९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

पशुपति धर्मशाला: बतास समूहसँगको सम्झौता रद्द गर्ने बाटो खुल्यो


जनमञ्च संवाददाता
  • १० फाल्गुन २०७८ , मंगलबार

  • पशुपति धर्मशाला: बतास समूहसँगको सम्झौता रद्द गर्ने बाटो खुल्यो

    काठमाडौं, १० फागुन – सरकारलाई पशुपतिस्थित नेपाल–भारतमैत्री धर्मशालामा ‘होटेल आनन्द’ सञ्चालन गर्दै आएको बतास समूहसँगको सम्झौता रद्द गर्ने बाटो खुलेको छ । उच्च अदालत पाटनले यसअघि दिएको अल्पकालीन अन्तरिम आदेश सोमबार खारेज गरेसँगै पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्को निर्णयअनुसार होटेलसँगको सम्झौता खारेजको कानुनी अड्चन हटेको हो ।

    होटेलले पशुपति क्षेत्र विकास कोषलाई विपक्षी बनाएर दायर गरेको रिटमाथि सुनुवाइ गर्दै १ फागुनमा उच्च अदालतले विपक्षीका नाममा १५ दिनको समय राखेर आधार, कारण र प्रमाणसमेत माग गरेको थियो । सोमबार न्यायाधीशहरू हरिप्रसाद भण्डारी र महेन्द्रनाथ उपाध्यायको इजलासले उक्त अल्पकालीन अन्तरिम आदेशले निरन्तरता नपाउने आदेश गरेको हो ।

    गत ११ माघमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले मन्त्रीस्तरीय निर्णयबाट बतासलाई धर्मशाला सञ्चालन गर्न दिने सम्झौता फिर्ता लिने निर्णय गरेका थिए । कोषका कोषाध्यक्ष नारायण सुवेदी नेतृत्वको छानबिन समितिले ‘धर्मशाला भाडामा दिँदा मिलेमतो र अनियमितता भएको’ प्रतिवेदन तयार गरेको थियो । सोही प्रतिवेदनका आधारमा मन्त्री आलेले सम्झौता खारेजीका लागि कोषकै सदस्यसचिव मिलनकुमार थापाको संयोजकत्वमा समिति गठन गरेका थिए । समितिले सम्झौता खारेजी गर्न कार्यादेश पाए पनि होटेल आनन्दले ‘होटेल सञ्चालनमा अवरोध पुर्‍याइएको’ भन्दै उच्च अदालत पाटनमा रिट दायर गरेपछि खारेजी प्रक्रिया लम्बिएको थियो ।

    सोमबार अदालतले ‘तत्काल करार सम्झौताबमोजिमको कार्य गर्नमा कुनै किसिमको रोक वा प्रतिबन्ध लगाउने अवस्था विपक्षीबाट सिर्जना भएको भन्ने निवेदन लेखबाट नदेखिएका’ले अल्पकालीन आदेश खारेज गरिदिएको हो । सरकारले सम्झौता जाँचबुझका लागि समिति गठन गरेको पनि अदालतले स्मरण गराएको छ । योसँगै अब पशुपति क्षेत्र विकास कोषलाई बताससँगको ठेक्का रद्द प्रक्रिया अघि बढाउन बाटो खुलेको छ ।

    कोषका कोषाध्यक्ष सुवेदी नेतृत्वको प्रतिवेदनले सम्झौता कानुनबमोजिम नरहेको र होटेलले सम्झौताविपरीत कार्य गरेको निष्कर्ष निकाल्दै अनुमति रद्दको सिफारिस गरेको थियो । कोषाध्यक्ष सुवेदीले होटेलसँग यसअघि नै ३५ दिने स्पष्टीकरण सोधिसकिएको र अब प्रक्रियाअनुसार कारबाही अगाडि बढ्ने बताए । यो होटेलसँग कोषले ३० वैशाख ०७६ मा करार सम्झौता गरेको थियो ।

    पशुपति आउने तीर्थालुका लागि सस्तो र सुभलमा बसोवास र खानपिनका लागि बनाइएको धर्मशालालाई बतास समूहले होटेल बनाएर चर्को रकम असुल्दै आएको छ । बतासले धर्मशाला निर्माण गर्दा र सम्झौता भएबमोजिम शय्याको संख्या र दररेट फरक पारेको, कोषलाई बुझाउनुपर्ने भाडा नबुझाएको, धर्मशालामा विभिन्न अफिस राखेको, कोषको स्वीकृतिविना धर्मशालामा विभिन्न संरचना निर्माण गरेको छानबिनमा भेटिएको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend