्रीरामप्रसाद खनालको अध्यक्षतामा रहेको समितिले पुस्तकालय खोलेको हो । समितिको सदस्यमा सूर्यलाल प्रधान, ज्ञानहरी शर्मा, शम्भुलाल प्रधानलगायत थिए ।
१९९७ सालमा राणा शासन विरोधी अभियोगमा धर्मभक्त, शुक्रराज, दशरथ चन्द र गंगालालले प्राण दान दिएर शहीद भए । त्यसपछि ‘जयतु संस्कृतम्’ नामको झिल्को देखियो । त्यसैको उपज रहेछ– बन्दीपुर पद्म पुस्तकालय ।
२००१ सालमा स्थापना भएको पुस्तकालयले सुरुमा स्वीकृति पाउन सकेन् । भानु वाचनालयको रुपमा स्थापना भएको जानकारहरु बताउँछन् । २००४ सालमा पद्म शमशेर प्रधानमन्त्री भएपछि पुस्तकालय खोल्न बन्दीपुरेले बिन्ती चढाउँदा उनले आफ्नै नाममा पद्म पुस्तकालय खोल्न स्वीकृति दिएका बन्दीपुरे प्रध्यापक गोबद्र्धन भट्टराई बताउँछन् । ऐतिहासिक पुस्तकालय बारेका जानकार भट्टराई भन्छन्, ‘यहाँको भाषा पाठशालाका शिक्षकहरु, वरिष्ठ समाजसेवी र बुद्धीजीविको पहलमा खोलिएको हो पुस्तकालय ।’
पुस्तकालय राणा शासन विरोधी गतिविधी सञ्चालन गर्ने थलो थियो रे ! पुस्तकालयले शिक्षाको ज्योतिसँगै राणा विरोधी जागरण जगाउन तनहुँवासीलाई मद्दत पु¥यायो । ‘जहाँ नेपाली कांग्रेसहरु जम्मा भएर राणा विरोधी आन्दोलनका निम्ति छलफल गर्ने, बैठक बस्ने, निर्णय गर्ने र राष्ट्रियस्तरमा थाहा पाएका कुराहरु पुस्तकालयमा पढ्ने बहानामा गएर एकआपसमा रिले गर्न काम गर्दथे । आन्दोलन चलाउने काम पनि त्यहीँबाट हुन्थ्यो’, भट्टराईले सुनाए । तर, पुलिस सेनाको रेखदेख र निगरानी निरन्तर रहन्थ्यो रे, पुस्तकालयमा । किताबको समेत जाँचबुझ हुने गरेको प्राध्यापक भट्टराई बताउँछन् ।
उनले अगाडी थप्दै भन्छन्,‘किताबहरु वनारसबाट ल्याउँथे उनीहरु । अलि अलि राणा विरोधी आन्दोलनका पत्रपत्रिका हुन्थे । भारतीय लेखकका किताब, ज्ञानगुन, सिद्धान्त, दर्शन र पौराणिक किताबहरु हुन्थे । तर ती किताबहरुको जाँचबुझ र रेखदेख भइरहन्थ्यो । धेरै किताब त पुस्तकालयमा भन्दा घरमा राखिन्थ्यो ।’ किताबहरु भारतको वनारस पुगेका व्यापारीहरुले ल्याइदिन्थे । त्यतिबेला बन्दीपुर व्यापारिक केन्द्र नै थियो । बन्दीपुरे नेवारहरुले भारतबाट नुनदेखि सुनसम्म ल्याएर बन्दीपुरबाट बेच्थे रे !
२००७ सालमा पुस्तकालयमार्फत् नै बन्दीपुरमा जनसरकार चलेको उनी बताउँछन् । २००७ साल कात्तिकदेखि जनसरकार चलेको भट्टराईले बताए । भट्टराईका अनुसार जनसरकारले मानापाथी आफ्नै चलाएको थियो । २००७ साल फागुन ७ गतेको दिल्ली सम्झौतापश्चात भने बन्दीपुर जनसरकारको मन्त्रीमण्डल भंग भएछ ।
२००७ सालको क्रान्ति सफल हुनुमा बन्दीपुर पुस्तकालयको पनि योगदान देखिन्छ । त्यसपछिका परिवर्तनमा यो पुस्तकालयको योगदान स्मरणयोग्य नै छ । राजनीतिक परिर्वतनमा मात्रै नभएर शैक्षिक परिर्वतन र जागरणमा पुस्तकालयको भूमिका उस्तै छ ।‘पुस्तकालयले नै शिक्षाको जागरण ल्यायो। २०१५ सालमा मात्रै हाइस्कूल खुलेको हो । हाइस्कूल भएपछि पनि पुस्तकालय प्रयोग धेरै भयो । स्कूलमा पुस्तकालय थिएन् । शिक्षक–विद्यार्थी सबैजना पुस्तकालयमा गएर पढ्ने भन्ने थियो’, भट्टराईले उल्लेख गरे । अहिले पुस्तकालयमा पढ्ने निकै कम छन् । त्यसैले त होला, पुस्तकालय खोलेर भित्र पस्दा पुस्तकहरु धुलाम्मे देखिन्छन् । व्यवस्थित छैैनन् ।
२०३५ सालपछि त पुस्तकालय बन्द नै भएछ । २०२५ सालमा सदरमुकाम बन्दीपुरबाट दमौली झ¥यो। बन्दीपुर मृत्युशैय्यामा पुगेको थियो । एक्लिएको सुनसान बन्दीपुरका पुस्तकालयमा गएर पढ्ने भएनन् । ५० को दशकमा त झण्डै पुस्तकालयको अस्तित्व मेटिएनछ । त्यतिबेला बन्दीपुरेहरु मिलेर पुस्तकालयलाई जोगाए, जिर्णेदार गरे । २०५२ सालमा पुस्तकालयको जिर्णोदार गरेको बन्दीपुर पुस्तकालय सञ्चालक समितिकि अध्यक्ष विमला श्रेष्ठ बताउँछिन् । पहिलाको भवनको फोटो खिचेर राखेर दुरुस्तै जिर्णोदार गरेको उनको भनाइ छ ।
जिर्णोदार गरेर पुस्तकालय त जोगाइयो तर पाठकको चासो घट्दो छ । ‘पहिला यहाँ सबैखाले मान्छेहरु पढ्न आउथे । अहिले मोबाइल– इन्टरनेटको जमाना आएपछि चाहिँ पाठकको कमी छ । अहिलेको समय अनुसार पर्याप्त मात्रमा किताब नपुगेको हो जस्तो लाग्दछ’, उनले भनिन् । कहिलेकाँही विदेशी पर्यटक आएर पुस्तकालय पसेर पढ्छन् । ‘पुस्तकालयमा भएका पुराना पुस्तकको महत्व कति छ भनेर विदेशीले सुनाउँछन् । हामीलाई पत्तै छैन’, उनले भनिन् ।
पुस्तकालयलाई जीवन्तता बन्दीपुरेको चासो भएपनि पर्यटकीय क्षेत्र भएकाले कसैले समय दिन नभ्याएको विमला बताउँछिन् । पुस्तकालयलाई इ–लाइब्रेरी बनाउने योजना उनले सुनाइन् । इ–लाइब्रेरी बनेपछि पाठक बढ्ने आशा छ ।
क्यानेडाबाट रत्नकुमार श्रेष्ठ र काठमाडौंबाट चिजकुमार श्रेष्ठ जुटिरहेका छन् इ–लाइब्रेरी बनाउन । चिजकुमारका अनुसार इ–लाइब्रेरी बनाउन आर्थिक संकलनको काम भइरहको छ । ‘इ–लाइब्रेरी सँगै पुस्तकालयलाई नयाँ स्वरुप दिने प्रयास हो ।
अहिलेसम्म क्याटलग पनि छैन् । म्यानुअल्लि चलिरहेको छ । इ–लाइब्रेरी बनाएर क्याटलगका लागि आवश्यक सफ्टवयेर पनि राखिनेछ’, उनले भने । इ–लाइब्रेरी बनाउन एक लाख ५० हजार रुपैयाँ बीउ पूँजी संकलन भइसकेको चिजकुमारले जानकारी दिए । उनका अनुसार गाउँपालिकाले पनि आर्थिक सहयोग गर्ने आश्वासन दिएको छ ।
छ लाख रुपैयाँ बजेट भएमा इ–लाइब्रेरी बनाएर स्वरुप फेर्न सकिने अनुमान छ । पुस्तकालयको अक्षयकोषमा पनि छ लाख रुपैयाँ जम्मा भएको सञ्चालक समितिले जनाएको छ । पुस्तकालयभित्रको स्वरुप फेरिएर व्यवस्थित बनोस् । इतिहास बोल्ने पुराना पुस्तकहरु पनि जोगिओस् भन्ने आम बन्दीपुरे चाहन्छन् ।