काठमाडौं, १४ फागुन – अमेरिकी सहायता परियोजना एमसीसीलाई लिएर भक्तपुरको बालकोटमा कांग्रेस र एमालेका शीर्ष नेताहरुबीच भएको वार्तामा कुरा नमिली सकिएको छ। कांग्रेस र एमालेका ६ नेताबीच करिब ३ घण्टासम्म भएको वार्तामा सहमति हुन नसकेको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए।
‘हामीले एमालेलाई अमेरिकी सहायता परियोजना एमसीसी मिलेर पास गर्दै विश्वलाई सन्देश दियौँ भन्यौँ ‘, कार्कीले भने, ‘तर एमालेले पुरानै अडान दोहोर्याएको छ। उसले १४ सांसदमाथिको कारबाही सदर भएमा संसद छिरेर सघाउन सकिने बताएको छ।’
त्यस्तै, एमाले महासचिव शंकर पोखरेलले पनि बैठकमा कुरा नमिलेको बताए। उनका अनुसार कांग्रेसले एमसीसी पास गर्न सहयोग मागेको थियो। तर आफूहरुलाई संसदमा पस्ने वातावरण नभएसम्म सहयोग गर्ने अवस्था नहुने जवाफ दिएको उनले बताए।
उनले सत्तारुढ एक नभएसम्म प्रतिपक्षलाई यसो गर भन्नुको औचित्य नहुने बताए। ‘संसद प्रवेश गर्ने बाटो बनाइदिए हरेक मुद्दामा हामी बोल्न तयार छौँ’, उनले भने, ‘मुलुकको लोकतान्त्रिक भविष्य र राष्ट्रिय हितबारे छलफल गर्न हामी तयार छौँ। तर हामीलाई संसदमा पस्न दिनुपर्यो। त्यसैले अहिले नै हामी नयाँ निष्कर्षमा पुगेका छैनौँ।’
वार्ता सकारात्मक दिशामा अघि नबढेपछि शनिबार साँझ ५ बजे बालकोट जाने तयारीमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा बालुवाटारमै रोकिए।
सत्ता गठबन्धनका माओवादी केन्द्र र एकीकृत समाजवादी एमसीसीको पक्षमा उभिन तयार नभएको तथा एमाले पनि सहकार्यमा तयार नभएपछि देउवा अझै अनिर्णित छन्।