काठमाडौं, ११ फागुन – चीनले अमेरिकाको मिलेनिमय च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँग भएको सम्झौतामा ‘पान्डोराज बक्स’ वा उपहार के हो भनेर प्रश्न गरेको छ ।
चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुआ चिनयिङले उपहारसँगै अल्टिमेटमको पोको आउने हो भन्दै प्रश्न गरेकी हुन् ।
‘अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले यसअघि एमसीसी सम्झौता पारित नभए द्विपक्षीय सम्बन्धमा प्रभावित हुने चेतावनी दिएका थिए ।’
प्रवक्ता हुआले चिनियाँ विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा भनेकी छन्, ‘नेपालस्थित अमेरिकी दूतावासले अमेरिकी जनताको तर्फबाट नेपालीलाई ५० करोड अमेरिकी डलरको उपहार भनेका थिए । मलाई आश्चर्य, उपहारमा कसरी अल्टिमेटमको पोका आउने थाल्यो । त्यस प्रकारको उपहार कसरी स्वीकार्न सक्छ ? यो उपहार कि ‘पान्डोराज बक्स’ हो ? यो हेर्दा राम्रो छ तर चपाउन मुस्किल पार्ने मासु हो भनेर नेपालीले भन्ने हुन् कि भन्ने डर छ ।’
अन्तर्राष्ट्रिय विकास सहयोग आपसी सहमति र समानताको सिद्धान्तमा आधारित हुनुपर्ने र सम्बन्धित देशको सम्प्रभुता र त्यहाँका जनताको इच्छाको सम्मान गर्नुपर्ने प्रवक्ता चुनयिङले बताइन् । उनले यस्तो सहयोग दिँदा सम्बन्धित देशको आन्तरिक मामिलामा हस्तक्षेप गर्न नहुने चीनको धारणा रहेको चुनयिङले बताएकी छन् ।