१२ साउन २०८३ , मंगलबार

१२ साउन २०८३ , मंगलबार
  • १२ साउन २०८३ , मंगलबार
  • July 28 2026

बागलुङ नगरउपप्रमुख खड्का र इन्जिनियर पौडेलसहित ५ जना निलम्बित


जनमञ्च संवाददाता
  • १६ फाल्गुन २०७८ , सोमबार

  • बागलुङ नगरउपप्रमुख खड्का र इन्जिनियर पौडेलसहित ५ जना निलम्बित

    बागलुङ, १६ फागुन – बागलुङ बसपार्कमा भ्रष्टाचार भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिशेष अदालतमा मुद्दा दायर गरेपछि बागलुङ नगरपालिकाका उपप्रमुख सुरेन्द्र खड्का, वडा नं. ४ का अध्यक्ष धुव्रवहादुर केसी सहित आरोपित कर्मचारीहरु निलम्बनमा परेका छन् ।

    बिशेष अदालतमा मुद्दा दायर भएपछि जनप्रतिनिधीको नेमप्लेट हटाइएको छ र उनीहरुको कुर्सी खाली छन् । मुद्दा परेपछि तत्कालिन डिभिजन इन्जिनियर दयाराम पौडेल, इन्जिनियर मनोज शर्मा र सबइन्जिनियर घनश्याम रिजाल पनि निलम्बनमा परेका छन् ।

    जनप्रतिनिधीले चढ्दै आएका गाडी र मोटरसाइकल फिर्ता गरेका छन् । अख्तियारले उपप्रमुख खड्कासहित ८ जनालाई भ्रष्टाचारविरुद्ध मुद्दा दायर गरेको थियो ।

    मुद्दा परेपछि अख्तियारले पत्र पठाएर उनीहरुलाई कारवाही गर्नु भन्ने जानकारी गराएपछि उपप्रमुख खड्काले चढ्ने गरेको जिप, इन्जिनियरले चढेका मोटरसाइकल, उनीहरुले प्रयोग गरेका ल्यापटप लगायतका सामाग्री पनि फिर्ता गरिएको प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटाले बताए । अख्तियारले पत्र पठाएर कारवाहीमा साथ दिनु भनेकोले सोही अनुसार काम भैरहेको उनले बताए ।

    सोमबार बिहान नगरप्रमुख जनकराज पौडेलको अध्यक्षतामा बसेको आकस्मिक बैठकले अख्तियारको मुद्दाबारे गम्भिर छलफल गरेको थियो । आर्थिक वर्षको अन्त्य हुनै लागेकोले कैयौ योजनाको अनुगमन गर्नुपर्ने, निर्माणाधिन आयोजनामा प्राविधिक खटाउनु पर्ने बिषय पनि उठेको थियो ।

    ‘काम भैरहेका स्थानमा नयाँ कर्मचारीले फेरी पुरै हेर्नुपर्ने बाध्यता हुन्छ, सोही अनुसारको खटनपटक हुनेछ’ प्रशासकिय अधिकृत सापकोटाले भने, ‘अन्यलाई पनि होसियारीका साथ काम गर्न भनेका छौं ।’ प्राविधिकले ल्याएको प्रतिवेदन र कागजातमा सही गर्ने भएकोले प्राविधिकहरुनै प्रष्ट र सचेत बन्नुपर्ने उनले बताए ।

    बागलुङ बसपार्क निर्माणको क्रममा कामै नभएको स्थानमा भएको देखाएको, डोजर प्रयोग गरेर काम गरेको स्थानमा डोर हाजिरी देखाएको लगायतका बिषयमा अनुसन्धान गर्दा रकमसमेत अपचलन भएको देखेपछि अख्तियारले बिशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

    बसपार्क निर्माणकै क्रममा बागलुङ नगरपालिकाले ठेक्का दिइसकेको स्थानमा उपभोक्ता समितिमार्फत पनि दुइ बर्षसम्म १०÷१० लाख रुपैयाँ बजेट बिनियोजन गरेको थियो । उक्त बजेटले गर्नुपर्ने काम नियमसंगत नभएकोले बसपार्क निर्माण समितिका अध्यक्ष सुवासकुमार राजभण्डारी, सचिव गुणनिधि शर्मा र कोषाध्यक्ष भीमकुमारी आचार्यलाई पनि मुद्दा परेको छ । उनीहरु पनि कारवाहीको दायरामा परेका छन् ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend