पर्वत, १३ फागुन – अर्थमन्त्री जनार्दन शर्माले एमसीसी संसदीय प्रक्रियामा प्रवेश गरेकाले प्रक्रियाबाटै टुङ्गो लाग्ने बताएका छन् । बिहीबार पर्वतको कुश्मा कार्यकर्तासँग कुरागर्दै उनले सो कुरा बताएका हुन् । माओवादी कुश्माका अध्यक्ष शंकर गिरीका अनुसार कार्यकर्ता भेटघाटमा शर्माले सो कुरा बताएका हुन् ।
माओवादी पर्वतका जिल्ला संयोजक सुदीप कुँवरका अनुसार अर्थमन्त्री शर्माले एमसीसी संसदबाट पास हुन नसक्ने जिकिर पनि गरे । कार्यकर्ता भेटघाटमा शर्माले अहिलेको स्थितिमा एमसीसी पारित हुन नसक्ने बताए । ‘संसदबाट एमसीसी पारित हुँदैन’, शर्माको भनाई उधृत गर्दै कुँवरले भने, ‘तपाईंहरु ढुक्क हुनुस्, जनताको भावना विपरित एमसीसी पास हुन दिन्नौं ।’
अर्थमन्त्री शर्मा बुधबार नै कुश्मा पुगेका थिए । बिहीबार संसदमा अमेरिकी सहयोग परियोजना (एमसीसी) बारे छलफल हुने सम्भावित कार्यसूची रहेकै बेला मन्त्री शर्मा पर्वत पुगेका थिए । एमसीसी संसदमा टेबल गर्ने बेला पनि बिरामी भएको भन्दै उनी सदनमा उपस्थित थिएनन् । उनीमाथि संसद छल्नकै लागि अर्थमन्त्री शर्मा पर्वत पुगेको आरोप लागेको छ ।ब बुधबार साँझ नै पर्वत पुगेका शर्माले बिहीबार विहान बागलुङको निर्माणाधीन बलेवा विमानस्थलको अवलोकन गरे ।
पर्वतको गुप्तेश्वर गुफा अवलोकनपछि उनले कुश्मामा संचालित बन्जी जम्प हेरेर ‘स्काई चियर’मा गएर बसे । माओवादी कुश्माका अध्यक्ष शंकर गिरीका अनुसार व्यवसायीले पर्यटकीय सम्भावना अवलोकन गरिदिनुप¥यो भनेपछि शर्मा पर्वतका विभिन्न ठाउँ घुमेका हुन् । मन्त्री शर्मा बिहीबार पर्वत उद्योग वाणिज्य संघको ११ औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा सहभागी पनि भए ।