तनहुँ, १५ फागुन – जबरजस्ती करणीको आरोप लागेका नायक पल शाह (पुर्णर्विक्रम शाह)विरुद्ध प्रहरीले तनहुँ जिल्ला अदालतबाट सात दिनको म्याद थप गरेर अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ ।
आइतबार दिउँसो करिव १२ बजेतिर स्वयं जिल्ला प्रहरी कार्यलयमा हाजिर भएका शाहलाई प्रहरीले ३ः३० बजे अदालत पुर्याएको थियो ।
शाहविरुद्ध गैंडाकोटमा पनि बलात्कारको उजुरी दर्ता
अभिनेता शाहविरुद्ध आइतबार एक किशोरीले गैंडाकोटस्थित प्रहरी कार्यालयमा पनि उजुरी दर्ता भएको छ । अभिनेता पल शाहले करिब एक वर्षअघि गैंडाकोटस्थित एक होटलमा आफूलाई बलात्कार गरेको भन्दै ती किशोरीले गैंडाकोट प्रहरीमा किटानी जाहेरी दिएकी हुन् ।
प्रहरीमा दर्ता गराइएको जाहेरीमा पल शाहले आफूलाई २०७७ चैत ७ गते गैंडाकोटको एक होटलमा जबरजस्ती करणी गरेको आरोप लगाइएको छ । ती किशोरीले आफूलाई सुटिङका लागि गैंडाकोट आएका बेलामा शाहले करणी गरेको दाबी गरेकी छिन् ।
गैंडाकोटकी प्रहरी निरीक्षक लक्ष्मी पाण्डेका अनुसार निवेदन दर्ता गराउन किशोरी र उनका बाबु प्रहरी कार्यालय पुगेका थिए । निवेदनउपर तत्कालै अनुसन्धान सुरु गरिने निरीक्षक पाण्डेले बताइन् ।