पोखरा, ९ फागुन – नेकपा एमाले गण्डकीले स्थानीय तह निर्वाचन केन्द्रित प्रदेशस्तरीय प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम आईतवार र सोमवार आयोजना गर्यो । प्रदेशभरीका पार्टीका अगुवा नेता र स्थानीय तहका जनप्रतिनिधीलाई पोखरामा बोलाएर आगामी निर्वाचनमा पार्टीलाई पहिलो शक्तिको रुपमा स्थापित गर्न निर्वाचन जित्नैपर्ने प्रशिक्षण दियो ।
पार्टीका उपाध्यक्ष युवराज ज्ञवालीले कार्यक्रमको उदघाटन गर्दै समृद्ध नेपाल र सुखी नेपालीको अभियानलाई सार्थक बनाउन स्थानीय तहको निर्वाचनमा पार्टीलाई पहिलो शक्तिको रुपमा स्थापित गर्न अहिले जितेका सवै स्थानीय तहमा पार्टीको जीत सुनिश्चित गर्नुपर्ने र विगतमा पराजित भएको तहमा जित्नका लागि योजना बनाउन निर्देशन दिए ।
प्रदेशमा एमालेबाट विजयी भएका पालिकाका प्रमुख, उपप्रमुख, जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख, पार्टी प्रदेशका पदाधिकारी, जिल्ला पार्टीका पदाधिकारी, पालिका स्तरीय कमिटीका अध्यक्ष, स्थानीय विभागका प्रमुख तथा संघ र प्रदेश सांसदहरु सहभागी अभिमुखीकरण कार्यक्रममा केन्द्रिय तहका आधा दर्जन नेताहरुले स्थानीय तह निर्वाचन, पार्टीका कार्यक्रम, अध्यक्ष केपी ओली नेतृत्वको सरकारले गरेका ३ बर्षे कामको ब्याख्या तथा राजनैतिक र वैचारिक विषयमा प्रशिक्षण दिए ।
एमाले उपाध्यक्ष ज्ञवाली, उपमहासचिव पृथ्बी सुब्बा गुरुङ, प्रदिप ज्ञवाली, सचिव पद्मा अर्याल, स्कुल विभागका उपप्रमुख इश्वरी अर्यालले विषयवस्तुमा आधारित प्रशिक्षण दिए ।
प्रदेशका ११ वटै जिल्लाका पार्टी अध्यक्षले जिल्लामा आफ्ना जनप्रतिनिधी र पार्टीको अवस्थाको वारेमा रिपोर्टीङ गरे । उनीहरुले स्थानीय तहका आफ्ना जनप्रतिनिधीले गरेका राम्रा कामको तथ्यांक प्रस्तुत गरे र आगामी स्थानीय तहको निर्वाचनमा जित्नका लागि पार्टीको भूमिका र जिल्लाको शक्तिसन्तुलनको वारेमा वताए ।

प्रशिक्षणमा अचम्म त के भयो भने विभिन्न विषयमा प्रशिक्षण दिने कुनै पनि नेताले वर्तमानलाई तरंगित बनाएको महत्वपूर्ण राजनैतिक विषय अमेरिकी आर्थिक सहयोग परियोजना मिलेनियम च्यालेन्ज एमसीसीको वारेमा एक शब्द पनि खर्च गरेनन् । प्रशिक्षणमा एक डेढ घण्टा समय खर्च गरेका सवै नेताहरुले एमसीसीको वारेमा प्रसंग नै उठाएनन् र मौन रहे ।
केन्द्रिय नेताहरु एमसीसीको विषयमा मौन रहँदा आफ्नो रिपोर्टीङ गर्ने जिल्लाका अधिकांश पार्टी अध्यक्षहरु पनि मौन रहे । दर्जनौ प्रश्नहरु संगालेर वसेका सहभागीहरुले पनि केन्द्रिय नेताहरुका अगाडि आफ्ना जिज्ञासा राख्न सकेनन् ।
कार्यक्रममा सहभागी एक जिल्ला नेताले भने, ‘कति प्रश्न वोकेर आएका थियौं, केन्द्रिय नेताहरु नै मौन भएपछि हामीले पनि जिज्ञासाहरु आफै गुम्साएर फक्र्यौ ।’
सवै सहभागी मौन रहँदा पनि एमाले बागलुङका अध्यक्ष हिरा वहादुर केसीले भने घुमाउरो शैलीमा एमसीसीको विषयलाई आफ्नो रिपोर्टीङमा उठाए । उनले कम्युनिष्ट आन्दोलन राष्ट्रियताको सवालमा पहरेदार भएको स्मरण गर्दै यसका विषयमा पार्टी स्पष्ट हुनुपर्ने वताए ।
सहभागीका अनुसार केसीले एमसीसीको नामै नलिइ भने, ‘हाम्रोमा राष्ट्रियताको प्रश्न महत्वपूर्ण विषय हो । यसका वारेमा पार्टी प्रष्ट हुनु पर्दछ ।’ उनले निर्वाचित जनप्रतिनिधीका अधिकांश राम्रा काम हुदाँहुदै पनि केही जनप्रतिधिनीमा आर्थिक पारदर्शीको सवालमा गम्भीर प्रश्न रहेकाले पार्टीले छुट्टै संयन्त्र मार्फत छानविन गर्नुपर्ने माग राखे । केसीले भने, ‘अवको निर्वाचनमा अनियमितता गर्नेलाई जनताले छाड्नेवाला छैनन् । यसका लागि पार्टीले गोप्य संयन्त्र मार्फत छानविन गर्नुपर्दछ ।’
आगामी निर्वाचनमा बाम तालमेलको विषयमा पनि ध्यान दिन केसीले नेताहरुलाई सुझाए । ‘बागलुङमा हामी विशिष्ट परिस्थितिमा पार्टी निर्माणकै चरणमा छौ । नेताहरुले हाम्रो जिल्लाको विशिष्ट वस्तुगत अवस्थालाई बुझ्नु पर्दछ’ केसीले आफ्ना कुरा राखे ।
एमाले गण्डकी प्रदेश कमिटीका अध्यक्ष नवराज शर्माको अध्यक्षतामा भएको प्रशिक्षण कार्यक्रममा स्वागत उपाध्यक्ष मोहन रेग्मीले र सञ्चालन सचिव धनञ्जय दुवाडीले गरेका थिए ।