९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

अधिकांश ठूला आयोजनाको ठेक्का चिनियाँ कम्पनीको पकडमा


बसन्त अर्याल
  • १४ फाल्गुन २०७८ , शनिबार

  • अधिकांश ठूला आयोजनाको ठेक्का चिनियाँ कम्पनीको पकडमा
    चिनियाँ इन्जिनियरले तयार गरेका पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको नक्सा

    काठमाडौं, १४ फागुन – चीनले नेपालका केही ठूला आयोजनामा लगानी गरे पनि पछिल्लो समय ठेक्कामा बढी संलग्नता देखाउन थालेको छ। देशभरका प्रमुख विमानस्थल, द्रुतमार्ग, जलविद्युत र बहुउद्देश्यीय पूर्वाधार विकास आयोजनाहरू चिनियाँ कम्पनीहरूले बनाइरहेका छन्।

    चिनियाँ लगानी वा सहयोग रहेका आयोजनामा त चिनियाँ कम्पनी संलग्न छन् नै नेपालकै र अन्य विदेशी ठूला लगानीका विमानस्थल, द्रुतमार्ग, जलविद्युत र बहुउद्देश्यीय आयोजनाहरूमा पनि चिनियाँ ठेकेदार कम्पनीको संलग्नता बढ्दै गइरहेको पाइएको छ।

    ठेक्का पाएकामध्ये चिनियाँ कम्पनीले केही आयोजनामा नेपाली साझेदारसँग मिलेर काम गरिरहेका छन् भने अधिकांशमा आफूले ठेक्का लिएर नेपाली निर्माण व्यवसायीसँग मिलेर काम गरिरहेको देखिन्छ।

    नेपालका सबै अन्तर्राष्ट्रिय विमानस्थलको विस्तार चिनियाँ ठेकेदारले नै गरिरहेका छन्। त्रिभुवन विमानस्थल, भैरहवा विमानस्थलको काम करिब सकिएको छ भने पोखरा विमानस्थलमा चिनियाँ ठेकेदार कम्पनीले काम गरिरहेको छ।

    चिनियाँ कम्पनी सीएएमसी इन्जिनियरिङ, सिनो हाइड्रो कर्पोरेसन, पोलि चाङ्डा, चाइना ओभरसिज, चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङलगायतका कम्पनी नेपालका खासगरी ठूला ठेक्कामा आबद्ध छन्।

    चीनले भूकम्पपछिका पुनर्निर्माणतर्फ दरबार हाईस्कुल, वसन्तपुर दरबार क्षेत्रको नौतले दरबार निर्माण गरेको छ। चिनियाँ सहयोगमा बन्ने आयोजनामा चिनियाँ कम्पनी नै रहने गरेका छन्।

    चिनियाँ कम्पनी संघाई कन्स्ट्रक्सन संलग्न भएको चक्रपथ विस्तारको पहिलो चरणको काम सम्पन्न भएको छ भने दोस्रो चरणको विस्तारको लागि साइट क्लियरेन्सको काम करिब सकिएको छ। ७ सय ५० मेगावाटको पश्चिम सेती, १२०० मेगावाटको बूढीगण्डकी जलविद्युतमा चिनियाँ कम्पनीले लगानी गर्ने चासो देखाए पनि अगाडि बढ्न सकेनन्।

    द्रुतमार्गका ५ ठेक्का चिनियाँ कम्पनीलाई
    काठमाडौं–तराई द्रुतमार्गका सबै ठेक्का चिनियाँ कम्पनीले पाएका छन्। ३ वटा सुरुङमार्गसहित राजदमार–निजगढ खण्डका सडक तथा पुल निर्माण हुने ३ वटा प्याकेज पनि हालै चिनियाँ कम्पनीले पाएका छन्।

    नेपाली सेनाले राजदमार–निजगढखण्डलाई ३ वटा प्याकेज बनाएर अन्तर्राष्ट्रिय टेन्डर आह्वान गरेको थियो। राजदमार–निजगढखण्डको ४ लेनको सडक तथा पुल निर्माण गर्न प्याकेज ३ मा कुमार रोशन–सिचुवान जेभीले ठेक्का पाएको छ। यसले करिब १० अर्ब रुपैयाँमा ठेक्का पाएको छ।

    त्यस्तै प्याकेज नं ४ मा ९ गते नै पोली चाङ्डा इन्जिनियरिङ को.लिसँग ९ गते नै गरेको थियो। पोलि चाङ्डाले प्याकेज नं २ धेद्रे र लेनडाँडाको सुरुङमार्गको जिम्मेवारी समेत पाएको छ। चौथो प्याकेजअन्तर्गतको ८ किलोमिटर सडक निर्माण गर्न १९ अर्बको ठेक्का पनि पोलि चाङ्डाले नै पाएको छ।

    प्याकेज ५ अन्तर्गत ४ लेनकै सकड तथा पुलको ठेक्का चाइना सीएएमसी इन्जिनियरिङ को.लिसँग फागुन ९ गते सम्झौता गरेको छ। प्याकेज ५ को करिब ७ किलोमिटर सडक ८ अर्ब रुपैयाँमा ठेक्का सम्झौता गरेको हो।

    साढे ७२ किमिको द्रुतमार्गमा ६.४१ किमिको तीनवटा सुरुङमार्ग छन्। जसलाई सेनाले २ वटा प्याकेजमा ठेक्का लगाएको छ।

    सेनाले द्रुतमार्गको प्याकेज नं. १ चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेसन लिमिटेड र प्याकेज नं २ का लागि पोली चाङ्डा इञ्जिनियरिङ कम्पनी लिमिटेडसँग सम्झौता गरेको छ। २ वटा ठेक्का करिब भ्याटसहित ५० अर्ब लागतका छन्। 

    चाइना स्टेट कन्स्ट्रक्सनको होल्डमा ३ ठेक्का 
    द्रुतमार्गको प्याकेज १ सुरुङमार्ग निर्माणको ठेक्का पाएको कम्पनीले ३ ठूला आयोजना होल्ड गरेको छ। चाइना स्टेटले सिद्धबाबा सुरुङमार्ग र पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्डको ठेक्का समेत पाएको छ।

    कम्पनीले केहि समयअघि मात्रै सिद्धबाबा सुरुङमार्ग निर्माणको काम पाएको हो। सुरुङमार्ग निर्माणका लागि ९ कम्पनीबाट प्रस्ताव पेश भएकोमा ४ वटा चिनियाँ कम्पनीले मात्रै आर्थिक प्राविधिक प्रस्ताव पास गरेका हुन्। जसमा कम कबोल गर्ने चाइना स्टेटले पाएको हो।

    कम्पनीले ७ अर्ब ३४ करोड रुपैयाँमा ठेक्का हात पारेको छ। एडीबीको ऋण सहयोगमा विस्तार भइरहेको नारायणगढ–बुटवल सडकमा पनि चाइना स्टेटले नै काम गरिरहेको छ। कम्पनीले यो सडक खण्डमा राम्रो काम गर्न नसकेको भन्दै आलोचना भइरहेको छ।

    सरकारले २०७५ माघ २४ मा ४२ महिनाभित्र निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता गरेको थियो। सडक निर्माणको अनुमानित लागत करिब १७ अर्ब रुपैयाँ रहेको छ। 

    चाइना ओभरसिजको हातमा २ बहुउद्देश्यीय आयोजना
    चाइना ओभरसिजले सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना र भेरी–बबई आयोजनाको सुरुङमार्ग खन्ने ठेक्का पाएको छ।

    कम्पनीले टीबीएम मेसिन प्रयोग गरी भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन लक्ष्यभन्दा १ वर्षअघि नै पूरा गरेको थियो।

    चाइना ओभरसिजले १ वर्षअघि सुनकोशी मरिनको सुरुङमार्ग ठेक्का हात गरेको थियो। जसमा टीबीएम मेसिन प्रयोग गर्न प्लेटफर्म तयार भइरहेको छ।

    चाइना ओभरसिजसँग सुरुङमार्ग निर्माणको लागि ११ अर्ब २९ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको छ। 

    ३ अन्तर्राष्ट्रिय विमानस्थल विस्तार चिनियाँ कम्पनीलाई 
    त्रिभुवन विमानस्थलको धावनमार्ग मर्मतसम्भार चिनियाँ कम्पनी चाइना नेशनल एरो टेक्नोलोजी इन्टरनेशनल इञ्जिनियरिङले कोभिडको महामारीको बीचमा सकेको थियो।

    हाल त्रिभुवन विमानस्थलमा ह्याङगर निर्माणको लागि आह्वान भएको टेन्डरको सर्टलिस्टमा पनि चिनियाँ कम्पनी रहेका थिए।

    द्रुतमार्गमा प्याकेज नं ५ मा छनोट भएकै चिनियाँ कम्पनी सीएएमसीले पोखरा विमानस्थल निर्माण गरिरहेको छ। चिनियाँ एक्जिम बैंकको २ प्रतिशत ऋण लगानीमा निर्माण भइरहेको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पोखराको अनुमानित लागत २१ अर्ब ६० करोड ​रहेको छ।

    उडान परीक्षण भइरहेको भैरहवा विमानस्थलको चिनियाँ कम्पनीको नर्थ वेस्ट सिभिल एभिएसन कम्पनीले ६ अर्ब २२ करोड रुपैयाँमा ग्लोबल टेन्डरबाट ठेक्का पाएको थियो। 

    जलविद्युतमा सिनो हाइड्रो 
    नेपालमा निर्माण भएको सबैभन्दा ठूलो आयोजना ४५६ मेगावाटको जलविद्युत् आयोजना अपर तामाकोशीको सिभिल कामको जिम्मा सिनो हाइड्रोले ​पाएको थियो।

    चालू आर्थिक वर्षको सुरुवातबाटै अपर तामाकोशी सञ्चालनमा आइसकेको छ।

    त्यसबाहेक १४० मेगावाट जडित क्षमताको तनहुँ जलविद्युत् आयोजना सिनो हाइड्रो कर्पोरेसन लिमिटेडलाई दिइएको छ। आयोजनामा सिनो हाइड्रोले सुरुङ, विद्युत् गृह निर्माणलगायतका दोस्रो प्याकेजका काम गरेको छ।

    बहुचर्चित मेलम्ची खानेपानी आयोजना सुरुङमार्गमा इटालियन कम्पनी भागेपछि चिनियाँ कम्पनी सिनो हाइड्रोले काम पाएको थियो।

    जलविद्युततर्फ १११ मेगावाटको रसुवागढी जलविद्युत, १०२ मेगावाटको मध्यभोटेकोशी, ६० मेगावाटको माथिल्लो त्रिशूली थ्रिए लगायतका हाइड्रोमा समेत चिनियाँ ठेकेदार संलग्न छन्।​ पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली र चिनियाँ इन्जिनियरपोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली र चिनियाँ इन्जिनियर

    यसकारण धेरै छन् नेपालमा चिनियाँ ठेकेदार
    नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी नेपालमा चिनियाँ ठेकेदारको उपस्थिति बढ्नुमा छिमेकी हुनुको नातासँगै उनीहरुको लो बिडिङ (कम मूल्यमा ठेक्का प्रस्ताव) मा काम गर्नसक्ने क्षमतालाई कारण मान्छन्।

    ‘अन्तर्राष्ट्रिय टेन्डर आह्वान गर्दा चिनियाँबाहेक अरु कम्पनी पनि आएका हुन्छन्’, महानिर्देशक अधिकारी भन्छन्, ‘तर लो बिडिङसँगै आर्थिक प्राविधिक पक्ष बलियो हुँदा उनीहरु छनोट हुने गरेका छन्।’

    अधिकारीले एभिएसन क्षेत्रमा चिनियाँ कम्पनीले सन्तोषजनक नै काम गरेको बताए। उनले त्रिभुवन विमानस्थलको विस्तार र पोखरा विमानस्थलमा कामको प्रगति राम्रो भएको बताए।

    भैरहवा विमानस्थलमा भने नेपाली साझेदारसँगको विवादले केही बढी समय लागेको बताए।

    ‘कोभिड नभएको भए अहिलेसम्म पोखरा विमानस्थल पनि सञ्चालनमा आइसक्थ्यो’, महानिर्देशक अधिकारीले भने, ‘त्रिभुवन विमानस्थलमा धावनमार्ग मर्मत तथा विस्तारसम्बन्धी काम पनि समयमै सकिएको छ।’

    यता नेपाल विद्युत् प्राधिकरणका निर्देशक सुरेश प्रसाद भट्टराई जलविद्युत् आयोजनाका सिभिल कार्यमा बढी चिनियाँ ठेकेदार छनोट हुने गरेको बताउँछन्।

    उनले प्रसारणलाइनमा भारतीय कम्पनीको उपस्थिति बढ्दो रहे पनि सुरुङ तथा सिभिल कार्यमा बढी चिनियाँ ठेकेदार रहेको बताए।

    नेपाल विद्युत् प्राधिकरणले जलविद्युतका ठूला आयोजना निर्माण गर्न सहायक कम्पनी स्थापना गर्दै आएको छ।

    जलविद्युतका आयोजनामा विश्व बैंक, एडीबीले लगानी गर्दा केही शर्त राखेका हुन्छन्। ती शर्त पूरा गर्दा चिनियाँसँगै भारतीय कम्पनी छनोट हुने गरेका छन्।

    ‘ऋण लगानीकर्ताले कडा शर्त राखेका हुन्छन्। उनीहरुका शर्त पूरा गर्नसक्ने आउने हुन्’, भट्टराईले भने, ‘हामीले चिनियाँ, भारतीय भनेर छनोट गर्दैनौँ। जसले शर्त पूरा गरी लो बिडिङ गर्छ, उही छनोट हुन्छ।’

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend