पोखरा, १३ फागुन – काठमाडौंमा प्रमुख राजनीतिक दलहरुबीच सत्ता केन्द्रीत वार्ता र संवाद भइरहँदा नेकपा एमाले अध्यक्ष केपी ओली शुक्रबार एक्कासी पोखरा आए । कांग्रेससँग भएको वार्ता सकारात्मक रुपमा अगाडि बढेको र हालको ५ दलीय सत्ता गठबन्धन भत्कनेमा सायद ओली ढुक्क थिए । त्यसैले मन्तव्यको सुरुमा उनले एक ठाउँमा बाहेक नेपाली कांग्रेसको नाम लिएनन् बरु माओवादी र माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) प्रति आक्रामक देखिए ।
उता, शुक्रबारको लागि तोकिएको संसद बैठक स्थगन भएसँगै प्रचण्ड र माधव नेपालले झांगिएको गठबन्धन जोगाएर एमसीसी पारित गर्न सकिने ‘मध्यमार्गी’ बाटो खोजेको ओलीले भाषणकै बीचमा थाहा पाए । काठमाडौंमा फेरि ‘खिचडी’ पाक्न लागेको थाहा पाएसँगै ओली झस्किए ।
लगत्तै उनी ५ दलीय गठबन्धनप्रति आक्रामक बने र भने,‘अहिले भर्खर समाचार आयो, गठबन्धन पनि नटुट्ने र एमसीसी पनि पास हुने, गठबनन्धन टुट्नु हुँदैन । टुट्यो भने विचराहरु धूलोपीठो हुन्छन् । लड्न आमन्त्रण गर्दा वान बाइ वान भनिन्छ नि । वान बाइ वानवाला होइन, ५ दललाई एकमुण्ट बोलाउँछौं । आऊ, पाँचै दल एकैचोटी आऊ ।’
कांग्रेससँगको वार्ता सकारात्मक दिशामा अगाडि बढेको र कांग्रेसी नेताहरुबाट वर्तमान गठबन्धन टुटिसकेको सार्वजनिक अभिव्यक्तिबाट हौसिएका अध्यक्ष ओलीले यसअघि माओवादी तथा माधव नेपाल नेतृत्वको नेकपा एसलाई आक्रमण गरिसकेका थिए । अध्यक्ष ओलीले अर्काको रिसमा कसेको खुट्टा तान्ने प्रवृत्ति एमालेमा नभएको भन्दै घुमाउरो पाराले एमाले आफ्नै बलबुताले सरकारमा पुग्ने संकेत पनि गरे ।
‘हामी अर्काको रिसले उसको खुट्टा तान्न्न जाँदैनौंँ । कोही दौडन चाहन्छ भने एमालेले दौडेर स्वर्ण पदक खोज्छ छिर्के लगाएर हैन’,उनले भने,‘ वामपन्थीको कुरा गर्ने तर वामपन्थी देख्नै नसक्ने ?’ उनले धक्का, क्रमभंग, छलाङ, महाविपत्तिजस्ता शब्दजाल फ्याँकेर माओवादीले जनता अलमलाउन मात्र यस्ता कुरा गरेको आरोप लगाए ।‘धक्का, कसलाई धक्का ? नेकपा एमालेलाई धक्का ?’, ओलीले प्रश्न गरे, ‘जनतालाई अलमल्याउने धक्का, क्रमभंग, छलाङ, महाविपत्तिले के को विकास गर्छ ? राष्ट्रियताको रक्षा गर्छ ?’ माओवादीले प्रतिक्रियावादीसँग मिलेर कम्युनिष्ट सरकार ध्वस्त बनाएको आरोप पनि लगाए ।
‘यस्तो फाल्टु गफ गर्ने नेकपा एमाले होइन’, उनले भने, ‘नेकपा एमालेले बलियो कम्युनिष्ट पार्टी निर्माण गर्छ । उनले एमालेलाई खुत्रुकेका रुपमा नबुझ्न अन्य दलहरुलाई आग्रह गरेको प्रसंग निकाल्दै एमाले फुटाउने सपना नदेख्न चेतावनी पनि दिए । ‘हिजो मेरो प्रचण्डसँग पनि कुरा भएको थियो, प्रधानमन्त्रीसँग पनि’, ओलीले भने, ‘दुबैलाई भनेको छु, हामीलाई खुत्रुकेका रुपमा नबुझ्नुस्, जसलाई जतिबेला चाहियो त्यतिबेला फुटाएर काम चलाउने ! हाम्राविरुद्धका षड्यन्त्र बन्द हुनुपर्छ ।’
एमाले सत्तामा जाने चर्चा भइरहँदा उनले एमाले पदका लागि मरिमेट्ने पार्टी नभएको दावी पनि गरे । उनले भने, ‘प्रधानमन्त्री पदका लागि स्वाँस्वाँ र फ्वाँ फ्वाँ गरेर कुद्ने ५ दलजस्तो होइन हामी ।’आफू नेतृत्वको सरकार ढालेर प्रचण्ड र माधव नेपालले जनतालाई धोका दिएको दावी गरे । प्रचण्ड–माधवहरु दक्षिणपन्थी सरकार बनाउन गएको भन्दै उनले झिङ्गाको पछि नलाग्न कार्यकर्तालाई आग्रह गरे । नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव नेपालले अपराध गरेको र उनी कम्युनिष्ट नभएको उनको भनाइ थियो । ‘माधव नेपाललाई कम्युनिष्ट ठानेर पछि लाग्नेहरु के देखेर लागेका होलान्’, उनले भने, ‘यस्ता अपराध गर्नेको पछाडी लाग्दा फोहोरको थुप्रोमा पुगिन्छ ।’
एमाले अध्यक्ष ओलीले आफै सरकारमा बस्ने र एमसीसीको विरोधमा कार्यकर्तालाई सडकमा उतार्ने प्रवृत्तिलाई तमासाको संज्ञा पनि दिए । उनले अमेरिकी सहयोग परियोजना एमसीसी चाहिन्छ भन्नेहरुलाई जोगाउने र आफूलाई ढुंगा हान्ने गरिएको भन्दै आपत्ति पनि जनाए । ‘तमासा पनि हद हुन्छ नि, सरकारमा पनि बसेका छन् , आन्दोलन गर्न पठाएका छन्’ उनले भने,‘ प्रहरी देख्नै हुँदैन ढुंगा हान्न लगाउँछन् । मान्छे देख्दै हुँदैन ढुंगा हान्न लगाउँछन् । ढुंगा पनि कसलाई हान्ने भन्दा एमसीसी नेपालमा ल्याउन पाउ भनेर आफू प्रधानमन्त्री हुँदा चिठी लेखेर निवेदन हाल्ने झलनाथ खनाल बाटाबाट हिँड्दा ढुंगा हान्दैनन् । ताली बजाउँछन् ।’
उनले एमसीसीको पक्षमा रहेका बाबुराम भट्टराई,नेपाली कांग्रेसलाई केही नगर्ने तर आफूलाई ढुंगा हानिएकोमा आपत्ति जनाउँदै अगाडि भने,‘टेबुल गरेका छन् सभामुखले ढुंगा हानिदैन । एमसीसी ठिक छ भनेर वार्ता गरेर कुरा टुंग्याउने कृष्णबहादुर महरालाई ढुंगा हानिँदैन । प्रचण्डका पालमा अगाडि बढ्यो । प्रचण्ड, शेरबहादुर देउवाको संयुक्त सरकारका बेला महराले टुंग्याउनुभयो । ज्ञानेन्द्र कार्कीले वासिङटन डिसीमा गएर सम्झौता गर्नुभयो । उहाँहरुको सरकारले ग¥यो । ती सम्झौता गर्नेहरुलाई कसैले रोक्दैन । म बाटाबाट हिँड्छु ढुंगा हान्छन् ।’ उनले एमसीसी पास गराउन सत्ता गठबन्धनसँग स्पष्ट बहुमत रहेको र के गर्ने भन्ने विषयमा एमाले प्रष्ट रहेको पनि जिकिर गरे ।
बिहीबार उनले एमसीसी राष्ट्रहितकै पक्षमा भएकाले आफूले पारित गराउन प्रक्रिया अगाडि बढाएको अभिव्यक्ति दिएका थिए । एमाले,वुद्धिजीवि,संचारमाध्यम, निर्वाचन आयोग र अन्तर्राष्ट्रिय समुदायको दवावमा अहिलेको गठबन्धन स्थानीय चुनाव घोषणा गर्न बाध्य भएको पनि उनको जिकिर थियो । निर्वाचनको घोषणा गरेपछि यिनीहरुलाई भोक लाग्न र निद्रा लाग्न छाड्यो’, उनले भने ।