काठमाडौं, १३ फागुन – आज (शुक्रबार) मधेसबाहेक देशका अन्य सबै प्रदेशमा वर्षा र हिमपातको सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मौसमविद् प्रतिभा मानन्धरका अनुसार आंशिक बदली भए पनि वर्षा हुने सम्भावना हुन्छ। ‘त्यसैले आंशिक बदली भएका प्रदेशभर नै वर्षाको सम्भावना हुन्छ’, मौसमविद् मानन्धरले शुक्रबार बिहान भनिन्। उनका अनुसार आज काठमाडौं उपत्यकामा पनि हल्का वर्षाको सम्भावना छ।
महाशाखाले जारी गरेकाे बुलेटिनअनुसार आज शुक्रबार राति सुदूरपश्चिमलगायत कर्णाली, लुम्बिनी, गण्डकी र प्रदेश १ का उच्च पहाडी र हिमाली भेगमा आंशिकदेखि सामान्य बदली रही देशका अन्य स्थानमा आंशिक बदली रहनेछ। यस क्रममा सुदूरपश्चिम, कर्णाली, गण्डकी, बागमती र प्रदेश १ का थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। देशका उच्च पहाडी र हिमाली भेगमा केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ।
महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ।
जसमा भनिएको छ : सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती र प्रदेश १ का धेरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ र देशका उच्च पहाडी र हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेकाले त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन हुन अनुरोध छ।
(नोट : मौसमविद्का अनुसार दिउँसो भन्नाले त्यस दिनको बिहान १०/११ बजेदेखि साँझ ६ बजेसम्म र राति भन्नाले साँझ ६ बजेदेखि भोलिपल्ट बिहान ६ बजेसम्मको अवधि बुझ्नुपर्छ। यसैगरी आंशिक बदली भनेको धरैजसो आकाश खुला, थोरैमा बादल, सामान्य बदली भनेको धेरैजसो आकाशमा बादल, थोरै खुला, पूर्ण बदली भनेको पूरै आकाश बादलले ढाकेको तथा मौसम सफा भनेको आकाशमा कतै बादल नभएको अवस्था हो।)