१० साउन २०८३ , आइतबार

१० साउन २०८३ , आइतबार
  • १० साउन २०८३ , आइतबार
  • July 26 2026

एमसीसी पूरक प्रस्तावसहित अनुमोदन गर्ने समझदारी


जनमञ्च संवाददाता
  • १५ फाल्गुन २०७८ , आइतबार

  • एमसीसी पूरक प्रस्तावसहित अनुमोदन गर्ने समझदारी

    काठमाडौं, १५ फागुन – सत्ता साझेदार दलहरू आन्तरिक गठबन्धन र एमसीसी सम्झौता दुवै जोगाउने सहमतिमा पुगेका छन् । माओवादी र एकीकृत समाजवादीले सम्झौताका केही बुँदामा राखेका प्रश्नमा ‘व्याख्यात्मक घोषणा’ सहित संसद्बाट पारित गर्न उनीहरू सहमत भएका छन् । कुनै नाटकीय मोड नआएमा दुई वाम दलको आन्तरिक बैठकपछि आइतबार यो विषयमा गठबन्धनमा औपचारिक सहमति हुनेछ ।

    शनिबार राति अबेरसम्म बालुवाटारमा भएको छलफलमा साझेदार दल ‘वैकल्पिक प्रस्ताव’ मा तयार भएका हुन् । प्रतिनिधिसभामा पेस भएको एमसीसी सम्झौतासम्बन्धी प्रस्तावसँगै पूरक प्रस्ताव जोड्ने र त्यसले विवादित र अस्पष्ट प्रावधानको व्याख्या गर्ने नेताहरूको दाबी छ । पूरक प्रस्तावलाई अन्तिम रूप दिन नेता तथा कानुन विज्ञहरूले गृहकार्य गरेका छन् ।

    ‘पूरक प्रस्तावमा एमसीसी सहयोग विकास अनुदान हो । यो हिन्द प्रशान्त रणनीति तथा अन्य कुनै सैन्य संगठनको अंग होइन । कुनै पनि अवस्थामा नेपालको कानुन सर्वोच्च हुनेछ भनेर स्पष्ट घोषणा गरिनेछ । यी सर्तबाट फरक गतिविधि भए सम्झौता स्वतः भंग हुनेछ भन्ने घोषणासहित प्रस्ताव तयार भइरहेको छ,’ छलफलमा सहभागी एक नेताले भने ।

    प्रस्तावमाथि कांग्रेस महामन्त्री गगनकुमार थापा, माओवादी केन्द्रका नेता शक्ति बस्नेत र वरिष्ठ अधिवक्ता गोविन्द बन्दीले काम गरेका छन् । ‘यो प्रस्तावले अन्तर्राष्ट्रिय कानुनी मान्यता पाओस् भन्नेमा गठबन्धनको चासो छ । सन्धिको पक्षराष्ट्रले संसद्बाट गर्ने यस्ता घोषणा आफैंमा कानुन हुने प्रावधान छ,’ एक नेताले भने ।

    वर्तमान सरकार गठन भएपछि एमसीसीका केही प्रावधानमा ११ प्रश्न सोध्दै अर्थ मन्त्रालयले भदौ १८ मा एमसीसी प्रधान कार्यालयलाई पत्राचार गरेको थियो । लगत्तै एमसीसीको मुख्यालयले प्रस्ट पारेका विषयलाई नै समेटेर वैकल्पिक प्रस्ताव तयार पारिएको नेताहरूको भनाइ छ । ‘हामीले आफ्ना विषयमा सरोकार राख्दै आएका हौं, व्याख्यात्मक घोषणासहितको विकल्प खोज्ने गरी सहमतिको नजिक पुगेका छौं,’ माओवादी नेता हरिबोल गजुरेलले भने ।

    पूरक प्रस्तावसहित सम्झौता अनुमोदन हुँदा ‘फेस सेभिङ’ पनि हुने माओवादी अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको बुझाइ छ । यसका लागि उनीहरूले शनिबार दिनभर भेटघाट र संवाद गरेका थिए । शनिबार राति नै दाहाल, नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच खुमलटारमा भेटवार्ता भएको थियो । बालुवाटार सहमतिलाई अनुमोदन गर्न आइतबार बिहान माओवादीले केन्द्रीय कार्यालयको विस्तारित बैठक बोलाएको छ । यही समयमा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक पनि बस्दै छ ।

    पार्टीमा संस्थागत निर्णय गरेर आइतबार बिहान ९ बजेको गठबन्धन बैठकमा सहभागी हुन दाहाल र नेपाललाई प्रधानमन्त्रीले आग्रह गरेका छन् । ‘पहिले भएका धेरै सहमति लगातार भत्किए, यसपालि पार्टीले संस्थागत निर्णय गर्नुपर्छ भनेर प्रधानमन्त्रीले भन्नुभएको छ, त्यसमा दुवै वाम नेता सकारात्मक हुनुहुन्छ,’ कांग्रेसका एक नेताले भने, ‘गठबन्धन बचाउने यो अन्तिम मौका हो, यसमा तलमाथि भए क्षणभरमै एमालेसँग समीकरण बन्ने अवस्था छ ।’

    आइतबार बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौतामाथि सैद्धान्तिक छलफल गर्ने कार्यसूची छ । गठबन्धन दलबीच औपचारिक समझदारी बनेमा प्रस्ताव आइतबारकै बैठकबाट पारित गर्ने र त्यसपछि दफावार छलफल गरेर सके तत्कालै, नसके सोमबार अनुमोदन गराउने तयारी प्रधानमन्त्रीले गरेका छन् ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend